गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरू सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक गरिएको हो।
कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ष्ठ, वरिष्ष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, चर्चित निर्देशक तथा कलाकार दिपाश्री निरौला, पत्रकार ऋषी धमलालगायतले गीत तथा भिडिओ सार्वजनिक गरेका हुन्।
सार्वजनिक गीत मध्ये ‘यो साँझ फेरि’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ। गीतको भिडिओमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायाँकन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय रहेको छ।
यस्तै, दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत रहेको छ। गीतको भिडिओलाई गीतकार बरालले नै निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ। भिडिओमा विक्रम डिसीको छायाँकन र विकाश धमलाको सम्पादन छ।
यस्तै, तेस्रो गीत ‘टेन्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ। नितिन चन्दले निर्देशन गरेको भिडिओमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय रहेको छ। नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडिओमा मनोज केसीको छायाँकन र शुकुन तिमल्सिनाको सम्पादन छ।
कार्यक्रमलाई सम्बोधन गदै गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताएका छन्। ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताए।
आफूले जानेको भनेकै संगीत मात्र भएकोले निरन्तर संगीतकर्ममै सक्रिय रहिरहेको उनको भनाई छ। गायक बरालले आफूलाई विश्वास गरेर उत्कृष्ट सृजनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका श्रष्टा तथा स्रजकहरूप्रति आभार समेत व्यक्त गरेका छन्।
यस्तै, संगीतकार शंकर थापा ‘स्माइल’ले गायक बरालको गायकीको प्रशंसा गरेका थिए। थुप्रै सफल गीतमा संगीत दिएका संगीतकार थापाले बरालको स्वरमा संगीतको माधुर्यता पाइने बताए।
‘यो साँझ फेरि’का सन्दर्भमा कुरा गर्दै उनले गायक बराल र गीतकार गौचनसँगको सहकार्यमा उत्कृष्ट सृजना पस्कने कोसिस गरेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मदनकृष्ण श्रेष्ठले आफूलाई मन पर्ने आवाज मध्येको एक यम बरालको भएको बताए। श्रीमतीलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको भन्दै कलाकार श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए। उनले संगीतकार थापाको सिर्जनाको मुक्त कण्ठले प्रशंसा गर्दै आफूलाई उनको संगीतमा गीत गाउन मन भएको बताए।
Shares

प्रतिक्रिया