कला


यूकेमा भ्लगर भनेर चिनिन्थिन्, फर्केपछि लगातार दयाहाङसँग फिल्म खेलिरहेकी छन् सिर्जना

डेब्युमा सिर्जनाको सर्त : फिल्म त खेल्छु तर दया दाइसँगै
यूकेमा भ्लगर भनेर चिनिन्थिन्, फर्केपछि लगातार दयाहाङसँग फिल्म खेलिरहेकी छन् सिर्जना

लक्ष्मी बलायर
पुस २१, २०८२ सोमबार ९:४०, काठमाडौँ

२०८० को दसैँ मनाउन सिर्जना निङलेखु बेलायतबाट नेपाल फर्किइन्। धेरै वर्षपछि परिवारसँग भेट्न पाउँदा दंग थिइन् सिर्जना। त्यसमाथि ६ महिनाको बसाइ थियो। त्यो अवधिमा धेरै रमाइलो गर्न चाहन्थिन्। उनी घर झापा माइतीघरदेखि तेह्रथुम मामाघरसम्म पुगिन्। तेह्रथुम उनको जन्मस्थान समेत हो।

वर्षौँपछि नेपालको कार्यक्रम होस्ट गरिन्। त्यस्तै, सांस्कृतिक कार्यक्रमको लागि सिक्किमसमेत पुगिन्। सोही वर्षको मंसिर महिनामा एउटा यस्तो अफर आयो, जसले सिर्जनाको जीवनको ग्राफ परिवर्तन गरिदियो।

सिनेमटोग्राफर पुरुषोत्तम प्रधान सिर्जनाको फेसबुक फ्रेन्ड थिए। प्रधानले सिर्जनाका गतिविधि नियालिरहेका थिए। उनैले सिर्जनालाई भेटेर अचानक फिल्म खेल्न प्रस्ताव राखे।

सिर्जनालाई पहिल्यैदेखि अभिनयको चस्का पसिसकेको थियो। त्यसैले त उनी यूके छँदा पनि म्युजिक भिडिओ खेल्थिन्। भिडिओमा देखिन मन पराउने उनी भ्लग समेत बनाउँथिन्।

तर, उनले प्रधानलाई सर्त राखिन्, ‘फिल्म त खेल्छु तर दया दाइ (दयाहाङ राई) को अपोजिटमा देखिन मन छ।’

त्यतिबेला प्रधानले फिल्म र कास्टबारे केही कुरा खुलाएनन्। अर्कोचोटिको भेटमा बल्ल प्रधानले फिल्मको नाम ‘कार्साङ’ रहेको खुलाए। र, मुख्य अभिनेता दयाहाङ राई नै रहेको सुनाए। मनपर्ने अभिनेताको अपोजिटमा देखिने भनेपछि अफर स्वीकार गरेको सुनाउँछिन् सिर्जना।  

‘म पहिल्यैदेखि दयाहाङ राईको फ्यान थिएँ। उहाँसँगै डेब्यु गर्ने धोको थियो, नत्र त के गर्नु भन्ने हुन्थ्यो। उहाँको नाम सुन्नेबित्तिकै स्क्रिप्ट नहेरि ओके भनेँ,’ उनले भनिन्।

यम शेर्पाको निर्देशन रहेको फिल्म ‘कार्साङ’ शेर्पा समुदायको कथामा आधारित थियो। स्क्रिन टेस्ट गरेसँगै सिर्जना फिल्मको तयारीमा लागिन्। शेर्पा लवज सिक्न उनी सुटिङ थलो सिन्धुपाल्चोक पुगिन्। र, महिनौँ वर्कसपमा बसिन्।

हुन त पहिल्यैदेखि दयाहाङसँग चिनजान थियो। तर, स्क्रिन सेयर गर्दा सुरुमा निकै नर्भस भइन् उनी। आफूले २० टेकसम्म खाएको उनको भनाइ छ। 

भन्छिन्, ‘सुरुमा त निकै डर लाग्यो। मैले बिगार्दा दाइ रिसाउनुहुन्छ भन्ने लाग्दोरहेछ। त्यसैले २० भन्दा बढी टेकसमेत खाएँ। तर, उहाँले सपोर्ट गर्नुभयो। क्यामेराम्यान दाइले पनि सपोर्ट गर्नुभयो। जसले सहज भयो।’

पहिलो पटक आफूलाई ठूलो पर्दामा देख्दा संसार नै जितेझैँ लागेको सिर्जनाको अनुभव छ। ट्रेलर रिलिज भएपछि कयौँपटक आफूलाई हेर्न हलमै गएको उनले सुनाइन्।

‘कार्साङको ट्रेलर रिलिज भएको थियो। त्यो ट्रेलर हेर्नलाई कतिपटक त परिवारलाई लगेर फिल्म हेर्न गएको। एकपटक त ट्रेलर नै छुटेछ। हलर्‍मा पोस्टर हेर्दा ‌ओहो भन्ने लाग्दो रहेछ,’ उनले सुनाइन्।  

डेब्यु फिल्मबाट सिर्जनालाई निकै आशा र उत्साह थियो। तर, गतवर्ष पुस २७ गते रिलिज भएको यो फिल्म चल्न सकेन। सिर्जनालाई पहिलो गाँसमै ढुंगा लागेझैँ भयो। फिल्म नचले पनि सिर्जना भने आफूले निर्वाह गरेको पात्रप्रति खुसी छिन्।

‘मैले जुन क्यारेक्टर पाएँ, त्यसबाट म निकै खुसी छु। किनकि त्यो मैले गर्न चाहेको क्यारेक्टर थियो। म सिर्जना नदेखिएर अरु क्यारेक्ट देखिनु मेरो लागि उपलब्धि हो,’ उनले भनिन्, ‘कथावस्तु राम्रो थियो तर हलमा चलेन। फिल्म चल्नु वा नचल्नु र मलाई धेरैले चिन्नु वा नचिन्नुमा सरोकार लाग्दैन। मैले काम गर्न पाउनु नै सफलता हो।’

‘मिरमिरे’मा पनि दयाहाङसँगै
‘कार्साङ’को त्यो जोडी पर्दामा दोहोरिएको छ। माघ १ गतेबाट रिलिज हुने ‘मिरमिरे’मा सिर्जना फेरि दयाहाङसँगै देखिएकी छिन्। पहिले सहकार्य गरेकाले फिल्मको लागि अफर आएको सुनाउँछिन् उनी। 

‘कार्साङकै बेला यमजीले दया दाइलाई सोचेर स्क्रिप्ट लेखिरहेको सेयर गर्नुभएको थियो। सिर्जना पनि हुनसक्छ भन्दा म आशावादी थिएँ। पछि स्क्रिप्ट सुनाउँदा तिमी पनि गर्न सक्छौ भन्नुभयो। त्यसरी नै म मिरमिरेमा जोडिएँ। प्रकाश सपुतबाहेक धेरैजना दोहोरिनुभएको छ। जसले गर्दा काम गर्न सहज भयो,’ उनले भनिन्।

सिर्जनाका अनुसार टाइटलजस्तै फिल्ममा मिरमिरेको न्यानो प्रेम र स्नेह छ। बाबुछोरीको प्रेमलाई मिठो तरिकाले देखाएको छ। त्यस्तै, आमा नहुँदाको अभाव समेत फिल्मभित्र छ। फिल्ममा उनी सरकारी स्कुलमा कार्यरत शिक्षिकाको भूमिकामा देखिएकी छिन्। भावनात्मक कथा प्रस्तुत गरेको बताउँदै फिल्मसँग दर्शक कनेक्ट हुने उनको भनाइ छ।

हुन त सिर्जनाका लागि ‘मिरमिरे’ बक्सअफिसमा चल्नुपर्ने प्रेसर छ। तर, सिर्जना भने खासै तनाव लिने मुडमा छैनन्।

‘म फिल्म चल्नुपर्ने प्रेसर चाहिँ लिन्नँ। चले हुन्थ्यो भन्ने त हो। तर, आशा धेरै राख्दा पूरा भएन भने दु:खी भइन्छ। यमजीले पहिलो अनुभवबाट धेरै कुरा सिकेर यो कथा लेख्नुभएको छ। दर्शकले अवश्य मन पराउनु हुन्छ,’ सिर्जनाले भनिन्, ‘तर यसको नतिजाले केही प्रभाव पार्दैन। म फिल्ममा एकदम परिपक्क हुँदा आएँ। मानसिक रूपमा पनि। दश वर्षअगाडि आएको भए म सफलताले मातिन्थेँ होला, आफूलाई स्टार सोच्थेँ होला। अहिले त धेरै पैसा कमाए पनि वा असफल भए पनि म म नै हो जस्तो लाग्छ। त्यसले पर्सनल लाइफलाई हल्लाउन सक्दैन।’

बेलायत उडेसँगै अधुरो रह्यो फिल्म खेल्ने रहर
झापामा हुर्केकी सिर्जनालाई सानैदेखि अभिनयप्रति लगाव थियो। त्यो बेला रेडियोको जमाना थियो। रेडियोमा बोल्न पाए हुन्थ्यो भन्दै कल्पिन्थिन्। पछि ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको जमाना आयो। टीभी हेर्न थालेपछि ऐना हेर्दै अभिनय गर्थिन्। साथै सांस्कृतिक कार्यक्रममा समेत भाग लिन्थिन्।

एसएलसी पास भएसँगै व्यवस्थापन संकायमा भर्ना भइन्। अनि सुरु गरिन् रेडियोबाट आफ्नो करिअर। त्यसपछि टेलिभिजनमा भीजे, स्टेजमा होस्ट गर्न थालिन्। वाक्‍कलामा पोख्त उनलाई म्युजिक भिडिओबाट अफर आउन थाल्यो। सुरुमा उनले लिम्बू संस्कृतिमा आधारित सर्ट फिल्म ‘द थ्री डेज’ मा खेलेकी थिइन्। तर, त्यो सर्ट फिल्म रिलिज भएन।

थुप्रै लिम्बू तथा पूर्वमा बनेका गीतर्‍मा देखिइसकेकी उनले धेरैबाट प्रशंसा बटुलिन्। केहीले अझै राम्रो काम गर्न सक्छौ भन्दै अभिनय सिक्न सुझाए। त्यसपछि सिर्जना अभिनय सिक्न काठमाडौँ आइन्।

त्यतिखेर थिएटरको क्रेज बढ्दै थियो। काठमाडौँ आएर उनले अनुप बरालको एक्टर स्टुडियोबाट अभिनय सिक्न थालिन्। सिर्जना १८ औं ब्याचकी विद्यार्थी हुन्। ६ महिनाको कोर्समा उनले आफ्नो टिमले बनाएका नाटक खेलिन्। साथै एकदुई वटा प्रोजेक्टमा काम गरिन्। तर, नाटक सिकेपछि आफूमा धेरै कमजोरी रहेछ भन्ने महसुस गरेको उनको भनाइ छ।

त्यतिखेर मूलधारका सिनेमामा समुदायका कथार्‍ आएका थिएनन्। उनलाई अहिले यो फेस बिक्दैन भन्ने लाग्यो। आफूमा आत्मविश्वास नभएपछि उनी झापातिरै फर्किइन्। त्यसपछि बेलायती लाहुरेसँग बिहे भयो। र, उनी श्रीमानसँगै यूके उडिन्।

‘त्यतिबेला मेरो श्रीमानले नै कलाकारिता गर भन्नुभएको थियो। तर, पहिले सिनेमामा हाम्रो समुदायका कथा आएका थिएनन्। त्यसैले म खासै कन्फिडेन्ट थिइनँ। परिवारलाई प्राथमिकता दिँदै म यूके नै बसेँ,’ उनले भनिन्।

नेपाल छँदा काम गरिराखेकी सिर्जना यूके गएपछि पनि त्यत्तिकै बस्न सकिनन्। उनले बुटिक व्यवसाय थालिन्। अभिनयको भोक मेटाउन वर्षमा १/२ म्युजिक भिडिओ पनि गरिरहिन्। भ्लग बनाउन थालिन्। उनका अर्ग्यानिक भिडिओलाई दर्शकर्‍ले पनि मन पराउन थाले। नाम र दाम दुवै भएपछि उनले भ्लगिङलाई निरन्तरता दिइन्। धेरैले त सिर्जनालाई आज पनि भ्लगरको रूपमा चिन्छन्। 

‘जारी’बाट आएको थियो अफर
दाइ पर्ने भएकाले निर्देशक तथा लेखक उपेन्द्र सुब्बासँग सिर्जनाको चिनजान थियो। ‘जारी’ बनाउनुअघि उपेन्द्र यूके गएका थिए। त्यसैबेला उनले सिर्जनालाई स्क्रिप्ट सुनाउँदै फिल्मको अफर गरेका थिए। तर, त्यतिबेला बुटिक सञ्चालन गरिरहेकी सिर्जनाले व्यवसायलाई नै ध्यानमा राखिन्।

२०८० सालमा रिलिज भएको ‘जारी’ले १७ करोड बढी कमाइ गरेको थियो। जहाँ सिर्जनाको सट्टा फिल्ममा मिरुना मगर देखिन्। फिल्मको पाएको सफलताले पछुतोभन्दा पनि गर्व महसुस भएको उनले सुनाइन्।

‘यो फिल्म त्यसरी हिट होला भन्ने मैले सोचेको पनि थिइनँ। किनभने हाम्रो समुदायको कथा कर्मसियल्ली हिट हुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ। नखेलेको भन्दा पनि हाम्रो कथा आयो भनेर प्राउड फिल भएको थियो,’ उनले भनिन्, ‘फिल्म हेर्दा मिरुनाले जुन हाङ्माको क्यारेक्टर गरेको छ, त्यहाँ त म हुन्थेँ होला, कस्तो गर्थेँ होला भन्ने चाहिँ लाग्दोरहेछ। तर, मिरुनाले यस्तो राम्रो गरेकी थिइन् कि उनीभन्दा राम्रो गर्छु भन्ने दिमागमा आएन।’

‘जारी २’ मा भने सिर्जना सहायक भूमिकामा देखिएकी छिन्। अन्तिममा आफू जोडिएको बताउँदै लिड र साइड रोलले आफूलाई फरक नपार्ने उनको भनाइ छ। विजय बरालको जोडीको रूपमा देखिएकी उनले निकै राम्रो प्रतिक्रिया पाएको सुनाइन्।

सिर्जनालाई आगामी दिनमा चुनौतीपूर्ण कथामा काम गर्न मन छ। विशेषगरी, उनलाई पीडित महिलार्‍ र उनीर्‍ले भोग्नुपरेका कथालाई पर्दामा ल्याउने इच्छा छ। दुई वर्षदेखि नेपालमै रहेकी सिर्जनाले काम पाउञ्जेल कलाकारितामै लाग्ने सुनाइन्।

‘म परिवार र करिअरलाई सँगसँगै लान्छु। काम गर्दा काममा फोकस र परिवारसँग हुँदा परिवारमै। काम आउन्जेलसम्म म कलाकारितामै काम गर्छु,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad