गण्डकी


माछाले धानिएको वेगनासको पिप्लेगाउँ

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार ११:२४, लेखनाथ

कास्कीस्थित वेगनासतालको उत्तरी छेउमा छ– पिप्लेगाउँ। त्यहाँ ४२ परिवारको बसोबास छ। ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने ६ परिवार विक र ४ अन्य छन्।

बाउबाजेको पालादेखि माछा मार्ने काम गरिरहेका ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो। वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ। पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरूको माछा मारेर बिक्री गर्ने मूल पेसा फेरिएको छैन।

वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन्। उनीहरू बाँच्न मुख्य आधार बनिरहेको छ। ‘छोराछोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ’, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भने। 

‘बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन’, उनले भने, ‘माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ।’

आफूहरूको थातथलो कास्कीको पोखरा–९ नयाँबजार रहेको जानकारी दिँदै उनले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गरिरहेको बताए। ​

जलारीका अनुसार उनको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गरिरहेको थियो। माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बसेको इतिहास उनले सुनाए। कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन्। तालको छेउबाट पिप्ले उक्लन ५ मिनेट पैदल हिँड्नुपर्छ।

‘म ५५ वर्षको भएँ, म ५ वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ’, उनले भने, ‘त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन्। ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ।’

समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिए। तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु १ सय ८० देखि रु १ हजारसम्म पर्छ। वेगनासतालमा तिलिपीया, बिग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन्। तिलिपियाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीय बताउँछन्।

तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाँटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्त्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ। पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेस्टुरेन्ट र लज खोलेका छन्। ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन्। 

कोरोना महामारी अघि माछाको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समययता बिदाका दिन केही आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन्। सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुखेसो छ। तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ। स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन। 

कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेस्टुरेन्ट सञ्चालन गरिरहेका अनिष जलारीले भने, ‘दुई वर्षदेखि बाह्य  पर्यटक आएका छैनन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad