कला


फिल्म क्षेत्रमा नयाँ वर्षको उत्साह, निर्माण र प्रदर्शन मिति तोक्नेको लर्को

फिल्म क्षेत्रमा नयाँ वर्षको उत्साह, निर्माण र प्रदर्शन मिति तोक्नेको लर्को

लक्ष्मी बलायर
बैशाख १, २०८३ मंगलबार १३:२७, काठमाडौँ

नयाँ वर्ष २०८३ को पहिलो दिन फिल्म क्षेत्रमा बेग्लै चहलपहल छ। एकातिर निर्माताले नयाँ फिल्म घोषणा गरिरहेका छन् भने अर्कातिर फिल्मको प्रदर्शन मिति तोकिरहेका छन्। 

आज ११ फिल्मले आफ्नो फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। जसमध्ये केहीले निर्माण घोषणा गरेका छन् भने केहीले प्रदर्शन मिति समेत तोकेका छन्।

नयाँ वर्षको अवसरमा बिहानै फिल्म ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिएको छ। पुष्प खड्काको मुख्य भूमिका रहेको फिल्मको रिलिज डेट आगामी दशैँलाई तोकिएको छ।

त्यस्तै, ‘जदौ’ को पनि पोस्टरसहित प्रदर्शन मिति घोषणा गरिएको छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म भदौ १२ गतेको लागि प्रदर्शन तय गरिएको छ। यस फिल्ममा मुकुन भुसाल, रिचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्रीलगायतको अभिनय छ।

अभिनेत्री पूजा शर्माले पनि नयाँ वर्षमा फिल्मको घोषणा गरेकी छन्। एक पोस्टर सार्वजनिक गर्दै ‘रत्यौली’ फिल्मको घोषणा गरेकी हुन्।

पोस्टरमा पूजासहित विजय बराल फिचर्ड छन्। विजय र पूजाले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। सुरज आचार्यको निर्माण रहेको फिल्मलाई मुस्कान ढकालको निर्देशन रहनेछ।

कलाकार माओत्से गुरुङको निर्देशनमा रहेको फिल्म ‘पेन्सन पट्टा’को प्रदर्शन मिति पनि घोषणा गरिएको छ। पोस्टर ल्याउँदै तीजको अवसरमा भदौ २६ गतेको लागि रिलिज मिति तोकिएको छ।

वैशाख १ गते नयाँ वर्ष मात्रै अभिनेता दयाहाङ राईको जन्मदिन पनि रहेको हुँदा राम्रो दिनमा प्रदर्शन मिति घोषणा गरिएको निर्देशक गुरुङको भनाइ छ। यस फिल्ममा दयाहाङसहित सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङको अभिनय रहेको छ। माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। 

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन्। सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु र संगीत मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङले तयार पारिरहेका छन्।

सुरेन्द्र पौडलले सम्पादन गरिरहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।

जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। आगामी साउन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ।

जितुसहित फिल्ममा प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतको अभिनय छ।

अभिनेत्री केकी अधिकारीले पनि नयाँ वर्षको अवसरमा नयाँ फिल्म बनाउने घोषणा गरेकी छन्। उनले एक पोस्टर ल्याउँदै फिल्म ‘स्टेशन’ को घोषणासहित प्रदर्शन मिति तोकेकी हुन्।

केकीको प्रस्तुतिमा बन्ने फिल्म आगामी भदौ १९ गते रिलिज हुनेछ। बद्री अधिकारी निर्माता रहेको यस फिल्ममा सुलक्षण भारतीको कथा र निर्देशन रहनेछ। यद्यपि, फिल्मका कलाकारबारे भने जानकारी दिइएको छैन।

सुलक्षण र केकीले यसअघि फिल्म ‘बोक्सीको घर’ मा सहकार्य गरेका थिए। जुन फिल्म बक्सअफिसमा हिट भएको थियो।

त्यसैगरि, २०८२ सालको सुपरहिट फिल्म ‘परान’ का निर्देशक दीपकप्रसाद आचार्यले पनि नयाँ फिल्मको घोषणा गरेका छन्। ‘परान’ को सफलतासँगै उनले ‘चिरञ्जीवी भव’ बनाउन लागेका हुन्। कुमार कट्टेलको कथा रहेको फिल्ममा सविन अधिकारी र वसन्त निरौलाको पटकथा र संवाद छ।

लेखक तथा निर्देशक राजबहादुर सानेले पनि नयाँ वर्ष तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनको लेखन र निर्देशनमा फिल्म ‘गंगारानी’ बन्नेछ।

‘गंगारानी’लाई आगामी जेठको अन्त्यतिर छायांकनमा लैजाने तयारी रहेको छ। प्रेमकथामा आधारित यस चलचित्रका कलाकार तथा अन्य प्राविधिक भने हालसम्म टुंगो लाग्न बाँकी रहेको निर्देशक सानेले जानकारी दिए।

त्यस्तै, ‘दुई किनारा’ को पनि निर्माण घोषणा गरिएको छ। ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्माता विनोद पौडेलले यस फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन्। पोस्टर सार्वजनिक गर्दैं आगामी नयाँ वर्षको लागि रिलिज मिति तोकिएको छ।

त्यस्तै, नयाँ वर्षको अवसरमा ‘भगवान छ: के छ ग्यारेन्टी’ को पनि निर्माण घोषणा गरिएको छ। जाउन योञ्जनको लेखन निर्देशन रहेको फिल्ममा स्मिता लामिछाने निर्माता हुन्।

शुसांक मैनालीको मुख्य भूमिका ‘द रिपेयरम्यान’ को पनि निर्माण घोषणा गरिएको छ। सुनिल शिवाभक्ती निर्देशन रहेको फिल्मको निर्माता उज्जवल अधिकारी र प्रदीप बिले हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad