कला


संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नाच प्रतियोगिता

संस्कृतिको संरक्षण गर्न पुर्ख्यौली नाच प्रतियोगिता

नेपालखबर
माघ ३, २०८१ बिहिबार ११:५७, म्याग्दी

म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतियोगिता गरिएको छ। 

बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा बुधबार पुर्ख्यौली नाच प्रतियोगिता गरिएको हो।

विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका–३ मुना पुर्ख्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका–८ को काफलडाँडा पुर्ख्यौली समूह द्वितीय हुन सफल भएका छन्। प्रतियोगितामा विजेता समूहलाई नगद ३५ हजार एक सय र उपविजेतालाई नगद २० हजार एक सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ।

प्रतियोगितामा सहभागी बिम पुर्ख्यौली समूह, ओखोरबोट पुर्ख्यौली समूह, निस्कोट पुर्ख्यौली समूह, पाखापानी पुर्ख्यौली समूह, चिमखोला पुर्ख्यौली समूह र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको पुर्ख्यौली समूहलाई आठ हजारको दरले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

लोक संस्कृतिको उर्वर भूमिका रुपमा परिचित म्याग्दीमा केही वर्ष अघिसम्म प्रत्यक्ष दोहोरी ओझेलमा पर्दै आए पनि यस पटकको महोत्सवमा भने सहभागीको सङ्ख्या बढेको छ भने लोकदोहोरीको रौनक बढेको छ। 

महोत्सवमा विभिन्न १६ समूहले प्रत्यक्ष लोकदोहोरी प्रतियोगितामा सहभागिता जनाएका छन्। जिल्लाभित्रका साथै बाहिरबाट समेत प्रत्यक्ष दोहोरीका लागि कलाकारको समूह महोत्सवमा आइपुगेका छन्। पुरानो संस्कृतिको रूपमा रहेको प्रत्यक्ष दोहोरीले महोत्सवमा आउने दर्शकको आकर्षण बढाएको छ। प्रत्यक्ष दोहोरीमा कलाकारको घम्साघम्सीले बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाको ध्यान तानेको छ।

परम्परागत मेला जात्राको मुख्य मनोरञ्जनको माध्ययम बनेको प्रत्यक्ष दोहोरीलाई जोगाउन र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महोत्सवले सहयोग पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताए। 

‘लोकदोहोरी गीत प्रतियोगिता महोत्सवकै मुख्य प्रतियोगिताको रुपमा रहेको छ। आयोजकले कलाकारलाई खाली हात फर्कन नपर्ने गरी पुरस्कारको व्यवस्था गरेको कारण पनि टाढाटाढाबाट सहभागी हुन कलाकार आउनुभएको छ,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad