फिल्म ‘परान’ निर्माण घोषणादेखि नै चर्चामा थियो। एक त चर्चित उद्योगपति शेखर गोल्छाको लगानी। अर्कोतर्फ चर्चित टेलिसिरियल ‘सक्किगोनी’ का कलाकार दीपक आर्चाय (काकु)को डेब्यु निर्देशन। त्यसकारण यो फिल्म सिनेवृत्तदेखि दर्शकहरूका लागि पनि बहुप्रतीक्षित थियो।
सोही फिल्म ‘परान’ यतिखेर क्यूएफएक्स लगायतका हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्म हेरेर दर्शकहरू भक्कानिँदै रोइरहेको भिडिओ पनि सामाजिक सञ्जालमा छाइरहेका छन्। आखिर दर्शकहरूलाई रुवाउने ‘परान’ कस्तो छ त?
फिल्म ‘परान’भित्र एक संवाद छ। जहाँ मुख्य पात्र नीर शाह भन्छन्: 'पहिलापहिला बाआमा मरेपछि छोराछोरी टुहुरा हुन्छ भन्थे, अहिले छोराछोरी बढेपछि बाआमा टुहुरा हुँदा रहेछन्।'
यो एउटा संवाद मात्रै होइन, कथाको मुख्य सार पनि हो। किनकि यसै संवादवरिपरि फिल्मको कथा घुमेको छ। जसमा नेपालको वर्तमान समाज र परिवेश झल्किन्छ।
देशमा रोजगारीको अवसर छैनन्। भविष्यको चिन्ता गर्दै कोही युवा सहर परेका छन् त कोही विदेश। जसकारण उनीहरू बुवाआमाको बुढेसकालको टेको बन्न सकिरहेका छैनन्। सन्तान टाढा हुँदा बखत आमाबुवाको भावना र मनस्थितिमा केन्द्रित छ फिल्म ‘परान’।
अब लागौँ, फिल्मको कथावस्तुतिर। फिल्मको कथा बुवाको नजरबाट बुनिएको छ। धरानको एक गाउँ, जहाँ धर्मनाथ (नीर शाह) बस्दै आएका छन्। तुलसीको मोठको पूजा गर्दै र शंङ्ख फुक्दै उनको दैनिकी सुरू हुन्छ।
धर्मनाथका जेठा छोरा (सुब्रत आचार्य) अस्ट्रेलियामा हुन्छन्। माइला (प्रवीण खतिवडा) काठमाडौंमा र कान्छा छोरा गोपालनाथ (महेश त्रिपाठी) भने गाउँमा कुखुरा पालन गरेर धर्मनाथसँगै बस्छन्। दुइ छोरासँग गाउँ छोडेर गएकोमा धर्मनाथ असन्तुष्ट सुनिन्छन्। तर, कान्छासँग निकै खुसी हुन्छ। जसलाई उनी परान मान्छन्। अनि बिसन्चो हुँदाको ओखती पनि। र, गाउँलेलाई त्यही कान्छा छोराको धाक लगाउँदै हिँड्छन्।
तर, एकदिन तिनै कान्छा छोरालाई अमेरिकाको डीभी पर्छ। कान्छालाई वृद्ध बुवाआमा छाड्न मन छैन। तर, श्रीमती (अञ्जना बराइली) को रहर अनि करसामु उनी घुँडा टेक्न बाध्य हुन्छन्। सुनौलो भविष्यको सपनामा अमेरिका उड्छन्।
बुढेसकालको सहारा मानेका तिनै छोरा विदेश गएपछि धर्मनाथको अवस्था के होला? त्यसको लागि भने फिल्म नै हेर्नुपर्छ।
समसामयिक नेपाली समाज देखाउने ‘परान’को कथा सरल छ। जुन आम नेपालीसँग रिलेट हुन्छ। सरल कथालाई पनि निर्देशक आचार्यले मसिनो तरिकाले बुन्न सफल भएका छन्। विदेशमोहदेखि बुढेसकालमा सन्तान टाढा हुँदाको मनस्थितिलाई उनले सर्लक्कै पर्दामा उतारेका छन्।
संवाद यस फिल्मको अर्को बलियो पक्ष हो। फिल्ममा समावेश मन छुने संवादले कथामा प्राण भर्ने काम गरेको छ। छोरो विदेश जाने तयारीमा हुँदा धर्मनाथ भन्छन्, ‘भनेको मात्रै बुझ्ने भएकोले त छोरा, नभनी बुझ्ने भए त बा भइहाल्थ्यो नि।’ त्यस्तै, आमाको भूमिकामा देखिएकी पूजा चन्दको अर्को संवाद छ: ‘परान परान भन्नुभो, पर नजा भन्नु भएन नि।’
यी संवादहरूले दर्शकको मुटु कटक्क बनाइदिन्छ। निर्देशक आचार्यको कथालाई यम थापाले संवादमा मजाले प्रस्तुत गरेका छन्।
यस फिल्ममा कसैलाई पनि दोष लगाइएको छैन। बुवाआमा र छोराबुहारी सबै आ-आफ्नो ठाउँबाट सही छन्। दोषी छ त केवल समय र परिस्थिति। एउटा परिवारभित्रको जटिलताको कथा सरल तरिकाले भन्न सक्नु अर्को सशक्त पक्ष हो। फिल्मको कतिपय दृश्यमा बिम्बको प्रयोगले मिठास थपेको छ। हास्य टेलिसिरियलमा काम गर्दै आएका आचार्यले पहिलो फिल्मबाटै सम्भावना देखाएका छन्।
धर्मनाथको भूमिकामा नीर शाह फिट देखिएका छन्। उनको अभिनय र दर्शकलाई कथासँगै बाँधिराख्छ। छोटो भूमिका भए पनि मदनकृष्ण श्रेष्ठको अभिनय बलियो छ। फरक भूमिकामा देखिएका बुद्धि तामाङको उपस्थितिले संवेदना थपेको छ। पूजा चन्द, सुब्रत आर्चाय, प्रवीण खतिवडा, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली पनि आफ्नो भूमिकामा सुहाएका छन्।
तर, राम्रो हुँदाहुँदै पनि केही ठाउँमा निर्देशक नराम्ररी चुकेका छन्। कथाको गति सुस्त छ। पुरानै ढर्राको प्रस्तुतीकरणले फिल्म हेर्दा टेलिसिरियल हेरेझैँ लाग्छ। कतिपय दृश्यहरू दोहोरिएका छन्। जसले सिनेमा हेरिरहँदा दर्शकलाई ‘मोनोटोनस’ हुन सक्छ। केही दृश्यहरूमा कैँची चलाएको भए फिल्म कसिलो बन्न सक्थ्यो। त्यस्तै, फिल्मको सुरूमै गीत राखिएको पनि सुहाएको छैन।
गाउँदेखि सुरू भएको ‘परान’को सेटिङ सहरसम्म पुग्छ। जहाँ श्रीमतीसँगै धर्मनाथ पनि पुग्छन्। अन्त्यमा फिल्मले सहरभन्दा गाउँ नै राम्रो भन्ने भाष्य निर्माण गरिदिएको छ। जसले अवसर दिने सहरलाई बेवास्ता गरेझैँ लाग्न सक्छ।
तथापि, ‘परान’ बुवासँगको भावनात्मक सम्बन्धलाई देखाउन सफल छ। जसले फिल्म हेरेपछि छोराछोरी एकपटक आफ्ना बुवालाई सम्झिएर आँसु झार्न बाध्य हुन्छन्। पारिवारिक फिल्म हेर्न रुचाउनेलाई ‘परान’ मन पर्न सक्छ।
Shares

प्रतिक्रिया