ad ad

कला


त्यसपछि रेकर्ड भयो ‘कहाँ थियौ तिमी रंगमञ्च’

त्यसपछि रेकर्ड भयो ‘कहाँ थियौ तिमी रंगमञ्च’

कृष्ण आचार्य
जेठ १८, २०७६ शनिबार ११:३३,

कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ

समयले जवानी यो लुटेपछि आयौ।

एकदिन एक मित्रले शीतल कादम्बिनीलाई ‘म आएँ’ भनेर कवितात्मक शैलीमा म्यासेज गरे। शीतलले ‘म आएँ’लाई ‘फेरि तिम्रो जिन्दगीमा म आएँ’ भन्ने अर्थ लगाइन्। अनि बनिन् रोमाञ्चित।

त्यही चञ्चलताले म्यासेजको रिप्लाई गर्ने जोस बढायो, ‘आउन त आयौ, निकै ढिला गरी आयौ।’ यो मेसेज केवल रमाइलोका लागि लेखिएको थियो। तर, यसले आफ्नो रुप बढाउँदै गयो।

त्यही म्यासेजलाई शीतलले ३ बसाईंमा ५ शेरसम्म पु¥याइन्। तर, मेसेजमा गरिएको कुराको आधारमा तयार भएको गजललाई उनले गहन रुपमा लिइनन्। डायरीको एक पानामा थन्काएर राखिदिइन्। सायद त्यो पाना फेरि कहिल्यै पल्टाइनन्। यो कुरा २०६१ सालतिरको हो।

‘मलाई यो गजलको कुनै तौल नै छैन भन्ने लाग्यो’ शीतल भन्छिन्, ‘त्यसैले त २०६२ सालमा निस्किएको मेरो गजल संग्रह ‘सुगन्ध यात्रा’मा यसलाई समावेश गरिनँ।’

शिव परियारको नजर
भर्खरै संगीत क्षेत्रमा परिचय बनाउँदै गरेका गायक शिव परियार र चितवनमा गजलकारको रुपमा आफूलाई उभ्याइसकेकी शीतलबीच २०६५ सालतिर परिचय भयो। त्यसपछि दुवै निकट भए।

एकदिन शिव शीतललाई भेट्न आए। शीतलसामू मिलेर काम गर्ने प्रस्ताव राखे। शीतल पनि राजी भइन्। त्यसपछि पुरानो डायरी बोकेर दुवै रत्नपार्क हानिए। पार्कमा बसेर शिवले डायरी पल्ट्याउँदै गए। उनका आँखा ‘कहाँ थियौ रंगमञ्च’मा गएर ठोक्किए। एकपटक शीतललाई हेरे र मुस्कुराए।

222

शीतलले शिवको भाव बुझिहालिन् र भनिन्, ‘भो यो त नगरौँ, अलि लाइट हुन्छ क्या हो।’ तर, शिवले ढिपी कसे। गजल हिट हुने विश्वास दिलाउँदै शीतललाई मनाएरै छाडे। कुरा २०६६ सालको हो।

त्यसपछि उनीहरुले सुन्तला र बदाम खाँदै गीतको बजेटबारे छलफल गरे। कम्पोजिसन र एरेन्जबारे छलफल भयो। कम्पोजिसन शिवले नै गर्ने भए। एरेन्ज गर्ने जिम्मा चाँद सिंहले पाए।

चाँदले गजललाई पूर्ण लोक भाकाको लयमा ढालिदिए। शीतललाई चित्त बुझेन। त्यसपछि एरेन्ज गर्ने जिम्मा गोपाल रसाइलीको काँधमा आइपुग्यो। उनले ‘वेस्टर्न प्याटर्न’मा बनाइदिए। फेरि पनि शीतललाई अझै भएनजस्तो लाग्यो। शिव र शीतल त्यसपछि किरण कँडेल कहाँ पुगे। कँडेलको कामबाट शीतल निकै खुसी भइन्। शिव पनि मख्ख परे।

कम्पोजिसन गर्ने क्रममा शिवले गजलको पहिलो लाइनमा ‘तिमी’ थपेका हुन्। मिटर नमिलेका कारण ‘कहाँ थियौ रंगमञ्च उठेपछि आयौ’ लाइनमा तिमी थपेर ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ भएको शीतल बताउँछिन्।

अन्जु पन्तसँग सहकार्य
‘मेल भर्सन’मा गीत शिवले गाउने भएका थिए। ‘फिमेल भर्सन’मा कसलाई दिने भन्ने कुरा भयो। शिवले शीतलसामू त्यतिबेला निकै चर्चामा रहेकी गायिका अञ्जु पन्तलाई गीत गाउन दिने प्रस्ताव राखे। शीतलले सहमति जनाइन्। केही दिनमै अञ्जुसँग भेट भयो। उनका श्रीमान् मनोज राज पनि सँगै आएका थिए।

उनीहरुले गीत हेरे। अञ्जु गीतमा अलि बढी गहिरिइन्। शब्दहरु पटक–पटक उच्चारण गरिन्। उनको अनुहारमा खुसी देखिएन।

त्यसपछि अञ्जुले श्रीमान्लाई सोधिन्– यो गीत के गरौँ?

‘अञ्जुलाई गीतको केही शब्दहरु चित्त बुझेको थिएन’ शीतल भन्छिन्, ‘त्यसैले श्रीमान्सँग सल्लाह गर्न थाल्नुभयो।’ हलमा बसेर एकछिन सल्लाह गरेपछि उनीहरु गीत गाउने मनसायमा पुगे।

त्यतिबेला चर्चाको शिखरमा रहेकी अञ्जुलाई आफ्नो गीतमा समावेश गर्न पाउँदा शीतल पनि खुसी भइन्। एकछिन त उनलाई अञ्जुले गीत गाउँदिनन् भन्ने लागेको थियो। यतिसम्म कि अब कसलाई गीत गाउन लगाउने होला भन्नेसमेत सोचिसकेकी थिइन्।

‘एकछिन तनाबै भयो नि’ शीतल मुस्कुराउँदै भनिन्।

333

म्युजिक नेपालमा बुकिङ
गीत गर्दा–गर्दै झन्डै ३ लाख रुपैयाँ सकियो। धेरैलाई एरेन्ज गराउनु परेकाले अलि बढी खर्च भयो। अझै काम सकिएको थिएन। त्यसपछि शिव ‘कादम्बिनी’ एल्बममा रेकर्ड भएका अन्य ३ गजलसहित म्युजिक नेपालको कार्यालय पुगे। त्यहाँ पनि ‘कहाँ थियौ तिमी रंगमञ्च’ निकै रुचाइयो।

अग्रिम पैसा दिएर गीत बुकिङसमेत गरियो। ‘मलाई त्यस्तै २ लाख रुपैयाँ दिइएको थियो होला’ शीतल विगत सम्झन्छिन्।

पछि गजलको एल्बम निकै बिक्री भयो। शीतल कति प्रति बिक्यो भन्ने त जान्दिनन् तर रोयल्टीबापत शिवलाई म्युजिक नेपालले मोटरसाइकल दिएको थियो। शीतलले पनि राम्रै रकम लिएकी थिइन्। त्यसैले गजलले राम्रै कमाई गरेको उनी बताउँछिन्।

‘अहिले त युट्युबको जमाना छ, भ्यूज हेरेर गीत कति चल्यो भन्ने मूल्यांकन गरिन्छ’, शीतल भन्छिन्, ‘त्यतिबेला क्यासेट कति बिक्यो भन्ने कलाकारलाई थाहा हुँदैन थियो तर हामीले पाएको रोयल्टी कम भने पक्कै थिएन।’

समय, जवानी र रंगमञ्चबीचको अन्तरविरोध

गजलमा समय, जवानी र रंगमञ्चबीचको अन्तरविरोध प्रस्तुत गरिएको छ जसलाई शीतल पनि स्वीकार्छिन्। यो गजल स्वनिर्मित छन्दमा लेखिएको हो। त्यसैले पनि यसका विविध आयामहरु छन्।

‘जवानी सकिएपछि (कसैले सिउँदो रंगाएपछि) म आएँ, आएँ भनेर हुन्छ त?’ शीतल प्रश्न गर्छिन्, ‘त्यतिबेला समय फर्किएर आउँदैन।’ यहाँ रंगमञ्चले विवाहमण्डपको संकेत गरेको छ।

यति भनिरहँदा पनि गजलमा प्रेम झल्किएको छ। ओइलिएका रहरमाथि आशाको दियो पनि बालिएको छ।

प्रेममात्र नभएर गजलले समय (तत्कालिन जनयुद्ध)लाई पनि विशेष फोकस गरेको छ । आफ्नो छोरा, छोरी, श्रीमतीलाई घरमा छाडेर युद्धमा जाँदा फर्कदा उनीहरुको अवस्था के हुने हो अत्तोपत्तो थिएन। अर्को ब्यक्तिसँग पोइल जाने वा मारिने खतरा थियो। त्यसलाई पनि गजलले संकेत गरेको छ।

444

भिडियोमा विजय लामा!
यो हिट गजल अहिले युट्युबमा पनि राखिएको छ। तर, यसको म्युजिक भिडियो भने बनेको छैन। यो गजलको भिडियो बनायो भने कस्तो होला? धेरैको चासोको विषय हो यो। साथै धेरैले यसको भिडियो बनाउनसमेत माग गरेका छन्।

शीतल चाँडै आम दर्शकको भिडियो हेर्ने माग सम्बोधन हुने बताउँछिन्। भिडियोको मोडलिङका लागि उनले क्याप्टेन विजय लामासँग कुरा गरेकी छन्।

‘एकपटक भेटमा मैले उहाँलाई यसमा सँगै काम गरौँ न त भनेर प्रस्ताव राखेकी थिएँ’ शीतल भन्छिन्, ‘उहाँ सकारात्मक हुनुहुन्छ तर सहमति भने भइसकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .