बहुप्रतीक्षित फिल्म ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ। सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट फिल्मको शुभमुहूर्त गर्दै सुटिङ सुरू गरिएको हो।
क्यामेरा पूजा गर्दै छायांकन थालिएको सिनेमाको पहिलो दिनको सेड्युलमा फिल्मका मुख्य कलाकारको उपस्थिति रहेको थियो। यो फिल्म काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको
ठूलो लगानी र नाम चलेका कलाकारको समिश्रण रहेकाले ‘पाँच पाण्डव’लाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ। यसमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) छन्। पाँच पाण्डवको भूमिकामा उनीहरू नै रहने जनाइएकाे छ।
फिल्मको नाम ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने होइन। निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ हो। फिल्ममा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ।
निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन्। वसन्त निरौला निर्देशन रहने फिल्ममा सुशील पौडेलले कथा, पटकथा तथा संवाद लेखेका हुन्। पौडेल यसअघि समीक्षक र दर्शक दुवैले रुचाएको चर्चित फिल्म ‘प्रसाद’का लेखक हुन्।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन्। हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले फिल्मको बजेट उच्च रहने प्रस्तुतकर्ता श्रेष्ठले बताए।
यसलाई श्याम तामाङले खिच्नेछन्। करिब ४० दिनको छायाकंन तालिका तय गरिएको फिल्मका अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जानकारी दिएको छ। झापामा छायांकन सकेपछि अन्य स्थानको सेड्युल तय गर्ने निर्देशक निरौलाले जानकारी दिए।
यो फिल्ममा दर्शकले फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउनेछन्। म्युजिक नेपालले भर्खरै मात्र नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा ‘पाँच पाण्डव’को साउन्डको काम हुनेछ।
Shares

प्रतिक्रिया