कला


सकियो ‘दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’, यी फिल्मले जिते अवार्ड

सकियो ‘दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’, यी फिल्मले जिते अवार्ड

नेपालखबर
फागुन १३, २०८२ बुधबार १७:४, काठमाडौँ

मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा ‘दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न भएको छ। ‘स्टोरिज् बियोन्ड बोर्डस: ह्वेय कल्चर मिट्स सिनेमा’  भन्ने नारासहित फागुन ८ गतेदेखि सुरु भएको महोत्सव फागुन ११ गते सकिएको हो।

संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र देखाइएको थियो। 
महोत्सवको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत तथा सम्मान गरिएको छ।

अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स–रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक चलचित्र घोषित भएको छ भने शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रिम्स’ उत्कृष्ट फिचर चलचित्र बनेको छ। त्यसैगरी रोस्ताम नजरिको ‘साइद क्यापिलो’ उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको ‘हमार रामलिला’ उत्कृष्ट फिचर वृत्तचित्र र बार्तोज जार्जिकीको ‘फियर/स्टार्च’ ले उत्कृष्ट एनिमेसन अवार्ड जिते। 

विद्यार्थी प्यानोरामा ‘भ्चाइसेस् अफ टुमोरो’ अन्तर्गत काथ्रिन एलिस कोभालेन्कोको ‘बिल्ट अन होप’ उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिचको ‘क्याट्स’ उत्कृष्ट कथानक चलचित्र घोषित भए । क्षेत्रीय प्यानोरामामा विप्लव विश्वासको ‘सकार बकार (रिभर रेड)’  उत्कृष्ट लघु चलचित्र बनेको छ भने नेपाली प्यानोरामामा निर्मल पौडेलको ‘निलो आकाश’ उत्कृष्ट लघु कथानक तथा श्रीजन राज पाण्डेको ‘मित्क्पा’ उत्कृष्ट वृत्तचित्र घोषित भए। 

दोस्रो संस्करणको महोत्सवका संयोजक तथा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे। उनका अनुसार यसले जनकपुरलाई सांस्कृतिक तथा ऐतिहासिक सहरका रूपमा विश्व समुदायसमक्ष चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ। उनले विदेशी चलचित्रकर्मीहरूलाई जनकपुरमा चलचित्र छायांकन गर्न निम्तो दिँदै यहाँको मौलिकता र धार्मिक महत्वलाई विश्व बजारमा पुर्‍याउन आग्रह गरे।

भास्करले राष्ट्रिय चलचित्र निर्माताहरूलाई पनि ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदामा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न आह्वान गर्दै सिनेमा नयाँ पुस्तालाई इतिहाससँग जोड्ने प्रभावकारी माध्यम भएको बताए। 

महोत्सव अवधिभर चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया र चलचित्र पर्यटनसम्बन्धी छलफल सत्रहरू सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad