ad ad

कला


मुक्त दासहरुको कथा ‘मोक्षभूमि’बजारमा

मुक्त दासहरुको कथा ‘मोक्षभूमि’बजारमा

नेपालखबर
असोज २०, २०७७ मंगलबार ६:१२,

राजनीतिक अभियन्ता एवं लेखक केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’लाई किताब पब्लिसर्सले आज मंगलबारदेखि बजारमा ल्याएको छ।

संवत १२८० बाट सुरु हुने ‘मोक्षभूमि’को कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा भएको सो प्रकाशनले जनाएको छ।

‘खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ,’ प्रकाशनकी प्रमुख सञ्चालन अधिकृत कल्पना ढकालले भनिन्, ‘त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ। बहससँगै सुरु हुन्छ– मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा। ‘मोक्षभूमि’ त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन हो।’

उपन्यासबारे लेखक दाहाल भन्छन्, ‘गुमनाम कुनामा अलपत्र परेका आदिमान्छेहरुको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ। तर यो ऐतिहासिक उपन्यास होइन। यो एउटा खास समय, सत्ता र सपनाको कथा हो।’

उपन्यासमा मुक्त दासहरु कता जान्छन्? उनीहरूको देश खोज्ने यात्रा कसरी टुङ्गिन्छ? एक निरंकुश र चक्रवर्ती खस सम्राट क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन्? सनातन वैदिक धर्मलाई कसरी हिन्दुकृत गरिन्छ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो? यस्ता अनेक प्रश्नमाथि ३७६ पृष्ठको उपन्यासमा बिमर्श गरिएको प्रकाशनले जनाएको छ।

उपन्यास देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकम मार्फत् ई–बुकका रुपमा विश्वभर उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .