कला


तीजकै ब्रान्ड बनेका एक से एक कलाकार छायामा पार्दै बजार तताइरहेका यी गीतहरू

तीजकै ब्रान्ड बनेका एक से एक कलाकार छायामा पार्दै बजार तताइरहेका यी गीतहरू

लक्ष्मी बलायर
भदौ ५, २०८२ बिहिबार १७:३८, काठमाडौँ

यस वर्षको हरितालिका तीज भदौ १० गते परेको छ। तीजको मौसम भने मध्य असारदेखि नै सुरु भयो। यसको संकेत तीजलक्षित गीतहरूले गर्छन्।

कलाकारहरूबीच तीजलाई लक्षित गरी गीत ल्याउने होडबाजी नै चल्छ। किनभने, राम्रो नाम र दाम कमाउने अवसर पनि हो यो। तीजको माहोलमा को हाबी हुने भन्ने होडका बीच तीजकै ब्रान्ड बनेका एकसे ‘वरिष्ठ’ एक कलाकारलाई पछि पार्दै यसपालि केही फरक अनुहारको दबदबा चलेको छ।

हुन विगतको तुलनामा यस वर्ष तीज गीत केही कम आएको रेकर्डिङ स्टुडिओ सञ्चालकहरू बताउँछन्। त्यसमाथि अपेक्षा गरिएका गायक-गायिकाका गीत यसपालि खासै चलेका छैनन्। 

यसका बाबजुद केही गीत भने श्रोता-दर्शकले खुब रूचाएका छन्। टिकटकदेखि तीज विशेष कार्यक्रमसम्म घन्किरहेका सीमित गीत छन्। युट्युबमा पनि लोभलाग्दो भ्युज पाएका गीतहरूको सामाजिक सञ्जालमा समेत राम्रो चर्चा छ।

‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत यस वर्ष सर्वाधिक चलेको तीज हो। झण्डै एक महिनाअघि सार्वजनिक यो गीत फिल्म ‘कोशेढुंगा’ का लागि बनेको हो। यस गीतले श्रीमानप्रतिको माया र श्रद्धा व्यक्त गर्छ।

नेत्र अर्यालका शब्द रहेको यस गीतमा खेम सेन्चुरीको हुकलाइन र संगीत छ। गीतमा खेमसँगै समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ। शब्द र स्वर दुवैमा मिठास भएकाले यो गीत टिकटकदेखि दर कार्यक्रमहरूमा छाएको छ।

गीतको भिडिओमा फिल्मकै मुख्य कलाकारहरू सुरक्षा पन्त, नीति शाह र ऋचा शर्मा देखिएका छन्। स्मिती तिमल्सिनाले कोरियोग्राफी गरेका नृत्यका स्टेपहरू भाइरल छन्। टिकटकमा यस गीतमा डेढ लाख भिडिओ बनिसकेका छन् भने युट्युबमा पनि ४९ लाख भ्युज पाइसकेको छ।

विष्णु माझीको गीत नआएसम्म तीजै नआएको मान्ने दर्शकश्रोताका लागि उनले यसपालि ‘म त नराउरी’ बोलको गीत ल्याएकी छन्।

अरूबेला गुमनाम रहने माझीले हरेक वर्ष तीजको बेला मात्रै गीत ल्याउने गर्छिन्। त्यसैले पनि उनको प्रतीक्षा यसैबेला हुन्छ। 

एकसाताअघि विष्णुको ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा ‘म त नराउरी’ गीत सार्वजनिक पनि भयो। यसमा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। निकै आशा गरिए तापनि यसपटक उनको गीत औसतभन्दा माथि रहेन। छोटो समयमै युट्युबमा भने लोभलाग्दो भ्युज पाइसकेको छ। एक सातामा यस गीतलाई ५३ लाख बढीले हेरिसकेका छन्।

विष्णु मात्रै होइन, भरोसा गरिएका अरू गायकगायिकाकै तीजका गीत पनि खासै चलेनन्। प्रकाश सपुतदेखि खुमन अधिकारी, पशुपति शर्मा, रचना रिमाल दर्शकको पहिलो रोजाइमा अटाउन सकेनन्।  

यद्यपि, एलिना चौहानको तीज गीत ‘छोरीको शिर आमा’ यस वर्षको चलेको गीतमा पर्छ। श्रीमानबाट घरेलु हिंसा भोगेकी महिलाको पीडा र वेदना बोल्ने गीत मर्मस्पर्शी छ। जुन गीतमा लाखौं टिकटक बनिसकेका छन्।

प्रेम सापकोटा सोनुको शब्द तथा संगीत रहेको गीतमा हेमन्त शिशिरको संगीत संयोजन छ। गीतको भिडिओमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय छ। भ्युजको आधारमा भने यो गीत सबैभन्दा अगाडि छ। यस गीतलाई युट्युबमा ५८ लाख ८५ हजारपटक हेरिएको छ।

पारि पारि आएका ढाका टोपी लाएका

तिनै होलान् हाम्रा बाबा लिन आएका

गीतका यी हरफ यतिखेर टिकटकभरि छाएका छन्। आफ्ना बुवालाई सम्झिँदै महिलाहरूले टिकटक बनाइरहेका छन्। जुन हरफ दुई साताअघि सार्वजनिक भएको ‘तीजका गीत कस्ता हुन्थे सुन’ को हो।

श्रीकृष्ण बम मल्लको शब्द र संगीत रहेको गीतमा लक्ष्मी मल्लको स्वर छ। रमेश सेन्चुरीले म्युजिक एरेन्ज गरेका छन्। यस गीतले पछिल्ला तीज गीतप्रति व्यंग्य गरेको छ। साथै पुरानो तीजको माहोललाई पनि गीतमा चित्रण गरिएको छ।

गीतको भिडिओमा मिथिला शर्मा, करिश्मा ढकाल, मेलिना शाह, एरिना मल्लको अभिनय छ। टिकटकमा छाएको यस गीतलाई युट्युबमा समेत रुचाइएको छ। हालसम्म गीतलाई ३८ लाख बढीले हेरिसकेका छन्।

त्यसैगरि, ‘आयो तीजकै लहर’ यो वर्षको रुचाइएको अर्को तीज गीत हो। केन्द्र मोसन पिक्चर्समार्फत सार्वजनिक गीतमा मेलिना राईको स्वर सुन्न सकिन्छ। निहारिका लक्ष्मी शाहीको शब्द र तारा प्रकाश लिम्बुको संगीत छ।

राजीव समीरले कोरियोग्राफी गरेको गीतको भिडिओमा प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय तथा नृत्य रहेको छ। गीतको भिडिओलाई शान थापाले निर्देशन गरेका हुन्। टिकटकदेखि कार्यक्रममा छाएको यस गीतलाई ४१ लाख बढी भ्युज मिलिसकेको छ।

बिहे गरेकी छोरीको पीडा बोल्ने मार्मिक तीज गीत ‘अभागी छोरी’ पनि दर्शकहरूले मन पराएका छन्। डीआर ढुंगानाको शब्द रहेको गीतमा दिपेन थापा र शान्तिश्री परियारको स्वर छ। दिपेन थापाले संगीत भरेको गीतमा खेमराम गौतमले म्युजिक एरेन्ज गरेका छन्।

प्रवीण थापाको निर्देशन रहेको भिडिओलाई ३७ लाख भ्युज मिलिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad