सन् २०२६ मा हुने ९८ औँ अस्कर अवार्डको लागि नेपालबाट पठाउने फिल्मको नाम बिहीबार घोषणा गरियो। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले एक विज्ञप्ति निकाल्दै अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस गर्यो।
अस्करका लागि नेपालबाट ‘अञ्जिला’ सिफारिस भएपछि छनोट समिति विवादमा तानिएको छ। छनोट समितिको निर्णय त्रुटिपूर्ण रहेको बताउँदै चलचित्रकर्मीहरूले सामाजिक सञ्जालमार्फत चर्को विरोध गरेका हुन्।
समितिका अध्यक्ष विमल पौडेलले जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष अस्करमा प्रतिस्पर्धा गर्नका लागि ‘गुन्यु चोलो: द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए। जसअनुसार दुवै चलचित्रको गहन मूल्यांकन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’ लाई छनोट गरिएको उल्लेख छ।
सुरूवातमा ‘गुन्यो चोलो: द ड्रेस’ की निर्देशक समुन्द्र भट्टले निर्णयको विरोध गरिन्। फिल्म नहेरी यस किसिमको निर्णय लिएको भन्दै उनले समितिको विरोध गरिन्।
उनले केही कारण देखाउँदै फेसबुकमा लेखेकी छिन्, ‘आफैँ फिल्मको मिडिया कोअर्डिनेटर भएर आफैँ निर्णायकमा बस्नु कत्तिको उपयुक्त? कलरिस्ट भएर फिल्मको रङ हेर्ने कि साउन्ड डिजाइन हेर्ने? अमेरिकामा बसेर फिल्म नहेरी कसरी निर्णय दिन सकिन्छ? अचम्मको कुरा त फिल्म हलमा हेरेर निर्णय हुने हो कि कोठाभित्र बसेर, अझै मेरो ल्यापटपमै हेरेर। लाजमर्दो। जुरी प्यानल खास कसले छान्ने हो यो अस्कर कमिटीको?’
समुन्द्रसहित निर्देशक दीपक रौनियारले समेत समितिबारे फेसबुकमा प्रश्न उठाएका छन्। सन् २०२५ मा रिलिज भएको ‘राजागञ्ज’ निर्देशक समेत रहेका उनले नियतवश छनोट समितिले फिल्मकर्मीलाई आवेदनबारे जानकारी नदिई यस किसिमको निर्णय गरेको उनको भनाइ छ।
‘नेपालले अभूतपूर्व समय सामना गरिरहँदा नेपालको अस्कर समितिले भने अञ्जिलालाई एकेडेमी अवार्डमा प्रतिनिधित्त्व गर्न चुपचाप छनोट गरेछ। खासमा समितिले त इमेल, सामाजिक सञ्जाल वा व्यक्तिगत रुपमा फिल्मकर्मीसँग पहुँच बनाउँदै आवेदन खुला गर्ने गर्छ। तर, यो वर्ष न त मैले न मेरो फिल्मको निर्माण टोलीले नै यसबारे थाहा पायो,’ उनले लेखेका छन्।
उनको आरोप जायज थियो। किनकि यसअघि समितिले २० दिनदेखि एक महिनासम्मको अवधि राखेर इमेल, सामाजिक सञ्जाल र समाचारमार्फत आवेदन खुलाउने गरेको थियो। जसमा अक्टोबर १ देखि सेप्टेम्बर ३० सम्म अर्थात् एक वर्षभित्रमा हलमा रिलिज भएका फिल्मले सहभागिता हुन पाउँथे। विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभल पुगेका र सम्भावना बोकेका फिल्मको निर्देशक र निर्मातालाई इमेल समेत जाने गरेको थियो। तर, यसपटक सीमित समय राखेको भन्दै समितिको आवेदन प्रक्रिया पनि शंकास्पद देखिएको उनको आरोप छ।
उनी लेख्छन्, ‘मैले बल्ल थाहा पाएँ, आवेदन भदौ ११ मै खुलाएको रहेछ, त्यो पनि भदौ २० सम्म अन्तिम दर्ता गरिसक्नुपर्ने मितिसहित। त्यो भनेको मात्र ९ दिन हो। मलाई थाहा छैन, आवेदनको खबर कता थियो। तर, यति छोटो समय, त्यसमाथि आवेदनबारे खबर नगर्नु त शंकास्पद देखिन्छ। यसको अर्थ त उनीहरु अरु फिल्मले आवेदन देओस् भन्ने नै चाहँदैन थिए।’
त्यसैगरी, निर्देशक मनोज पण्डितले पनि यस निर्णयको विरोध गरेका छन्। उनले विदेशी भाषी चलचित्र छनोट समिति प्राइभेट कम्पनी हो भन्दै प्रश्न सोधेका छन्।
‘विदेशीभाषी चलचित्र छनोट समिति प्राइभेट कम्पनी हो? अब अस्करका लागि नेपाली चलचित्र छनोट प्रक्रियालाई राष्ट्रिय महत्वको बनाउन विशेष छनोट निकाय बनाएर काम गर्नुपर्छ जसको आधिकारिकता राष्ट्रिय स्तरको हुनुपर्दछ नकि कुनै व्यक्तिको प्राइभेट प्रपर्टी,’ उनले फेसबुकमा उल्लेख गरेका छन्।
यसवर्षको छनोट समितिको अध्यक्ष विमल पौडेल हुन्। त्यसैगरी, मञ्जुकुमार श्रेष्ठ, जीवन पराजुली, लोकेन्द्र पराजुली ‘कपिल’, गौतम धिमाल, र चिरञ्जीवी गुरागाईं सदस्य हुन्। जसमा चलचित्र पत्रकार जीवन पराजुली ‘अञ्जिला’को ‘मिडिया कोअर्डिनेटर’ समेत हुन्। यसरी प्रचारप्रसार गर्ने व्यक्ति नै छनोट समितिमा भएको भन्दै सो निर्णयप्रति नैतिक प्रश्न समेत उठिरहेको छ।
‘गुन्यो चोलो: द ड्रेस’ की निर्देशक भट्टले यो सहित चारवटा कारण देखाउँदै आज प्रेस मिट समेत राखेकी छिन्। ‘अञ्जिला’ को कथा र वस्तु राम्रो भए पनि अन्तर्राष्ट्रियस्तरको प्रतिनिधित्वका लागि आफ्नो फिल्म ‘गुन्यो चोलो’ नै उपयुक्त भएकाले संघसंस्थाले निष्पक्ष छानबिन गर्नुपर्ने उनको माग छ।
यसै फिल्मका अभिनेता नाजिर हुसेनले पनि 'बेइमानीको पनि सीमा हुन्छ नि' भन्दै पत्रकार पराजुलीलाई फेसबुकमार्फत प्रश्न तेर्साएका छन्।
यसअघि छनोट समितिका सदस्य रहेका लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिनाले कमिटीको यस निर्णयमा केही नैतिक प्रश्न उठेको बताए।
‘एउटा कमिटी बनेपछि त्यसको निर्णयलाई हामीले स्वीकार्नुपर्यो। बाहिरी रूपमा त्यो भन्दा यो फिल्म उत्कृष्ट हुन्थ्यो चाहिँ भन्न मिल्यो। तर, अर्को पक्षले दुईतीन वटा चिजहरूमा प्रश्न उठाएको छ। एउटा प्रोजेक्टमा संलग्न भइसकेको मान्छे फेरि समितिमा बसेर त्यही फिल्म सिफारिस गर्दाखेरि अलिकति नैतिक प्रश्न उठेको छ,’ उनी भन्छन्।
सिफारिस गरिएको फिल्म सही गलतभन्दा पनि आवेदनबारे सम्बन्धित फिल्मकर्मीलाई जानकारी नदिनु गलत रहेको उनको भनाइ छ।
‘धेरैजसो फिल्ममेकरले हामीले आवेदनबारे सूचना पाएनौँ भन्नुभएको छ। यहीबीचमा सोसल मिडिया पनि बन्द भएको थियो। त्यो बेलामा सूचना निकाल्दा धेरैलाई थाहा भएन। राम्रो फिल्ममेकर आउन भन्ने उदेश्यले नै त्यो समिति बनाइएको हो। दुई मात्रै फिल्म आउँदा सूचना पुग्यो कि पुगेन? किन अरू फिल्म प्रतिस्पर्धामा आएनन्? भन्ने कुरामा विचार पुर्याएन कि जस्तो लाग्यो। किनकि मेकरहरूले पनि हामीले आवेदन खुलेको थाहा पाएनौँ भन्ने कुरा आइरहेको छ। त्यो चाहिँ अलि गम्भीर कुरा हो कि जस्तो लागिरहेको छ,’ उनी भन्छन्।
पाँचछ वर्ष त्यस समितिमा बसिसकेका तिमल्सिनाले पहिले महिना दिनको लागि आवेदन समय राख्ने गरेको बताए। साथै सम्भावित फिल्ममेकरलाई इमेल समेत पठाएर फिल्म माग्ने गरेको उनको भनाइ छ।
उनी भन्छन्, ‘म पनि समितिमा पाँचछ वर्ष बसेको छु। त्यो बेला कहिल्यै विवाद भएन। हामीले २० दिनदेखि एक महिनाको समय राख्ने गरिएको थियो। साथै सम्भावित फिल्ममेकरलाई इमेल गरेर फिल्म माग्थ्यौँ। फेस्टिभलको प्रोगामरले पनि तिमीहरूको देशबाट फिल्म छ कि छैन् भनेर पठाऊ भन्छ। अन्तर्राष्ट्रिय छनोट समिति भएकाले देशबाट एउटा मात्रै फिल्म पठाउन मिल्छ। आफै प्रतिस्पर्धा गर्न भने अमेरिकाको थिएटरमा ७ दिनसम्म रिलिज भएको हुनुपर्छ।’
Shares

प्रतिक्रिया