कला


कथाको खडेरी अन्त्य गर्न फिल्ममा डेब्यु गरेका निर्देशक आशान्त

बायोप्सीको रिपोर्ट कुर्दै सिध्याए सुटिङ
कथाको खडेरी अन्त्य गर्न फिल्ममा डेब्यु गरेका निर्देशक आशान्त

लक्ष्मी बलायर
भदौ ४, २०८२ बुधबार ७:५३, काठमाडौँ

डेढ वर्षपहिले कोशी थिएटरमा नाटक ‘साथी, साथी आइदेऊ न!’ मञ्चन भएको थियो। आशान्त शर्माको निर्देशन र लेखन रहेको नाटकले युवापुस्ताको मानसिक समस्यालाई समेटेको थियो। जसलाई दर्शकहरूले निकै रुचाएका थिए।

कतिपयले सो नाटकलाई नेपालभरि ल्याउन समेत आग्रह गर्थे। टिम जुटाएर नाटकमार्फत देशका कुनाकुना पुग्न गाह्रो थियो। त्यसपछि आशान्तलाई लाग्यो: अब ठूलो पर्दामा कथा भन्नुपर्छ।

प्राय आशान्त नाटकमा कथा भन्न मन पराउँछन्। तर, फिल्मतिर चाहिँ कथाहरूको अभाव देख्छन् उनी। केही राम्रा कथा आए पनि धेरै कथा भन्न बाँकी रहेको उनलाई लाग्छ। त्यही रिक्तता भर्न उनले ‘ताराहरू’ मार्फत फिल्मक्षेत्रमा डेब्यु गर्ने निधो गरे।

‘पछिल्लो समयमा अलिकति मैले हेर्न नपाएको हो कि, अभाव भएको हो, खासै फिल्ममा कथा देख्दिनँ। डेढ वर्षअघि नाटकमा मैले भनेको एउटा कथा थियो। जुन धेरै दर्शकहरूले यो नाटक लिएर आउनु न भन्नुभएको थियो,’ उनले भने ‘नेपालभरि त्यो लान नसकिने। अनि कथा भन्नुपनि पर्‍यो। ‍अलिकति भावनात्मक रुपमा इमानदार भएर भन्न सक्छु कि भन्ने लाग्यो। जसकारण नाटकको साटो फिल्मतर्फ लागेँ।’

यस फिल्ममा आशान्तले अधबैंसे मानिसको मानसिक स्वास्थ्यको विषय केन्द्रमा राखेका छन्। विशेषत फिल्ममा मध्यमवर्गीय परिवारको कथा समेटिएको उनको भनाइ छ।

‘सहरमा मध्यम वर्गीय परिवारमा जन्मेको एउटा मान्छे आफ्नो सपना र चाहनाहरू पूरा गर्न कसरी संघर्ष गर्छ? समाजले उसको बारेमा के सोच्छ? उसले समाजको बारेमा के सोच्छ? जीवन वा सबै संघर्षदेखि हारेर अन्धकारमा बसेको एउटा मान्छेलाई साथीले कसरी डोर्‍याएर उज्यालो देखाइदिन्छन् भन्ने फिल्मको कथा हो,’ उनले भने।

आशान्त कुनै समय आफैँ पनि अन्धकारमा बाँचेका छन्। त्यो बेला उनी छटपटाएर कयौँ रात निदाउन सकेनन्। त्यो अवस्थामा उनी ताराहरू हेरेर संवाद गर्थे। र, आफ्ना पीडाहरू पोख्दै भन्थे, ‘ए, तिमी पख, तिमीले हेरिराख्नु। तिमीहरू आज मलाई जसरी उज्यालो दिइरहेको छौ, तिमीलाई हेर्दाखेरि मजा आइरहेको छ। म पनि कुनै दिन तिमीसँग यो भन्दा राम्रो अवस्थामा भेट्छु।’

तारासँगको त्यही निकटताको कारण फिल्मको नाम राखेको बताउँछन् उनी। तर, फिल्ममा आकाशका ताराहरू नभई जमिनका ताराहरूको कुरा समेटेको उनले स्पष्ट पारे।

आशान्त निर्देशित ‘ताराहरू’को एक दृश्य

‘फिल्ममा राति आकाशमा ताराहरू हेरेर टोलाइरहेको दृश्य छैनन्। तारासँग प्रत्यक्ष कुराकानी गरेको छैन। तर, हाँस्ने र हँसाउने ताराहरू त फेरि जमिनमै छन् नि। फिल्मभित्र जमिनका ताराहरू हामीले प्रशस्त भेट्छौँ। जसले आशा र पोजिटिभ भाइब्स दिनुहुन्छ, उहाँहरू पनि एक खालको तारा हो। त्यस्तो काम गर्ने थुप्रै छन्, त्यही भएर फिल्मको नाम नै ताराहरू राख्यौँ।’

फिल्म बनाउन कस्सिएपछि निर्माणको प्रक्रिया आशान्तका लागि सहज भएन। किनकि फिल्म निर्माणकै क्रममा उनले जीवनकै धेरै उतार-चढाव भोग्नुपर्‍यो। क्यान्सरका कारण आमा गुमाउनु पर्‍यो। केही वर्षअघि क्यान्सरकै कारण बहिनी बितिन्। र, दाइका छोरा समेत गुमाए।

ती पीडा सहेर आशान्त कथा भन्न आँटिरहेका थिए। तर, एकदिन उनले आफ्नो ओठमा गिर्खा पलाएको महसुस गरे। त्यसपछि उनलाई पनि आफूलाई क्यान्सर भएको शंका लाग्यो।

‘मेरो ओठमा गिर्खा पलायो। नदुख्ने भएपछि क्यानसर हो भन्ने शंका लाग्यो। ला, मैले त निकै कामहरू गर्नुछ र कथाहरू भन्नु छ भन्ने सोचेँ। त्यो काटेपछि बायोप्सी गराउनुपर्छ भन्नुभयो। अनि त्यो चेक गराउन जानुभन्दा अगाडि नै पछि जे पनि हुन सक्छ भनेर काम सुरु गरेँ। एउटा फिल्म चाहिँ बनाइहाल्नु पर्‍यो भनेर सुटिङ सुरु गरेँ।’

बायोप्सीको जाँचको रिपोर्ट आउन २० दिन लाग्यो। त्यही अवधिमा उनले फिल्मको छायांकन गरेर सके। तर, ती २० दिन चक्रव्युहमा छिरेको अभिमन्यु जस्तै अनुभव भयो।

भन्छन्, ‘त्यो २० दिन निकै गाह्रो भयो। चक्रव्यूहमा छिर्न त छिरे, यसलाई जसरी नि पूरा गर्नु पर्छ भन्ने लाग्यो। कुनै पनि काम समयमै गरिहाल्नुपर्दो रहेछ।’

तर, जाँचको रिपोर्ट भने नेगेटिभ आयो। खासमा त्यो गिर्खो क्यान्सरको संकेत नभई आफ्नै दाँतले टोकेर घाउ भएको रहेछ। त्यसपछि बल्ल आशान्तले ढुक्कको श्वास फेरे।

यस फिल्ममा आशान्त नै मुख्य भूमिकामा छन्। कथा भन्ने व्यक्ति आफैँ किन मुख्य भूमिकामा देखिए त?

‘सुरुमा हरिवंश आचार्य दाइलाई खेलाउने कि भन्ने कुरा भएको थियो। हरिवंश दाइ गाउनु पनि हुन्छ, नाच्नु पनि हुन्छ। उहाँसँग ठ्याक्कै मिल्छ भन्ने लाग्यो। तर, आर्थिक हिसाबले बलियो नहुँदा सकिँदैन कि जस्तो लाग्यो,’ शर्माले भने, ‘फेरि एउटा आम मान्छेको कथा हो। स्टारमा सिफ्ट हुनेबित्तिकै कथाको भन्दा नि स्टारको फेस भ्यालु बढी हुन्छ। जसकारण आफैँ मुख्य पात्र बनेँ।’

फिल्म बनाउन निकै गाह्रो काम भएको आशान्त सुनाउँछन्।

‘एक जनाले २०-३० लाख छ भने सुटिङ सुरु गरिहाल्नुस् भन्नुभयो। सुरुमा ५०-६० लाखमा चाहिँ सक्छु भन्ने एक खालको आँट थियो। तर, मार्केट एकदम महँगो भएछ। सुटिङ सक्नु भनेको ३० प्रतिशत काम सक्नु रहेछ। त्यो भन्दा पछाडि प्रोस्टप्रोडक्सनको ७० प्रतिशत काम बाँकी रहेछ। नेपालमा फिल्म बनाउन र चलाउन गाह्रो रहेछ।’

आशान्तको फिल्म ‘ताराहरू’ भदौ ६ गतेदेखि सिनेमाहलमा आउँदैछ। यो सँगै ‘माग्ने राजा’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ पनि रिलिज हुँदैछन्। जसले दर्शक बाँडिने निश्चित छ।

तर, आशान्त भने दुइवटै फिल्म राम्रो हुँदा आफूलाई फाइदा हुने मत राख्छन्।

‘अरू दुइटा फिल्म छन्। यदि दुइटा फिल्महरू राम्रो भइदियो भने मेरो लागि त्यो प्लस प्वइन्ट हो। किनभने राम्रो फिल्महरू छन् भने पक्कै अर्को फिल्म पनि राम्रो हुन सक्छ भन्ने हुन्छ। एउटा विश्वास हुन सक्छ। तर, ती दुइटा फिल्महरूले त्यो स्वाद दिन सक्नु भएन भने चाहिँ मेरो लागि सबैभन्दा ठूलो घाटा हुन्छ। त्यो दुइटै फिल्महरू एकदम राम्रो आइदियोस्, राम्रो भैदियोस् भन्ने प्रार्थना गरिरहेको हुन्छु,’ उनी भन्छन्।

कन्टेन्ट बलियो भएकाले फिल्म हेरेर दर्शकहरू निराश नहुनेमा आशान्त विश्वस्त सुनिए।

थप्छन्, ‘बाहिर निस्किने बेलामा दर्शकहरूले मजा लिएर फर्कनुहुनेछ। किनभने दर्शकलाई हलसम्म बोलाएर टर्चर दिएर पठाउनु हुँदैन। त्यो आनन्द बनाउने कन्टेन्ट फिल्मभित्र छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad