सेफ सन्तोष शाहको जीवनमा आधारित फिल्म ‘द टेस्ट अफ सल्ट’ प्रतिष्ठत फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाले) को ‘को-प्रोडक्सन’ मार्केटमा छनोट भएको छ। ४०० आवेदनबाट छानिएको उत्कृष्ट १९ फिल्मतर्फ ‘अफिसियल फिचर प्रोजेक्ट’मा यो फिल्म छानिएको हो।
आगामी फेब्रुअरीमा आयोजना हुने बर्लिनालेको ७६औँ संस्करणमा सहभागी हुने ६०० भन्दा बढी प्रोजेक्ट, विभिन्न देशबाट आउने अन्तर्राष्ट्रिय निर्माता, वितरक, सेल्स एजेन्ट र लगानीकर्ता माझ निर्देशक दीपक रौनियारले यो फिल्मलाई प्रस्तुत गर्नेछन्।
निर्माणाधिन यो फिल्ममा सन्तोषको सङ्घर्ष र सफलताको कथा समेटिने निर्देशक रौनियारले जनाए। ‘अहिले विश्वभर आप्रवासन र पहिचानमाथि प्रहार भइरहेको तथा अमेरिका लगायतका देशहरूले भिसामा कडाइ गरिरहेको समयमा मलाई यो कथा भन्नु अत्यावश्यक लागेको हो,’ निर्देशक रौनियारले भने, ‘सन्तोष जसले नेपालमा जन्मेर पनि भारत हुँदै बेलायत पुगेर आफ्नो नाम र करिअर मात्र बनाएनन्, नेपाली खाना र पहिचानलाई विश्वसामु चिनाए, उनको कथामा चलचित्र बनाउनु अहिले निकै सान्दर्भिक छ।’
‘द टेस्ट अफ सल्ट’ साधारण व्यक्तिको सङ्घर्षले ल्याएको ठूलो सफलताको कथा भएको उनले बताए। यो नेपाल-बेलायतको सहकार्यमा बन्ने फिल्म हो।फिल्ममा आप्रवासन, जातीय विभेद् र निर्वासनको विषय समेटिने जनाइएको छ।
सेफ शाहले आफ्नो व्यक्तिगत यात्राले यस किसिमको अन्तर्राष्ट्रिय उचाईं हासिल गर्ला भन्ने नसोचेको प्रतिक्रिया दिए। यो फिल्म आफ्नो जीवन मात्रै नभएर पाककला र त्यससँग जोडिएको संघर्ष उपर बन्ने उनले बताए।
‘नेपालको विद्यालय पाठ्यक्रममा मेरो कथा पढाइँदा म जति गौरवान्वित थिएँ, विश्वप्रख्यात फिल्म फेस्टिभलमा यो छनोट अर्को ठूलो उपलब्धि हो,’ उनले भने।
बर्लिनालेको ‘को-प्रोडक्सन मार्केट’ फिल्म लगानी तथा बिक्रीका लागि विश्वकै प्रमुख थलो मानिन्छ। निर्देशक रौनियारले यसअघि ‘हाइवे’, ‘सेतो सूर्य’ र ‘पूजा, सर’जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
Shares

प्रतिक्रिया