नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा सात लाखको पुस्तक बिक्री भएको छ ।
यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा तीनदेखि एक हजार चार सय रुपैयाँसम्मका कृति बिक्री भएका थिए । तीनको महेन्द्र प्रकाशन मालादेखि एक हजार चार सयको प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा एक हजार ३ सय ५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिए।
विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिका समेत गरी करिब चार सय कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ। प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो। विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले अवलोकन गरेको प्रदर्शनीमा करिब १० हजारले अवलोकन गरेका थिए। निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करिब चार लाख बराबरको पुस्तक खरिद गरेको जनाइएको छ ।
नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएको थियो। प्रतिष्ठानको सुरुदेखि वि.सं. २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुटमा उपलब्ध गराइएको थियो।
प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रम र ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्ने गरेको छ।

प्रतिक्रिया