स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह ‘धर्तीमुनिका तारा’ आईतबार सार्वजनिक गरिउको छ।
साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, पार्थिवेश्वर तिमिल्सिना, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तथा प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी, स्रष्टा महेश्वर पन्त, राजेन्द्र के.सी., कृतिका सम्पादक रमेश दाहाल र राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।
लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा आयोजि लोकार्पण कार्यक्रममा बोल्दै साहित्यकार सन्ध्या पहाडीले कथा सङ्ग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुहरूको विवेचनात्मक चर्चा गरेकी थिइन् । प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिको संरचना, विषयवस्तु तथा साहित्यिक महत्त्वमाथि विस्तृत टिप्पणी प्रस्तुत गरेका थिए । त्यसैगरी प्रा.डा. रामप्रसाद दाहालले कथाभित्र निहित अन्तर्य, जीवनानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे विश्लेषण गरेका थिए ।
स्वयं स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणा–स्रोत, विषयवस्तुको चयन तथा पात्रहरूसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गरेका थिए । पन्तका ‘मुन्द्री’, ‘नबोल्नेहरू’, ‘फुर्लुङ’, ‘बौलाको डायरी’ जस्ता कथा तथा उपन्याससहित आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका छन्।
सोही अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा महेश्वर पन्तलाई खादा, माला तथा दोसल्लासहित “स्रष्टा प्रज्ञा सम्मान–२०८२” प्रदान गरी सम्मानित गरेको थियो ।
Shares

प्रतिक्रिया