ad ad

कला


वरिष्ठ गीतकार थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना

वरिष्ठ गीतकार थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १०:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधनले आफूलाई दुःख लागेको जनाउँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

आज ट्वीट गरी उनले शोकसन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

वरिष्ठ गीतकार थापाको ८२ वर्षको उमेरमा निधन भएको छ। ढाडको नसासम्बन्धी समस्याबाट पीडित उनको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनी ‘यसपालि त मनै फाट्यो, केले सिउने’, ‘ठट्टैमा यो बैँस जान लाग्यो.. ’, घुम्तीमा नआउ है..., ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौंँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ...’ आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुन्।

उनका श्रीमती र दुई छोरा छन्।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत–संगीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताए।

नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तकोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उनीप्रति श्रञ्द्धाजलि व्यक्त गरे।

गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिए।

विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन (चक्का) मा रेकर्डिङ गराएको स्मरण गरे। त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए।

रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशंकर, प्रेमध्वज प्रधान आदि लोकप्रिय संगीतकार गायकले सहकार्य गरेका थिए। उनी काठमाडौंको कमलपोखरीमा बस्दै आएका थिए। कोरोना भाइरसको परीक्षण गरेपछि अन्त्येष्टि गरिने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .