कला


‘रअबार्ज’ र्‍याप ब्याटलदेखि सिंहदरबारसम्म : राजनीतिमा आउनुअघि बालेनले संगीतमा गरेको विद्रोह

‘रअबार्ज’ र्‍याप ब्याटलदेखि सिंहदरबारसम्म : राजनीतिमा आउनुअघि बालेनले संगीतमा गरेको विद्रोह

लक्ष्मी बलायर
फागुन २९, २०८२ शुक्रबार २२:४५, काठमाडौँ

नेपाली हिप-हपमा सन् २०१२/०१३ ठूलो टर्निङ प्वइन्ट बनेर आयो। त्यसअघि र्‍याप गल्ली र साना समूहहरूमा सीमित थियो। त्यसपछि भने नेपाली र्‍याप मूलधारको संगीतसँगै जोडिन पुग्यो।

एकातिर युट्युबको बढ्दो प्रयोग। अर्कोतिर नेपाली हिप-हपका राजा यम बुद्धले सुरू गरेको ‘रअबार्ज’ र्‍याप ब्याटल। जसले नेपहपको रूपरेखा नै बदलिदियो। पहिले र्‍यापलाई मनोरञ्जनको रूपमा हेर्नेमाझ यो एक प्रतिस्पर्धात्मक र बौद्धिक विधा बन्यो। सोही ‘रअबार्ज’ मार्फत थुप्रै र्‍यापरहरू चर्चित बने। जसमध्येका एक हुन्: र्‍यापर बालेन (बालेन्द्र शाह)।

त्यो समय नेपहप दुई धारमा बाँडिएको थियो। गिरिश खतिवडा, निर्णय श्रेष्ठ (एनएसके) जस्ता कर्मसियल र्‍यापतिर गए। बालेन भने यम बुद्धकै लय समात्दै अन्डरग्राउन्ड र्‍यापतिर लागे।

सन् २०१३ (२०७०) मा बालेन पहिलोपल्ट ‘रअबार्ज’ मार्फत र्‍याप ब्याटलमा उत्रिए। प्रतिस्पर्धी थिए लिटल ग्रिजल। र, आक्रामक रूपमा ब्याटलमा प्रस्तुत भए बालेन। 

सेतो सर्ट, कालो इस्टकोट। कानमा मुन्द्रा। शान्त तर ढीठ लुक। बालेनले ब्याटलमा तार्किक पञ्चलाइन प्रयोग गरे। भलै उनका केही शब्दहरू ‍अश्लील र महिलाद्वेषी थिए।

त्यसै शक्तिशाली ब्याटलमार्फत बालेनले ठूलो प्रभाव पारे। बालेनले डेब्यु ब्याटलमै यम बुद्धदेखि लाखौँ दर्शकहरूको मन जिते। त्यसै बखत हो, बालेनले आफूलाई इन्जिनियर भनेर चिनाएका थिए। उक्त ब्याटलमा बालेनले हानेको एक र्‍यापको हरफ अहिले निकै भाइरल भइरहेको छ। जहाँ लिटल ग्रिजललाई पेल्दै बालेन भन्छन्:

तेरो अनुहार गोलभेडाको, हेर्दै थिच्न मन लाग्छ
तँ लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ
दुईचार दिन पर्खी कान्छा
तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ

उतिबेला अञ्जानमै बालेनले लेखेको त्यो र्‍यापले भनेजस्तै भयो। एक दशक नबित्दै बालेन निकै चर्चित व्यक्ति बने। २०७९ को स्थानीय तहको चुनावमा अस्वाभाविक सफलता हात पारे। र्‍यापरबाट उनी एकाएक देशकै राजधानी काठमाडौँ महानगरको मेयर बने। स्वतन्त्रबाटै चुनाव लडेका उनले स्थापित दलका उम्मेदवारलाई हराए।

त्यसपछि बालेनको चर्चा झनै चुलियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा छाए। त्यसपछि त उनले कहिल्यै फर्किएर हेर्नुपरेन। उनको राजनीतिक रफ्तार द्रुत गतिमा बढ्यो।

२०८२ सालको भदौमा नेपालमा जेनजी आन्दोलन भयो। जुनबेला मेयर बालेन युवाहरूको आशाको केन्द्र बने। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उनलाई प्रधानमन्त्रीको अफर आएको थियो। तर, बालेनले चुनावबाटै सांसद बन्ने निधो गरे। प्रधानमन्त्री बन्ने सर्तमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले चुनाव लडे। त्यो पनि पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीको किल्लाबाट। झापा-५ बाट ओलीसँग ब्याटल खेलेका बालेन भारी मत ल्याउँदै सांसद बनेका छन्। र, बालेन चाँडै प्रधानमन्त्री बन्दैछन्।

गीतमार्फत पोख्थे सामाजिक र राजनीतिक पीडा
बालेनको यो राजनीतिक छलाङ चमत्कारभन्दा कम लाग्दैन। तर, राजनीतिमा उनको उदय कुनै संयोग भने थिएन। बरु यो त दशकौँदेखि नेपाली हिपहप (नेपहप) को अन्डरग्राउन्ड र्‍यापमा उनले पोखेको आक्रोश, समाजलाई हेर्ने दृष्टिकोण र शब्दहरूमा उनले भरेको विद्रोहको परिणाम थियो। उनका अधिकांश गीतहरूमा राजनीतिक आक्रोश र विद्रोह भेटिन्छ।

काठमाडौँको नरदेवीमा जन्मेका बालेन सानैदेखि कविता लेख्न रुचाउँथे। कलेज पढ्न थालेसँगै समाजमा देखेका कुराहरूलाई र्‍यापको लयमा बुन्न थाले। सन् २०१२ मा पहिलोपटक ‘सडक बालक’ शीर्षकको र्‍याप ल्याएका थिए। जुन उनले गाएको पहिलो आधिकारिक रिलिज गीत हो। गीतमा सडकमा बस्ने बालबालिकाको संघर्ष र भोगाइलाई समेटिएको छ। जसको शब्द समेत बालेन स्वयमले लेखेका थिए।

त्यसपछि प्रेमिल गीत ‘अतीतका सम्झना’ गाएका बालेनले प्रहरीकै विरुद्धमा ‘प्रहरी प्रतिकार’ ल्याए। त्यतिबेला काठमाडौँमा अपराध र गुन्डागर्दी नियन्त्रण गर्न प्रहरीले लामो कपाल पाल्नेहरूलाई समातेर कपाल काटिदिन्थ्यो। जसको प्रतिकारमा २४ वर्षीय बालेनले आफ्नो र्‍यापमार्फत प्रहरी प्रशासनमाथि नै तिखो प्रहार गरे।

म नेपाल प्रहरी
जनतालाई ठोक्छु म
बाटो बाटो हिँड्छु म
मान्छेलाई टोक्छु म
म नेपाल प्रहरी, जनतालाई ढाँट्छु म
गर्न केही आउँदैन, कपाल काट्छु म
नेपाली प्रहरी अब कपालको सेवामा

प्रहरीको खुलेरै विरोध गरेका उनले सामाजिक यथार्थ र राजनीतिक आक्रोश समेट्दै गीतहरू ल्याउन थाले। तिमी फूल, तथ्य जस्ता र्‍याप ल्याएका उनले ‘आम नेपाली बुवा’ मार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाए। यो गीतमा उनले राजनीतिक बेथिति, भ्रष्टाचार र जनताको सास्तीबारे आवाज उठाएका थिए।

यसैवर्ष बालेननिकट अर्जुन घिमिरे (पाँडे) ले ‘झरीपछिको इन्द्रेणी’ फिल्म बनाए। जुन फिल्मको लागि बालेनले आफ्नो १३ वर्ष पुरानो गीत प्रयोग गरे। यस फिल्ममा सरकारी तहमा हुने भ्रष्टाचारसँगै अहिलेका युवाको कथा पनि समेटिएको छ। यो फिल्म बालेनकै चुनावलाई सघाउन बनाइएको थियो। किनकि हलमा लागेको २ महिनामै यो फिल्म चुनावकै मुखमा युट्युबमा ल्याइयो।

यस्तै, विद्रोही गीतबाट नै यम बुद्धले बालेनलाई नोटिस गरेका थिए। र, आफ्नो ‘रअबार्ज’ बाट डेब्यु गराएका थिए। जसले बालेनलाई सामाजिक मुद्दामा बोल्ने अभियन्ताको रूपमा उभ्याइदियो।

एक अन्तर्वार्तामा बालेनले भनेका छन्,‘मलाई सानैदेखि समाजमा देखेका विकृतिहरू विरुद्ध बोल्न मन लाग्थ्यो। र्‍याप एउटा यस्तो माध्यम बन्यो, जहाँ म बिनाकुनै सेन्सरसिप आफ्ना कुराहरू राख्न सक्थेँ। संगीत मेरो लागि मनोरञ्जनभन्दा बढी जिम्मेवारी थियो।’

बालेनले कहिले फूलमती गीतमार्फत मनपर्ने मायालुलाई फकाए। कहिले २०१४ को ‘टी२० वर्ल्डकप’ मा आयो महाकाली भन्दै नेपाली खेलाडीहरूको हौसला बढाए। गीतका शब्दहरूमार्फत आफ्नो राजनीतिक भविष्यको खाका कोरेका थिए उनले।

२०७१ सालतिर नेपालमा संविधान निर्माणको लागि दबाब दिने अभियान चलेको थियो। त्यसमा बालेन पनि सहभागी भए र र्‍यापमार्फत विरोध जनाउँथे। संविधान बनाउन नसकेपछि पहिलो संविधानसभा भंग भएको थियो र दोस्रो संविधानसभाले पनि बनाउन सक्छ कि सक्दैन भन्ने अन्योल थियो।

‘संविधानका लागि हामी’ अभियान चलिरहँदा बालेनले सन् २०१५ मा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत सार्वजनिक गरेका थिए। जुन गीत चुनावताका पनि निकै चर्चित बनेको थियो। यस गीतमा एक नागरिकको राजनीतिक पीडा लुकेको छ। उनले र्‍यापमार्फत राज्यसत्तालाई एउटा गम्भीर राजनीतिक प्रश्न गरेका छन्: के राज्य साँच्चै नागरिकका लागि हो?

त्यस्तै, यस र्‍यापमा उनले सीमा सुरक्षा र राष्ट्रवादको कुरा उठाएका थिए। त्यो भाव मेयर हुँदा पनि उनले झल्काएका थिए। भारतको अखण्ड भारत नक्साको विरोधमा उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए। त्यो गीतलाई गतवर्ष रिलिज भएको फिल्म ‘लाज शरणम्’ मा समेत राखिएको थियो।

त्यसपछि बालेनले मन यो उड्यो, मार्फाको मदिरा र गोर्खाली तोप लगायतहरू पनि गीत गाए। सन् २०१६ देखि भने केहीवर्ष संगीतमा बालेन अनुपस्थित देखिए। सिभिल इन्जिनियरिङमा स्नातक गरेका बालेन त्यतिबेला स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गर्न भारत गएका थिए।

सन् २०२० ‘बलिदान’ शीर्षकको र्‍यापले निकै चर्चा बटुल्यो। जुन र्‍याप बालेनको क्रान्तिकारी सिर्जना हो। जसले विशेषगरी २०६२/०६३ को जनआन्दोलन र १० वर्षे द्वन्द्वपछिको राजनीतिक अस्थिरता र जनताको वितृष्णाबारे बोल्छ। अझ रोचक त के छ भने यस र्‍यापमा उनले नेताहरूलाई 'चोर' भनेका छन्। र्‍यापको हरफमा भनिएको छ:

देशको रक्षा गर्नेजति सबै चुतिया छन्
नेताजति सबै चोर, देश लुटी खाछन्
नाङ्रेस, नेमाले, नाउबादी
सबै मिली घुमी देश खाऊँ बाँडी हामी

सहिदहरूको बलिदानलाई  बिर्सेर भएको कुर्सीको खेलप्रति बालेनले यस गीतमा आक्रोश पोखेका छन्। सहिदको रगतमाथि टेकेर गरिने राजनीति कहिल्यै सफल हुँदैन भन्दै उनले नेताहरूलाई चेतावनी दिएका थिए। यो गीत मेयर बन्दा बालेनले आफ्नो चुनावी प्रचारप्रसारमा समेत प्रयोग गरेका थिए। सुरज सिंह ठकुरीको ‘इट्स माइ शो’ पुगेर लाइभ प्रस्तुति पनि दिएका थिए।

त्यो प्रस्तुतिमार्फत बालेनले युवाहरूमा विद्रोह भरिदिए। एकैपटक युवाहरूको जमात आफ्नो पक्षमा ल्याउन सफल भए। त्यसबेला यस गीतले निकै लोकप्रियता कमाएको थियो। यतिसम्म कि, उनलाई मन पराउनेले यस र्‍यापमा टिकटक र रिल्स बनाउँदै बालेनलाई समर्थन जनाएका थिए। युट्युबमा पनि गीतलाई एक करोड बढी पटक हेरिएको छ।

बालेनले हालसम्म दुई दर्जन गीतमा स्वर दिएका छन्। तर, उनका तिनै सामाजिक र राजनीतिक विद्रोहका गीत नै बालेनको चुनावी एजेन्डाको बलियो माध्यम बने, म नेपाल हाँसेको हेर्न चाहन्छु होस् वा मलाई बोल्न दे सरकार।

जेनजी आन्दोलनदेखि चुनावसम्मै यी गीतहरू टिकटकदेखि सामाजिक सञ्जालमा छाए। जसले एकैपटक बालेनलाई चाहनेहरूको भिड ह्वात्तै बढ्यो। र, बालेनलाई प्रधानमन्त्री देख्न चाहनाबीच रास्वपाको पक्षमा भोटको ओइरो आयो। बालेन मात्रै होइन, बालेननिकट निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को गीतले पनि ठूलो योगदान खेल्यो। २ वर्षअघि रिलिज भएको फिल्ममा समावेश ‘लेखौँ भविष्य’ बालेनको चुनावी नारा नै बन्यो। जयन जे वाइबाको शब्द, संगीत र स्वर रहेको गीतले भन्छ:

लेखौँ भविष्य आफ्नो आफैँ नै
अरू कोही आई बनाउँदैन यो देश
जङ्घार तरेर चाल्नु छ पाइला नथाक है
अहिले बदल्नु छ परिवेश
बल्नेछौँ रातमा राँको बनेर
चिच्याई डाकमा डाँको छोडेर
उठ्नेछ देश उदाउनेछौँ हामी
यो भत्केको घरलाई उठाउनु छ माथि

गीतमा भनिएझैँ यसपटकको चुनावमा युवाहरूले विद्रोह गरे। र, बालेनको हातमा देशको भविष्य त सुम्पिसके। तर, प्रधानमन्त्री बनेर बालेनले भत्केको देशलाई माथि उठाऊलान् त? त्यो भने बिस्तारै थाहा हुँदै जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad