कला


इँटा भट्टाको मजदुरदेखि मण्डलाको अध्यक्षसम्म बुद्धि तामाङको उडान (भिडिओ)

‘बाटोमा जे–जे भेटियो, त्यही गर्दै यहाँसम्म आइपुगेँ’

अनिल यादव
असार ५ , काठमाडौँ

टासी लाप्चाको त्यो चिसो सिरेटोले खाएर पाप्रा उप्किएको अनुहार अनि काँधमा झुण्डिएको एउटा साधारण झोला। सम्पत्तिको नाममा त्यही एउटा झोला बोकेर काठमाडौँस्थित सामाखुसीको सडकमा भौतारिँदै गर्दा कसले सोचेको थियो होला र– यो ठिटो एकदिन नेपाली रंगमञ्च, सिरियल र फिल्मको एउटा बिर्सन नसकिने ‘ब्रान्ड’ बन्नेछ?

त्यतिबेला प्रभात आखेले ठट्यौली पारामा उनलाई सोधेका थिए, ‘ओइ बुद्धि, नाटक गर्छस्?’

हिमाल छिचोलेर आएको त्यो ठिटोको जवाफ थियो, ‘लौ, हिमाल त पार गरेर आइयो, नाटक किन नगर्नु?’

त्यहीँबाट सुरु भयो– एउटा इँटाभट्टाको मजदुरबाट नेपाली रंगमञ्चका स्थापित मण्डला थिएटरको अध्यक्षसम्मको यात्रा।

बुद्धि तामाङको विगत कुनै चलचित्रको पटकथाभन्दा कम छैन। उनले इँटा पारे, फुटपाथमा व्यापार गरे, बरफ र बदाम बेचे, भाँडा माझे, जीवनमा अनेकअनेक गरे। जीवनका ती उकाली–ओरालीहरूलाई उनी अहिले मधुर मुस्कानका साथ सम्झन्छन्। 

‘ती मेरा बाटोहरू थिए, बाटोमा हिँड्दै गर्दा जे–जे भेटियो, त्यहीत्यही गर्दै यहाँसम्म आइपुगेँ, तर यो गन्तव्य मेरो परिकल्पनामा भने थिएन,’ उनी भन्छन्।

आज उनी मण्डला थिएटरको नेतृत्व गरिरहेका छन्। जुन मण्डलामा कुनै समय उनकै आवाजमाथि प्रश्न उठाइएको थियो। ‘यस्तो आवाजले कसरी कलाकार हुन्छ’ भन्नेहरूका माझ उनी पछि आफैँ ‘भ्वाइस एन्ड स्पिच’ को प्रशिक्षक बने। 
 
‘अभिनय भनेको कतै न कतै पढ्नु, बुझ्नु र सिक्नुपर्ने कुरा रहेछ। जति सिक्यो, त्यति निखार आउँदो रहेछ,’ बुद्धिको अनुभवले यस्तै भन्छ। 

बुद्धिका लागि फिल्म बाँच्नका लागि एउटा माध्यम हो भने थिएटर आफूभित्रको कलाकारलाई बचाइराख्ने ऊर्जा। फुटबलमा जस्तै अभिनयमा पनि ‘वार्मअप’ को ठूलो महत्व हुने उनी बताउँछन्। 

‘थिएटरमा वार्मअप बिना सम्भव छैन। शारीरिक, मानसिक र स्वरको तयारीले कलाकारलाई स्टेजमा ‘वन सट’ मा दुई घण्टासम्म बाँधिराख्न मद्दत गर्छ,’ उनले भने। 

निलो टिसर्ट र मेरी बास्सैमा उनले निर्वाह गरेको पात्र हनुमानेले बोलिरहने ‘हैट’, यी दुई परिचय बुद्धिको अभिनय करिअरका ब्रान्ड बनेका छन्। कहिलेकाहीँ उनलाई लाग्छ, दर्शकले उनलाई सधैँ हँसाउने पात्रका रूपमा मात्र चिने। तर उनी यसमा गुनासो गर्दैनन्। 

‘अन्ततः दर्शकलाई खुसी पार्नु नै मेरो उद्देश्य हो,’ उनले भने, ‘उहाँहरूले मलाई कुन नामले चिन्नुहुन्छ, त्यो भन्दा ठूलो कुरा उहाँहरूको आँखामा म कस्तो देखिन्छु भन्ने हो।’

नेपालको राजनीति र समाजका पछिल्ला घटनाक्रमप्रति पनि बुद्धिको आफ्नै मौलिक दृष्टिकोण छ। प्रधानमन्त्री बालेन शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ दुवैको कार्यशैली उनलाई प्रिय लाग्छ। 

‘बालेन शाहको चस्माभित्र एउटा भिजन लुकेको छ, उनले आफूलाई एउटा ब्रान्डका रूपमा स्थापित गरे। देश बनाउन आफैँ ब्रान्ड बन्नुपर्दो रहेछ,’ उनले भने। 

अर्कोतर्फ हर्कको श्रम संस्कृतिप्रतिको लगावलाई उनी उच्च सम्मान गर्छन्। 

भन्छन्, ‘नेपालमा श्रमको सम्मान कम छ, तर श्रमबिना सम्भावना छैन।’

कुलमान घिसिङको प्रसंग आउँदा भने उनी अलि गम्भीर बन्छन्। जेनजी आन्दोलनपछि भएको निर्वाचनमा कुलमानको पराजयलाई उनी दुःखद मान्छन्।

‘काम गर्ने मान्छेको मूल्यांकन कम हुँदो रहेछ भन्ने लाग्यो। कुलमान दाइ जस्ता मान्छेहरू धेरै ठाउँमा भइदिएको भए देश कहाँ पुग्थ्यो होला,’ उनले मन दुखाउँदै भने। 

डेढ सयभन्दा बढी पात्रहरूलाई जीवन्त पारिसकेका बुद्धिलाई यदि कुनै पात्रसँग एक घण्टा बिताउने मौका मिल्यो भने उनी ‘वीर विक्रम २’ को ‘बाघबहादुर’ लाई भेट्न चाहन्छन्। 

‘बाघबहादुर आफूभित्रको शक्ति नचिनेको तर सहारा पाउँदा शक्तिशाली हुने पात्र थियो। म उसलाई सोध्न चाहन्छु– ऊ किन फर्केर आएन? ऊ कहाँ हरायो?’ उनले भने। 

बुद्धिको यो यात्रा अझै जारी छ। उनी जेनजी विद्रोहपछि बनेको बालेन सरकारले एउटा उत्कृष्ट आर्ट सेन्टर बनाउनुपर्ने बताउँछन्। त्यो आर्ट सेन्टर मण्डला पनि हुनसक्छ, जहाँ नयाँ पुस्ताका लेखक र निर्देशकहरूले आफ्नो भविष्य कोर्न सकून्। 

उनको झोला अहिले अनुभव र सपनाहरूले भरिएको छ र बुद्धिको स्वरमा अझै त्यही निखार छ– ‘हैट, दामी छ!’

बाँकी के–के भने बुद्धिले, हेर्नुहोस् नेपालखबर सेलिब्रेटी सो ‘लेट्स टक’:

फोटो/भिडिओ : सरोज नेपाल

असार ५, २०८३ शुक्रबार २०:२८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad