नेपाल शिक्षक महासंघले नेपाली चलचित्र 'मास्टर्नी'को प्रवर्धनात्मक (प्रमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक गीतप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल बन्द गर्न फिल्म निर्मातासँग माग गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा शुक्रबार बिहान विज्ञप्ति जारी गरी त्यस गीतले महिला शिक्षकर शिक्षण पेसाकै गरिमामा गम्भीर प्रहार गरेको उल्लेख गरेका हुन्।
‘अगामी भदौ ५ गतेबाट प्रदर्शनका लागि प्रचार गरिएको नेपाली चलचित्र 'मास्टर्नी'को प्रवर्धनात्मक (प्रमोसनल) सामग्रीका रूपमा भर्खरै सार्वजनिक भएको गीतप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ’त्यसैले उक्त गीतलाई तुरुन्त बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्दछौँ। साथै त्यो गीतले निरन्तरता पाएमा त्यसबाट उत्पन्न हुनसक्ने असहज परिणामप्रति चलचित्र निर्माता र त्यससँग सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने कुराप्रति समेत सचेत गराउँछौँ।’
दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीत रिल्स र टिकटकमा पनि छाएको छ। गीतमा दुईअर्थी शब्द र नृत्यका केही स्टेपका विषयमा आलोचना भइरहेको छ।
गीतमा दुर्गेशलाई स्वरमा गायिका वविना किराँतीले साथ दिएकी छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको गीतमा दुर्गेशसहित प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थापा र आयुष्मान जोशी फिचर्ड छन्। पवन सुस्लिङको छायांकन र सम्पादन गीतमा रहेको छ।
प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रुपमा निर्माण गरेका फिल्म भदौ ५ गतेबाट रिलिज हुनेछ। सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रमा प्रियंका कार्कीको कथा र शान बस्नेतको स्क्रिप्ट रहेको छ। शान र प्रियंकाले नै संयुक्त रुपमा यो चलचित्रको संवाद तयार पारेका छन्।
फिल्ममा प्रियंकासहित सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्लेलगायतका कलाकारको अभिनय छ।

Shares

प्रतिक्रिया