चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ।
शनिबार काठमाडौँको पर्यटन बोर्डमा आयोजित कार्यक्रममा २०८१ र २०८२ सालको ‘क्रिटिक्स फिल्म अवार्ड’ संयुक्त रूपमा वितरण गरिएको हो। विजेतालाई अभिनेता मदनकृष्ण श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका छन्।
कार्यक्रममा बोल्दै अभिनेता श्रेष्ठले हलमा चलेका चलचित्र मात्रै राम्रा नहुने भन्दै कतिपय राम्रा चलचित्र पनि नचल्ने गरेको बताए। त्यसैले राम्रा चलचित्रले अवार्ड पाएको अभिनेता श्रेष्ठले बताए।

चलचित्र ‘सानो संसार’ आफूलाई राम्रो लागे पनि हलमा नचलेको भन्दै श्रेष्ठले थपे, ‘सबै राम्रा चलचित्र चलेका छैनन्। चलेन भनेर हरेश मान्नु पर्दैन। आज सानो संसारले क्रिटिक्स अवार्ड पायो।’
चलचित्र ‘भूठान’बाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता हरिवंश आचार्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ पाउने व्यक्ति ‘राम्रै हुने’ बताए। ‘फिल्ममा यो भएन, त्यो भएन, यसो गरेको भए हुनेथियो। यसरी बनाएको भए राम्रो हुनेथियो भनेर दोषैदोष देखाउने व्यक्तिले दिएको अवार्ड भनेपछि पक्कै राम्रै होला,’ उनले भने, ‘मलाई आज यस्तो लागिरहेको छ कि, श्रीमतीले अवार्ड दिएको हो जस्तो लागिरहेको छ। किनकि श्रीमतीलाई चित्त बुझाउन गाह्रो हुन्छ। उहाँहरू (समीक्षक) लाई चित्त बुझाउन पनि गाह्रो छ। उहाँहरूबाट अवार्ड पाउनु भनेको गौरव हो।’

पर्यपटन बोर्डका सिनियर म्यानेजर सूर्य थपलियाले सिनेमालाई अब सरकारले नजरअन्दाज गर्न नसक्ने बताए। सिनेमासँग देशको पर्यटन र अर्थतन्त्र नै कायापलट गर्ने क्षमता हुने भन्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय सुटिङको हब बनाउन सकिने बताए।
फिक्सनका अध्यक्ष सामीप्यराज तिमल्सेनाले राम्रो चलचित्रले उद्योगलाई अगाडि बढाउने तर राम्रो समीक्षा संस्कृतिले त्यो यात्रालाई सही दिशातर्फ डोर्याउने बताए।

क्रिटिक्स फिल्म अवार्ड २०८१ का विजेता:
- उत्कृष्ट फिल्म: शाम्बाला
- उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
- उत्कृष्ट अभिनेता: दयाहाङ राई (गाउँ आएको बाटो)
- उत्कृष्ट अभिनेत्री: थिन्ले ल्हामो (शाम्बाला)
- उत्कृष्ट पटकथा/लेखन: सरिष्मा खत्री र सिद्धार्थ पुडासैनी (सानो संसार)
- उत्कृष्ट छायांकन: आलोक शुक्ला (आँखा)
- उत्कृष्ट सम्पादन: जे. हिम ली र एलेक्स गुर्भिट्स (राजागञ्ज)
- उत्कृष्ट साउन्ड डिजाइन: किशोर आचार्य (गाउँ आएको बाटो)
- स्पेसल मेन्सन (अभिनय): सुपला सापकोटा (बोक्सीको घर)
- स्पेसल मेन्सन (कला निर्देशन): रोशन दिवाना (पूर्ण बहादुरको सारङ्गी)
क्रिटिक्स फिल्म अवार्ड २०८२ का विजेता:
- उत्कृष्ट फिल्म: ऊनको स्वीटर
- उत्कृष्ट निर्देशक: नवीन चौहान (ऊनको स्वीटर)
- उत्कृष्ट अभिनेता: हरिवंश आचार्य (भूठान)
- उत्कृष्ट अभिनेत्री: आना शर्मा (रमिताको पिरती)
- उत्कृष्ट पटकथा: नवीन चौहान/सुरज कटुवाल (ऊनको स्वीटर)
- उत्कृष्ट छायाङ्कन: सुशन प्रजापति (भूठान)
- उत्कृष्ट सम्पादन: अञ्जय खड्का (भूठान)
- उत्कृष्ट पाश्र्व संगीत: कोविद बज्र (ऊनको स्वीटर)
Shares

प्रतिक्रिया