कला


हिजो ‘गरिबको चमेली’ गाउने, आज गरिबकै घरमा डोजर चलाउने : मनोज पण्डित (भिडिओ)

‘बालेन हाम्रो अभिभावक बनून्, शासक नबनून्’

अनिल यादव
बैशाख १७ , काठमाडौँ

देशमा अहिले ‘कलाकार’को सरकार छ। एक कलाकर्मी, कला बुझेको मान्छे र र्‍यापर बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा छन्। प्रधानमन्त्रीका सल्लाहकार पनि फिल्मकर्मीहरू नै छन्, कुमार बेन र असिम शाह। सदनमा पनि कलाकारहरूको उपस्थिति छ। तर, विडम्बना यही बेला नेपाली फिल्मकर्मी आज अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा कालो पट्टी बाँधेर सडकमा उत्रिरहेका छन्।

यतिबेला चलचित्र क्षेत्रमा एउटा गम्भीर बहस छ– ‘के कलाकार शासक भएपछि कला झन् असुरक्षित हुन्छ?’ 

वादी समुदायको कथामा आधारित फिल्म ‘लालीबजार’ प्रदर्शनको ठीक तीन दिनअघि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेशमार्फत प्रदर्शनमा रोक लगाइदियो। यसैको विरोधमा बुधबार दिउँसो फिल्मकर्मी माइतीघरको सडकमा उत्रिए। 

फिल्मकर्मीको त्यो भिडमा कालोपट्टी बाँधेर उभिएका फिल्म निर्देशक मनोज पण्डित बिहीबार नेपालखबर स्टुडिओमा भन्दै थिए, ‘फिल्ममाथि भइरहेको प्रहारले फिल्मकर्मीमा डर पैदा भएको छ।’

पण्डितका अनुसार कलाकार हुनु र शासक हुनु दुई फरक पाटा हुन्। 

नेपालखबर ‘तत्कालै’मा उनले भने, ‘राज्य भन्ने संरचना जहिले पनि कलाप्रति अनुदार हुन्छ। राज्यले सिनेमालाई सधैँ शंकाको दृष्टिले हेर्छ। सिनेमाले समाजको यथार्थ देखायो भने यसले सन्तुलन बिगार्छ भन्ने डर राज्यलाई हुन्छ।’

चलचित्र विकास बोर्डबाट अनुमति लिएको, सेन्सर बोर्डबाट पास भएको ‘लालीबजार’लाई रिलिजको मुखमै अदालतले रोकिदिँदा लगानीकर्ता र स्रष्टाको बिचल्ली भइरहेको उनले बताए। 

‘विकास बोर्ड र सेन्सर बोर्डको प्रक्रिया पूरा गर्दागर्दै पनि अर्को निकायले अन्तिम समयमा हस्तक्षेप गर्छ भने फिल्म मेकिङ प्रक्रिया नै असुरक्षित भएन र? हामीले हाम्रा कथा भन्न पाउनु पर्छ भन्ने माग राज्य प्रणालीसँग हो,’ उनको भनाइ छ। 

पण्डित आफैँ पनि पटक–पटक राज्यको कोपभाजनमा परेका निर्देशक हुन्। उनले बनाएका ‘वधशाला’ र ‘दासढुंगा’जस्ता फिल्महरू कहिले सेना त कहिले शक्तिशाली राजनीतिक नेतृत्वको दबाबमा रोकिएका थिए। 

‘दासढुंगा तत्कालीन एमाले नेता केपी ओलीको हस्तक्षेपका कारण सेन्सरमै रोकिएको थियो। वधशालालाई सेनाले अघि बढ्नै दिएन। सिनेमा रोक्नु भनेको राज्य कति निरंकुश हुँदैछ भन्ने संकेत हो,’ उनले भने।

कुनै समय बालेनले गाएको एउटा गीतका शब्दहरूले आम नेपालीको मन छोएको थियो– ‘गरिबको चमेली बोल्दिने कोही छैन।’ ती शब्दहरूमा गरिबको पीडा थियो, समाजको विभेद थियो र राज्यको बेवास्ताप्रति तीखो व्यंग्य थियो। तर, समय फेरिएको छ। तिनै शब्दका रचयिता र गायक बालेन आज देशको नेतृत्वमा छन्। विडम्बना! आजै गरिबका झुपडीहरूमा डोजर चलिरहेका छन्।

चलचित्रकर्मीहरू माइतीघरको सडकमा अभिव्यक्ति स्वतन्त्रताको माग गरिरहँदा काठमाडौँका सुकुम्बासी बस्तीहरूमा एउटा अर्को कारुणिक दृश्य मञ्चन भइरहेको छ– जहाँ डोजरले गरिबको ओत खोसिरहेको छ। बालेनले हिजो गरिबको आवाज बनेर गीत गाउँदा जनताले उनलाई नायक मानेका थिए। तर सत्तामा पुगेपछि बालेनले आफ्नो त्यही सांगीतिक र मानवीय साख गुमाउन थालेकोमा पण्डित चिन्तित सुनिए। 

‘गरिबको चमेली बोल्दिने कोही छैन भनेर गीत लेख्ने बालेन शाहको सरकारले नै गरिबको बस्तीमा डोजर चलाउनु न्यायसंगत भएन,’ उनले भने, ‘हिजो उनले म बोल्छु भनेर गाएका थिए, तर आज गरिबहरू सडकमा रोइरहँदा उनले सुनिदिनु पर्ने होइन र? नत्र त्यो गीतको सार्थकता के रह्यो? गरिबको आवाज बन्नुको साटो उल्टै उनीहरूलाई लत्याउनु भनेको आफ्नै विगतलाई धोका दिनु हो।’

बालेन र पण्डितबीचको सम्बन्ध पुरानो हो। बालेन मेयर र पछि प्रधानमन्त्री बन्नुअघि पण्डितले उनलाई राजनीतिक सल्लाह समेत दिएका थिए। बालेनले पहिले सामाजिक सञ्जालमा ‘सिनेमा समाज परिवर्तनको बलियो माध्यम हो’ भन्दै पण्डितको खुलेर प्रशंसा गरेका थिए। तर, आज तिनै बालेन सत्ताको नेतृत्वमा हुँदा स्रष्टाहरू सडकमा हुनुलाई पण्डितले विडम्बनापूर्ण मानेका छन्। 

‘म चाहन्छु, बालेन शासक नबनून्, उनी हाम्रो अभिभावक बनून्। उनका कार्यकालमा कुनै पनि फिल्ममेकरले फिल्म बनाउँदा डराउनु नपरोस्। तर अहिलेको परिस्थिति देख्दा मनमा खल्लोपन र डर पैदा भएको छ,’ उनले भने। 

०७९ को संसदीय चुनावमा उनी गोकुल बाँस्कोटाविरुद्ध आफ्नै निर्वाचन क्षेत्रबाट ‘डोजर’ चुनाव चिन्ह लिएर उठेका थिए। तर आज त्यही डोजर गरिबको घर भत्काउने हतियार बनेको देख्दा उनलाई निकै पछुतो लागेको छ। 

‘डोजरले मान्छेको आश्रयस्थल उजाडिरहेको दृश्य देख्दा मलाई साँच्चै पीडा भएको छ,’ उनले भावुक हुँदै भने, ‘मलाई आफूले चुनावमा डोजर चिन्ह लिएकोमा अहिले अफसोस छ। मलाई लागेको थियो– डोजर विकासको प्रतीक हो, बाटो खन्ने साधन हो। तर यदि त्यही डोजरले गरिबका छोराछोरीलाई सडकमा अलपत्र पार्छ र उनीहरूको घरबास उठाउँछ भने मैले त्यो चिन्ह लिनु हुँदैनथ्यो। यो मेरो स्रष्टा मनको एउटा ठूलो ग्लानि हो।’

नेपालको राजनीतिमा कलाकारहरूले जहिले पनि गरिब र असहायको आँसु बेचेर चर्चाको सिँढी चढ्ने गरेको आरोप लाग्ने गर्छ। पण्डितलाई डर छ– बालेन पनि कतै त्यही पथमा त छैनन्? उनले प्रश्न गर्दै भने, ‘नेपाली राजनीतिले हिजो केपी ओली, देउवा र प्रचण्डलाई किन लखेट्यो? किनकि उनीहरूले सामान्य मान्छेको पीडा बिर्सिए। आज बालेनलाई पनि त्यही खतरा छ।’

सिनेमाको व्याकरणमा झैँ राजनीतिमा पनि नायक र खलनायक हुने बताउँदै उनले थपे, ‘हामीले हिजो बालेनलाई एउटा नायकको रूपमा हेरेका थियौँ। तर जब एउटा नायकले बन्दुक र डोजरको आडमा गरिबका छोराछोरीको आँखाबाट आँसु निकाल्छ, तब ऊ बिस्तारै खलनायकमा रूपान्तरण हुन्छ। म चाहन्छु, बालेन खलनायक नबनून्।’

सुकुम्बासी बस्तीमा डोजर चल्दा एउटी सानी बालिकाले आफ्नो भत्किएको घर हेर्दै आँसु झारेको दृश्यले पण्डितलाई अझ बढी झस्काएको छ। 

‘विकास डोजर लगाएर मात्र हुँदैन, मान्छेको मन जोडेर हुन्छ,’ उनको निष्कर्ष छ, ‘डोजर चलाउनुअघि ती मान्छे कहाँ बस्छन्, के खान्छन् भन्ने व्यवस्थापन हुनुपर्थ्यो। हुकुमबासी थिए भने तिनको पहिचान राज्यले गर्न सक्थ्यो। तर, त्यसो भएन। भनिन्छ, गरिबलाई नचलाऊ, गरिबको आँसुले पोल्छ। सरकारले यो बुझ्नुपर्थ्यो।’

अन्त्यमा, निर्देशक पण्डितले प्रधानमन्त्री र आफ्ना मित्र बालेनलाई एउटै आग्रह गरे– शासक मात्र होइन, अभिभावक बन्नुस्। 

‘ठूला–ठूला देश लुट्ने अपराधीहरूलाई डोजर लगाउनुस्, म ताली बजाउँछु,’ उनले भने, ‘तर जसको यो धर्तीमा केही छैन, तिनको झुपडी नभत्काउनुस्। चमेलीहरूको बोल्दिने मान्छे सत्तामा पुगेको दिन चमेलीहरू नै सडकमा रुनुपर्ने स्थितिको अन्त्य हुनैपर्छ।’

बाँकी के–के भने उनले, हेर्नुस् पण्डितसँगको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’ :

फोटो/भिडिओ : सरोज नेपाल
 

बैशाख १७, २०८३ बिहिबार २२:१६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad