कला


वसुन्धराश्री र मानश्री पुरस्कार यस वर्ष ध्रुवचन्द्र गौतम र सरुभक्तलाई

वसुन्धराश्री र मानश्री पुरस्कार यस वर्ष ध्रुवचन्द्र गौतम र सरुभक्तलाई

नेपालखबर
बैशाख ६, २०७७ शनिबार १४:४,

वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले शनिबार बसेको बैठकले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई वसुन्धराश्री पुरस्कार र अर्का साहित्यकार सरुभक्तलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

‘वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज शनिबार बसेको बैठकले उत्कृष्ट आधुनिक कथा, उपन्यास र नाटकहरुको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ट साहित्यकार श्री डा. ध्रुवचन्द्र गौतमलाई वि.सं. २०७७ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ,’ सो प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

पुरस्कारको साथमा नगद ७५ हजार रुपिंया सहित सम्मानपत्र अर्पण हुनेछ।

‘त्यसै गरी प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले आधुनिक नेपाली कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली साहित्यमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित साहित्यकार श्री सरुभक्तलाई वि.सं. २०७७ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

सो पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुनेछ।

सदस्य सचिव क्षेत्रीका अनुसार पुरस्कार र सम्मानपत्र असोज १३ गते विशेष कार्यक्रमबीच प्रदान गरिनेछ।

साहित्यकार गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेलसरको चोटपटक, अलिखित, निमित्त नायक, एक शहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुबिधा, अग्निदत्तंअग्निदत्त, फूलको आतङ्क, तथाकथित,बाढी, उपसंहार अर्थात चौंथो अन्त्य, मौन, भीमसेन–४ को खोजी र घुर्मी (उपन्यास), आकाश विभाजित छ, देहमुक्त, अवतार विघटन र ज्यागा (संयुक्त उपन्यास), अँध्यारो द्वीपमा, संरक्षक, कथादृष्टि, गौतमका एकाउन्न कथा, गौतमका प्रतिनिधि कथा, जेलिएको र साठी वर्षमा हृदयाघात (कथासंग्रह) र त्यो एउटा कुरा, भष्मासुरको नलिहाड र श्री कृष्णलीला (नाटक) कृतिहरु प्रकाशित छन्।

साहित्यकार सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरु (मुक्तकसंग्रह), बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कविता संग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कापुरुष, कुरुप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्माण्ड, र यामागल (कथासंग्रह), युद्ध, उही ग्यासच्याम्वरभित्र, इतिहासभित्रको इतिहास, शिशिरका अन्तिम दिनहरु, ईथर, एसोधम्मो सनन्तनो, गाउँघरका नाटकहरु, गाउँको कथा यस्तै हुन्छ है, बालबालिकाहरुको नाटक, निमावीय, असमय अमौसम, जस्तो दन्त्यकथा, सिरुमा रानी (नाटकसंग्रह) र पागल बस्ती, समयत्राशदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्ध (उपन्यास) प्रकाशित छन्।

सो प्रतिष्ठानले नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउने साहित्यकारहरुलाई विगत दुई दशकदेखि हरेक वर्ष यी पुरस्कारद्वारा सम्मानित गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .