कला


डल्लुकी कृषा महर्जनले चुमिन् मिस नेवाःको ताज

डल्लुकी कृषा महर्जनले चुमिन् मिस नेवाःको ताज

नेपालखबर
फागुन १६, २०७७ आइतबार ७:२,

राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन्।

नेप्लिज फेसन होमद्वारा शनिबार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा कृषाले आफ्ना १४ सहप्रतिस्पर्धीलाई पछाडि छोड्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुमेकी हुन्।

ताजसँगै महर्जनले नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छिन्। प्रमुख निर्णायक नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर भानुराज श्रेष्ठले सोधेको मनको घाउ र बाहिरी घाउमा कुन बढी दुख्छ भन्ने निर्णायक प्रश्नमा तनको तुलनामा मनको घाउ पीडादायी हुने, मनमा लागेको घाउ डाक्टरले पनि पत्ता लगाउन र ठीक पार्न पनि नसक्ने तथा माटोको घाउजस्तै हुने सटिक जवाफ दिएर पन्ध्रौं मिस नेवाः नेपालको ताजलाई आफ्नो बनाएकी हुन्। उनी वेष्ट नेपाल भाषा उप–उपाधिलाई पनि आफ्नो बनाउन सफल भइन्।

No description available.

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार फस्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन सेकेन्ड रनर्सअप चुनिए। उनीहरुले उपाधिसँगै क्रमशः २५ हजार र १५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। प्रियाले मिस पब्लिक च्वाइस र कृष्टीनाले मिस चार्मिङको उप–उपाधि पनि चुमे।

रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेसल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षिता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए।

No description available.

नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी र प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेन्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेस्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेस्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप चुनिएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जीवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन्।

No description available.

त्यसैगरी सह–आयोजक संस्था नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठले कार्यक्रम सम्पन्न गर्न सघाउनेहरुप्रति आभार व्यक्त गर्दै नेवारी कला संस्कृतिको जगेर्ना गर्नका लागि समय सुहाउँदो ढँगले सांस्कृतिक सौन्दर्य प्रतियोगिताअन्र्तगत मिस नेवाः नेपाल आयोजना गरिएको बताए।

नेप्लिज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad