कला


दयाहाङसँग फिल्म खेल्ने रहर छ भनेको २ वर्षमा उनीसँगै फिल्म लिएर आइन् टेरिया

डान्सरबाट हिरोइन बनेकी टेरियाको मुम्बई अडिसनदेखि ‘मितज्यू’सम्मको कथा
दयाहाङसँग फिल्म खेल्ने रहर छ भनेको २ वर्षमा उनीसँगै फिल्म लिएर आइन् टेरिया

लक्ष्मी बलायर
बैशाख २०, २०८३ आइतबार २१:११, काठमाडौँ

दुई वर्षअघि चर्चित डान्सर टेरिया फौजा मगर एक अन्तर्वार्तामा पुगेकी थिइन्। त्यहाँ उनले अभिनेता दयाहाङ राईसँग फिल्म खेल्न मन भएको सुनाइन्। त्यो एक फ्यानको चाहना मात्र थियो। अझ बिनाआशाको एउटा रहर।

तर, समयको खेल न हो। आज टेरियाको त्यो रहर साँच्चै पूरा भएको छ। किनकि डेब्यु फिल्म ‘मितज्यू’ मै टेरियाले दयाहाङसँग स्क्रिन सेयर गर्दैछिन्। यो सम्झिँदा टेरियालाई नै अचम्म लागिरहेको छ।  

‘मैले त त्यतिखेर जिरो एक्स्पेक्टेसनसँगै भनेको थिएँ। मलाई थाहै थिएन त्यस्तो मौका जुर्छ होला भनेर। अहिले फर्केर हेर्दा चाहिँ त्यो म्यानिफेस्टेसन भएछ कि जस्तो फिल हुन्छ,’उनले भनिन्।

टेरियाले दयाहाङका कबड्डी सिरिज, फूलबारी र डिग्री माइला जस्ता फिल्म हेरेकी थिइन्। दयाहाङको अभिनय स्वाभाविक लाग्ने उनको भनाइ छ। जसकारण दयाहाङ निकै मन पर्थे। रोचक कुरा त टेरियाले भन्दाअघि दयाहाङले पो टेरियालाई चिनेका रहेछन्।

दयाहाङले ‘मितज्यू’ को छायांकनको बेला खुलाउँदै टेरियालाई भने ‘मैले तिमीलाई पहिल्यैदेखि चिन्थेँ।’ सुरुमा त टेरियालाई विश्वासै लागेन। दयाहाङले अर्कै कुनै बच्चालाई देखेको होला भन्ने सोचिन्। तर, जब दयाहाङले टेरियाले डान्स गर्दा लगाएको लुगा र गीतको व्याख्या गरिदिए। तब मात्रै उनले पत्याइन्। त्यो आफ्ना लागि ठूलो सम्मान भएको सुनाउँछिन् उनी।

चर्चित डान्सरदेखि हिरोइनसम्म
रुपन्देही रुद्रपुरकी तेरियालाई सानैदेखि नृत्यमा रुचि थियो। खासमा उनका बाजे टेरियाको पहिलो गुरु र ठूलो प्रशंसक थिए। त्यसैले त उनी साँझ खाना खाइसकेपछि आँगनमा गुन्द्री बिछ्याएर परिवारसहित बस्थे। र, टेरियालाई नाच्न लगाउन्थे।

टेरिया पनि के कम! कहिले नाचेर त कहिले अभिनय गरेर देखाउँथिन्। अझ भूपू सैनिक बाजेको गोलो ह्याट ढल्काएर उनी माइकल ज्याक्सनको शैलीमा नाच्थिन्। उनलाई हेरेर परिवारै रमाउँथ्यो।

त्यस्तै, माधुरी दीक्षितका गीत बज्न थालेपछि टेरिया निकै झुम्मिन्थिन्। रेखा थापालाई देखेर नक्कल गर्थिन्। ऐनाअगाडि बसेर रेखाको जस्तै कोठी बनाएर अभिनय गरेको सम्झिन्छिन् टेरिया। जुन नृत्यप्रतिको भोकलाई उनका हजुरबाले नजिकबाट बुझेका थिए। त्यसैले त टेरियालाई काँधमा बोकेर उनी डान्स क्लाससम्म पुर्‍याउँथे।

त्यसै नृत्यप्रतिकै लगावले उनी ११ वर्षको उमेरमा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ तयारीका लागि मुम्बई पुगिन्। र, विजेता पनि बनिन्। कक्षा ६ बाट भारतमै पढ्नुका साथै डान्स रियालिटी सोमा समेत भाग लिन थालिन्। उनी ‘झलक दिखलाजा’ सिजन ९ की विजेता समेत हुन्।

नृत्यले दर्शकहरुको मन जिते पनि उनले अभिनयबारे सोचेकी थिइनन्। कहिलेकाहीँ सोच आउँदा पनि ‘मैले सक्दिनँ होला’ भन्दै उनी आफैँलाई सीमामा बाँध्थिन्। र, आफूलाई शंका गर्दैं प्रश्न गर्थिन्: एउटा डान्सर कसरी एक्टर हुन सक्छ र?

तर भित्रभित्रै भने टेरियालाई अभिनयप्रति भोक थियो। जसकारण कोरोनाताका उनले अनुपम खेरसँग अभिनय कक्षा लिइन्। र, अडिसन समेत दिन थालिन्। ‘उनकी यारी’ र ‘क्याम्पस बिट्स’ जस्ता वेब सिरिजमा अभिनय गरिन्। इन्डियाका स्वतन्त्रता सेनानीहरूको बारेमा बनेको ‘स्वराज’ सोमा पनि उनी देखिइसकेकी छिन्।

भारतबाटै स्नातकसम्मको पढाइ सकेकी टेरिया केही वर्षयता भने नेपालमै छिन्। बाहिर बस्दा आफ्नो देशप्रति लगाव बढ्ने बताउँदै आफूलाई नेपाली फिल्म खेल्ने इच्छा भएको सुनाइन्।

‘म जति ठूलो हुँदै गएँ, आफ्नो माटो र देशप्रतिको लगाव अझ बढ्दै गयो। पहिलेदेखि नै नेपाली फिल्म क्षेत्रमा केही न केही काम गर्ने इच्छा थियो। जब अनिल दाइले मलाई मितज्यूको स्क्रिप्ट दिनुभयो, मलाई एकदमै राम्रो लाग्यो। यस फिल्मको एउटा पाटो हुन पाए त पछि गएर गर्वका साथ मैले यो फिल्म गरेको थिएँ भन्न पाइन्छ। त्यसैले यो मौका गुमाउनु हुँदैन भन्ने सोचेर मैले यो फिल्म रोजेँ,’ टेरियाले भनिन्।

डेब्यु फिल्म, त्यसमाथि दयाहाङसहित सौगात मल्लजस्ता दिग्गज कलाकार। यस फिल्ममा काम गर्नुलाई अवसर र चुनौतीको रुपमा लिन्छिन् टेरिया।

‘उहाँहरू जस्तो दिग्गज कलाकारहरूसँग मैले स्क्रिन सेयर गर्न पाउँछु र त्यही अनुसारले मेरो पर्फर्मेन्समा पनि उहाँहरूले गर्दा निखार आउँछ भन्नेमा म अलिकति ढुक्क थिएँ। त्यो हिसाबले मेरो लागि ठूलो अवसर थियो,’ उनले भनिन्, ‘म नयाँ भएकाले कति कुराहरु मलाई थाहा छैन, ट्युनिङ मिलेन भने के हुन्छ होला? अनि सिन गर्दागर्दै मैले धेरै टेक खाइदिने हो कि भन्ने डर हुन्थ्यो। सुटिङ गर्दा चुनौती पनि फिल भएको थियो।’

जब ‘उजेली’ बनिन् टेरिया
‘मितज्यू’ मा टेरियाले उजेलीको भूमिका निर्वाह गरेकी छन्। उनी एक ग्रामीण महिला र ड्राइभरकी श्रीमती हुन्। गाउँमै जन्मे-हुर्केकी टेरियालाई सुरुमा लागेको थियो: गाउँले पात्र खेल्न त के गाह्रो होला र!

जब उनी फिल्मको वर्कसपमा बसिन्, तब उनलाई अभिनय गर्नु निकै गाह्रो रहेछ भन्ने थाहा भयो। जसले अग्रज कलाकारहरुको अभिनयप्रति झन् सम्मान बढेको सुनाउँछिन् उनी। 

अभिनय गर्दा टेरियाका लागि आफ्नै शरीर सबैभन्दा ठूलो चुनौती थियो। नृत्यमा शरीरका अंगहरू एकदमै चलाउनुपर्छ। तर, अभिनयमा ती हाउभाउलाई नियन्त्रण गर्नु पर्ने थियो।

भन्छिन्, ‘म डान्सर भएर हो कि, मेरो हात र आँखा एकदमै चल्ने रहेछ। वर्कसपमा सरले मलाई यो चाहिँ तिमीले कम गर्नुपर्छ भनिरहनुहुन्थ्यो। सिन गर्दाखेरी मभित्रको डान्सर आइहाल्थ्यो, जसलाई कन्ट्रोल गर्न सुरुमा एकदमै गाह्रो भयो।’

एउटा लामो दृश्य खिच्नुपर्ने थियो। जहाँ टेरियाको संवाद खासै हुँदैन। तर, दृश्यमा उनको अनुहार र आँखाले भाव बोल्नुपर्ने हुन्छ। त्यो दृश्य खिच्दा निकै गाह्रो भएको सुनाउँछिन् उनी।

‘त्यो सिन गर्दा निकै कठिन भयो। अभिनय भनेको त यतिसम्म गर्नुपर्दो रहेछ भन्ने लाग्यो। डान्समा त कोरियोग्राफी हुन्छ, प्राक्टिस गरेपछि नाचिन्छ। तर एक्टिङमा त निस्किन्छ कि निस्किँदैन भन्ने डर हुँदोरहेछ। तर, जब त्यो सिन राम्ररी सकेँ, तब बल्ल ढुक्क भएँ,’ उनले सुनाइन्।

सुटिङताका निर्माणटिमसहित सौगात र दयाहाङले निकै सहयोग गरेको बताउँछिन् टेरिया। जसले आफूलाई उजेली पात्रमा ढाल्न सहज भएको उनको भनाइ छ।

‘प्रेसरमा काम गर्दा पूरा पर्फमेन्स निस्किँदैन नि त, त्यसैले उहाँहरूले मलाई सुरुबाट नै बिस्तारै कम्फर्टेबल हुने वातावरण मिलाइदिनुभयो। एउटा कलाकारका रूपमा आफ्नो दायरामा रहेर कसरी काम र रमाइलोलाई सन्तुलनमा राख्न सकिन्छ भन्ने कुरा उहाँहरूबाट सिक्न सकिन्छ। उहाँहरूले पात्रको उद्देश्यमा स्पष्ट हुन र दृश्यलाई फरक एंगलबाट सोच्न सिकाउनुभयो। जसले उजेली बन्न सहज बनायो,’ उनले सुनाइन्।

नृत्य र अभिनयबीच भिन्नता
जब संगीतको धुन बज्छ, टेरियाका लागि वरपरको संसार एकाएक शून्य हुन्छ। न क्यामराको डर, न दर्शकको भीड। उनी केवल आफ्नै लयमा बग्छिन्।

‘गीत बज्न थालेपछि मलाई केही पनि थाहा हुँदैन। म मान्छे पनि देख्दिनँ, म जहिल्यै पनि ब्ल्याङ्क हुन्छु। संगीतभित्र छिरेपछि अरू कुराको मतलबै हुँदैन। त्यो एउटा यस्तो इमोसन हो, जसमा म आफैँ डुबेर गरिरहेकी हुन्छु,’ नृत्य अनुभव सुनाउँदै उनले भनिन्।

अभिनयमा भने टेरियाले नृत्यभन्दा फरक अनुभव गर्न पाइन्। टेरियाका अनुसार अभिनयमा डुबेर मात्र पुग्दैन, सम्हालिनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

‘अभिनयमा प्राविधिक पक्षसँगै संवेदनाबीचको तालमेल मिलाउनु एउटा कला हो। एक्टिङमा क्यामरा छ, संवादको डेलिभरी छ र सबैभन्दा महत्त्वपूर्ण कुरा भावनाको सन्तुलन छ। धेरै लाउड भयो भने इमोसन हराउँछ। त्यसैले यहाँ हरेक कुराको ख्याल राख्नुपर्छ,’ उनी भन्छिन्।

‘मितज्यू’ को सुटिङअगावै फिल्मको गीत ‘गैराघरे काँइली’ खिचिएको थियो। जसले आफूलाई अभिनयसँग नजिक हुन सहयोग गरेको सुनाउँछिन् उनी।

यस फिल्मलाई लिएर टेरिया निकै उत्साहित छिन्। निर्देशक अनिल बुढा मगरको भिजन र फिल्मको कथावस्तुले प्रभावित पारेको बताउँदै आफूलाई पर्दामा हेर्न आतुर रहेको उनले सुनाइन्। यो फिल्म आगामी जेठ ८ गतेदेखि रिलिज हुँदै छ।

‘मितज्यूको लागि म एकदमै एक्साइटेड छु। अनिल दाइले भन्न खोज्नुभएको स्टोरी एकदमै इन्ट्रेस्टिङ छ, जसमा धेरै तह र रमाइला पाटाहरु समेटिएका छन्,’ उनी भन्छिन्, ‘यो मेरो अभिनय मात्र होइन, हाम्रो समग्र टिमको मेहनत हो। म आफैँ पनि यो कुरालाई लिएर निकै आतुर छु कि जुन स्क्रिप्ट हामीले पढ्यौँ, त्यो पर्दामा कस्तो देखिएला?’

अभिनयमा निरन्तरता दिन इच्छुक सुनिइन् टेरिया। मेकरहरूबाट राम्रो अफर आएमा आगामी दिनमा पनि पर्दामा देखिने उनको भनाइ छ।

भन्छिन्, ‘पहिलो पाइला चाल्दै छु, बाँकी त भविष्य र दर्शकको मायामा भर पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad