चलचित्र विकास बोर्डले माघमा रिलिज भएका फिल्महरूको कमाइ सार्वजनिक गरेको छ। बोर्डले माघ १७ गतेसम्मको व्यापारको आँकडा बाहिर ल्याएको हो।
बोर्डका अनुसार ‘गोबर गणेश’ले एक करोड ३६ लाख २० हजार ८६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। जुन अवधिभर फिल्मका ४८ हजार ५३ वटा टिकट बिक्री भएका छन्। मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) डेब्यु निर्देशनमा बनेको यस फिल्मले अरु फिल्मको दाजोमा राम्रो व्यापार गरेको देखिन्छ।
त्यस्तै, माघ १ गतेबाटै रिलिज भएको ‘भाइरल गोर्खे’ ले ३६ लाख १० हजार ९२५ रुपैयाँ कमाएको छ। यस फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। यस फिल्मले खासै दर्शक तान्न सकेन।
त्यस्तै, माघ १ मै रिलिज भएको ‘मिरमिरे’ पनि बक्सअफिसमा कमजोर देखिएको छ। दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङलेखको मुख्य भूमिका रहेको फिल्मले शनिबारसम्म ३३ लाख ९३ हजार ७२५ रुपैयाँ कमाइ गरेको छ।
त्यस्तै, माघ ९ गतेबाट रिलिज भएको सुशिल श्रेष्ठ स्टारर एक्सन फिल्म ‘परिवर्तन’ खासै राम्रो व्यापार गर्न सकेन। यस फिल्मले ३१ लाख ९ हजार ग्रस कमाएको छ। यस फिल्मका ११ हजार ६ टिकट बिक्री भएका छन्।
Shares

प्रतिक्रिया