कला


मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझियाँ नृत्य प्रतियोगिता

नेपालखबर
असोज ११, २०८२ शनिबार ६:२३, सिराहा

बडादसैँको सुरुआतसँगै सिरहाको मिर्चैयामा परम्परागत मैथिली लोकसंस्कृतिको गौरव झल्काउने झिझियाँ नृत्य प्रतियोगिता सुरु भएको छ। ‘मिथिलाको सान, मैथिलीको पहिचान’ भन्ने नारासहित मिर्चैया नगरपालिका–५ स्थित गुदरी बजारको श्रीदुर्गा मन्दिर प्राङ्गणमा आयोजित नवरात्रि महोत्सवअन्तर्गत यो प्रतियोगिता घटस्थापनाको दिनबाट प्रारम्भ भएको हो।

श्रीश्री १०८ श्री नवरात्रि महोत्सव मेला समितिद्वारा आयोजित उक्त कार्यक्रमको उद्देश्य मैथिली संस्कृतिको जगेर्ना गर्नु रहेको मेला समितिका अध्यक्ष किसुन साहले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा विभिन्न समुदायका युवतीहरूले उत्साहपूर्वक सहभागिता जनाएका छन्। उनीहरूले देवी दुर्गाप्रति भक्ति प्रकट गर्दै मैथिली परम्पराको जीवित झल्को दिने नृत्य प्रस्तुत गरिरहेका छन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कार तथा सम्मान प्रदान गरिने अध्यक्ष साहले बताए। 

साहका अनुसार सदरमुकाम सिरहामा पहिलोपटक झिझियाँ फेस्टिभलको शृङ्खला २०७० सालमा सुरु गरिएको थियो, जसको निरन्तरता २०७३ सालसम्म प्रतियोगितात्मक स्वरूपमा दिइएको थियो। अहिले भने मिथिला क्षेत्रका विभिन्न गाउँपालिका तथा नगरपालिकामा यसलाई उत्सवकै रूपमा विस्तार गरिएको छ।

परम्पराअनुसार कलशयात्राको राति ९ः०० बजेदेखि झिझियाँ नृत्य सुरु हुन्छ। सिरहा, धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सालगायत जिल्लामा प्रचलित यस लोकनृत्यलाई कुनै जाति विशेषसँग मात्र नभई सम्पूर्ण मैथिली समुदायको सांस्कृतिक सम्पदा मानिन्छ । धामीको मन्त्रसहित ‘छेकबार’ गरेर नृत्य प्रारम्भ गरिन्छ, जहाँ युवतीहरू टाउकामा आगो बलिरहेको घैँटो राखेर नाच्दै ब्रह्मस्थानसम्म पुग्छन् । त्यहाँ डीहिवार ९मन्दिर०को पूजा गरेर झिझियाँको औपचारिक सुरुआत हुन्छ।

मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो । यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।

मेला समितिका अध्यक्ष साहका अनुसार मिर्चैयामा घटस्थापनादेखि नै मेला सुरु भई सप्तमीदेखि एकादशीसम्म सञ्चालन हुने परम्परा रहेको छ। विशेषगरी अष्टमीका दिन बोकाबलि प्रदान गरिन्छ भने नवदुर्गाको पूजापाठ र भाकलबाट मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad