गैरनाफामूलक संस्था आकार फाउन्डेसनले आज र भोलि पुल्चोक, ललितपुरमा रहेको अलायन्स फ्रान्काइज डी काठमाडौंमा एक विशेष चित्रकला प्रदर्शनी आयोजना गर्दै छ।
अलायन्स फ्रान्काइज डी काठमाडौं यो कार्यक्रमको भेन्यु पार्टनर हो, जसले आफ्नो स्थल निःशुल्क उपलब्ध गराएर यस महत्वपूर्ण उद्देश्यलाई सहयोग गरेको फाउन्डेसनले जनाएको छ।
प्रदर्शनी सबैका लागि निःशुल्क र खुला हुनेछ। हरेक व्यक्तिले सम्मानपूर्वक बाँच्ने अधिकार पाउनुपर्छ भन्ने विश्वास लिएको आकार फाउन्डेशनका कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सीप प्रदर्शन गर्न, आत्मनिर्भर बन्न र समाजमा पूर्ण रूपमा समावेश हुन मद्दत पुर्याउने उद्देश्यले तयार पारिएका छन्।
यो प्रदर्शनीको आयोजनाका निम्ती आकार फाउन्डेशनले एमएडब्लू ग्रुप, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडसँग सहकार्य गरेको छ। साथै, संस्थाको दीर्घकालीन साझेदारी अटीज्मकेयर नेपाल सोसाइटीसँग रहँदै आएको छ। यस वर्ष, आकार फाउन्डेशनले स्पाइनल इन्ज्युरी संघ नेपालसँग समेत सहकार्य गरी स्पाइनल इन्ज्युरी भएका व्यक्तिहरूका लागि कला परियोजना सञ्चालन गरेको छ।
यस प्रदर्शनीको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र सिर्जनशीलतालाई प्रबर्धन गरेर उनीहरूप्रति समाजमा व्याप्त गलत धारणा हटाउनु हो। उनीहरूको कलालाई सार्वजनिक मंचमा प्रदर्शन गरेर फाउन्डेशनले समाजलाई उनीहरूको क्षमतालाई शारीरिक अवस्था हेरेर होइन, उनीहरूको प्रतिभा, सीप र सम्भावनालाई हेरेर मुल्यांकन गर्न प्रेरित गर्न चाहन्छ।
प्रदर्शनीले उनीहरूलाई आत्मविश्वासका साथ आफूलाई अभिव्यक्त गर्ने मञ्च प्रदान गर्नेछ, जसले उनीहरूको आवाज र सिर्जनशीलताले पनि समान अवसर पाउनु पर्छ भन्ने प्रष्ट पार्छ।
यस प्रदर्शनीले अपाङ्गता भएका व्यक्तिहरूलाई ठूलो जनमानस, साझेदार र अवसरहरूसँग जोड्ने पुल बन्ने लक्ष्य राखेको जनाइएको छ।
यसबाट भविष्यमा वृत्तिविकास, सहकार्य र समावेशिताका नयाँ ढोका खुल्ने अपेक्षा छ। त्यस्तै, यो प्रदर्शनीले समाजमा सहानुभूति, समझदारी र विविधता बढाएर एक दयालु र समावेशी समाज निर्माणमा योगदान पुर्याउनेछ।
Shares

प्रतिक्रिया