नेपाली नयाँ वर्षलाई फिल्मक्षेत्रका लागि उत्साहजनक समयका रूपमा हेरिन्छ। राम्रो व्यापार हुने कारणले नयाँ वर्षको अवसर पारेर ‘हेभिवेट’ फिल्म रिलिज हुन्छन्।
यसवर्ष पनि नयाँ वर्षको छेको पारेर चैत २७ गतेदेखि विराज भट्टको बहुप्रतीक्षित फिल्म ‘राम नाम सत्य’ रिलिज भयो। र, वैशाख १ गतेबाट तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ हलमा लाग्यो।
एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ ले ठिकठाक व्यापार गर्दा ‘पहाड’ भने बक्सअफिसमा फ्लप भयो। जसकारण यो वर्षको सुरुवात खासै सुखद हुन सकेन।
वैखाख ११ गतेबाट लक्ष्मण सुनार निर्देशित ‘परालको आगो’ प्रदर्शन भयो। यस फिल्ममा चर्चित अनुहार प्रकाश सपुतदेखि सुहाना थापा र सौगात मल्ल लगायतको अभिनय छ। यो फिल्म भने दर्शकहरूलाई हलसम्म तान्न सफल भयो।
वैशाख १ देखि जेठ १५ गतेसम्म डेढ महिनाको अवधिमा ११ नेपाली फिल्म रिलिज भइसकेका छन्। जसमा फिल्म ‘लालीबजार’ मात्रै सुपरहिट फिल्म बन्न सफल भएको छ।
चलचित्र विकास बोर्डको पछिल्लो बक्सअफिस रिपोर्टअनुसार ‘लालीबजार’ ले ७ करोड ९० लाख ३१ हजार ग्रस कलेक्सन गरेको छ। चौथो सातामा प्रदर्शनरत यस फिल्मलाई दर्शकहरूको उत्साहजनक साथ छ।
‘परालको आगो’ डेढ महिनामा धेरै कमाउने दोस्रो स्थानमा छ। पछिल्लो शनिबार अर्थात् जेठ १६ गतेसम्म फिल्मको कमाइ ४ करोड २७ लाख ८४ हजार ४४५ रुपैयाँ पुगेको छ। निर्माता सुशील पोखरेलले पनि लगानी सुरक्षित गरेको दाबी गरिसकेका छन्। जसअनुसार यस फिल्मलाई व्यापारका हिसाबले राम्रै मान्न सकिन्छ।
त्यस्तै, तीन करोड ४० लाख ८१ हजार ६९१ कमाउँदै ‘राम नाम सत्य’ तेस्रो स्थानमा छ। तर, फिल्मको बजेट नै ३ करोड भएकाले यस फिल्मले लगानी भने उठाउन सकेन। वैशाख २६ गतेबाट यो फिल्म हलबाट उत्रिसकेको छ।
माइकल चन्दको लेखन र निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायतको अभिनय छ।
तर ‘पहाड’ सहित ‘मालती मंगले’, ‘गुरुआमा’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ को अवस्था निराशाजनक रह्यो।
गायक रामकृष्ण ढकालको डेब्यु लगानी रहेको फिल्म ‘मालती मंगले’ले जम्मा ५१ लाख ७३ हजार ७९३ ग्रस कलेक्सन गरेको छ। प्रकु पाण्डेको निर्देशन रहेको यस फिल्ममा वर्षा राउत, विजय बराल र मेक्सम गौडेल मुख्य भूमिकामा छन्।
‘मालती मंगले’ र ‘लालीबजार’ प्रदर्शनअगावै बहिष्कारको चपेटामा परेका थिए। ‘लालीबजार’ले त अझ अदालतको चक्कर समेत लगाउनु परेको थियो। तर, बलियो ‘वर्ड अफ माउथ’का कारण ‘लालीबजार’ ले राम्रो पिकअप लियो। पहिलो साताभन्दा दोस्रो साताबाट फिल्मको व्यापारमा वृद्धि भएको निर्माण टिमको भनाइ छ।
वैशाख २५ गतेबाटै रिलिज भएको ‘गुरुआमा’ ले पनि जम्मा २९ लाख ४२ हजार कलेक्सन गरेको छ। शैक्षिक विषयवस्तुमाथि आधारित यस फिल्ममा मिथिला शर्मा मुख्य भूमिकामा छिन्।
जेठ १ गतेबाट रिलिज भएको ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’को हालत पनि दयनीय छ। निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’ले भने ३३ लाख २६ हजार ३२० रुपैयाँ कमाइ गरेको छ। यस फिल्ममा निमेषसहित सुरक्षा पन्त मुख्य भूमिकामा छन्।
त्यस्तै, आँचल शर्मा अभिनीत ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार मात्रै कमाएको छ। सहारा शर्मा निर्देशित यस फिल्मले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषयवस्तु उठान गरेको छ।
पछिल्लो समय रिलिज भएको फिल्ममा रोचक के छ भने प्रायजसो फिल्ममा महिला चरित्र लिडमा छन्। ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’, ‘मालती मंगले’ र ‘गुरु आमा’ सम्मका फिल्मका कथा महिला कलाकारले बोकेका छन्। जुन यसवर्षकै सुरुवातमा देखिएको सुन्दर दृश्य हो। यद्यपि, वादी समुदायको पृष्ठभूमिका बनेको ‘लालीबजार’ले मात्रै बक्सअफिसमा कमाल गर्न सक्यो। आमाछोरीको सम्बन्धको कथालाई दर्शकहरूले रूचाइरहेका छन्।
जेठ ८ गतेबाट मल्टिस्टारर फिल्महरू ‘मितज्यू’ र ‘काजी’ एकसाथ प्रदर्शनमा आएका छन्। अनिल बुढा मगर निर्देशित ‘मितज्यू’ ले १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ कमाएको छ। जुन पछिल्लो शनिबार अर्थात् ९ दिनसम्मको कमाइ हो। यस फिल्ममा दयाहाङ राई, सौगात मल्लसहित टेरिया मगर मुख्य भूमिकामा छन्। यसै फिल्ममार्फत चर्चित डान्सर टेरियाले सिनेक्षेत्रमा डेब्यु गरेकी हुन्।
त्यस्तै, प्रेमकथानक फिल्म ‘काजी’ ले ४० लाख ८८ हजार १७५ व्यापार गरेको छ। यस फिल्ममा केकी अधिकारी र विपिन मुख्य भूमिकामा छन्। लक्ष्मण रिजालको निर्देशन रहेको यस फिल्ममा काजी र कजिनीको प्रेम देखाइएको छ। यी दुवै फिल्महरू यतिखेर दोस्रो सातामा प्रदर्शनरत छन्। माउथ पब्लिसिटीले गर्दा फिल्मको व्यापार बढ्न समेत सक्छ।
त्यस्तै, गत शुक्रबार जेठ १५ गतेदेखि ‘रोल नं. १’ र ‘कुम्भ’ हलमा लागेका छन्। जसमध्ये ‘रोल नं. १’ ले दर्शकहरूको राम्रो साथ पाइरहेको छ भने ‘कुम्भ’को बिजोग छ। धेरै हलबाट यो फिल्म उत्रिसकेको छ।
‘रोल नं. १’ ले अभिभावकले पढाइमा सन्तानलाई दिने दबाब र बालबालिकाको मनोवैज्ञानिक अवस्थाको विषयवस्तलाई समेटेको छ। यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्।
जोन योञ्जनको निर्देशनमा रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल निर्माता रहेको यस फिल्मले कति कमाइ गर्यो, त्यो भने आउँदो बक्सअफिस रिपोर्टले देखाउनेछ।
Shares

प्रतिक्रिया