आर्हीको स्वरमा अंग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक भएको छ। अष्ट्रेलियामा बसोबास गर्ने आर्ही यो गीतमार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन्। उनी अभिनेता आर्यन सिग्देलकी भाञ्जीसमेत हुन्।
गीतको शीर्षक ‘टक्सिक ट्रुथ’ राखिएको छ, जसको लेखन आर्ही र म्यागी एल बान्र्सले गरेका छन्। फोसिल र नेप्सेकले सङ्गीत तयार पारेका छन्। गीतमा डार्क–पप, हिप–हप र नेपाली/एसियाली सङ्गीतको प्रभाव समेटिएको गायिका आर्हीले बताइन्।
‘टक्सिक ट्रुथ विभिन्न भावनाको मिश्रण हो। यो गीत मैले त्यतिबेला लेखेँ, जब म एकैचोटि धेरै फरक भावनाहरू महसुस गरिरहेकी थिएँ । गीतमा स्वाभाविक रूपमा यी भावनाहरूलाई प्रतिनिधित्व गर्ने तत्वहरू समावेश छन् । यसले विषाक्त सम्बन्धको कथा भन्छ, जहाँ कसैलाई देखाइने भावनाहरू सधैँ साँचो हुँदैनन्, किनभने त्यहाँ गहिरो र विषाक्त सत्य लुकेको हुन सक्छ’, उनले भनिन्।
‘टक्सिक ट्रुथ’ मार्फत साङ्गीतिक यात्रा सुरु गरेकी आर्हीले सङ्गीत र कलाप्रति आफ्नो लगाव कहिल्यै कम नहुने बताइन्। ‘अवसर प्राप्त भएमा नेपाली गीत गाउनुका साथै नेपाली परियोजनाहरूमा सहभागी हुने छु। नेपाली गीतसंगीतले मेरो जीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। सङ्गीतमार्फत नेपाललाई अन्तर्राष्ट्रियमञ्चमा पुर्याउनु मेरो सपना हो।’
गीतको भिडिओमा आर्ही स्वयम् फिचर्ड छिन्। भिएफएक्सको भरपूर प्रयोग गरिएको यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका छन्। एक दशकअघि भिडियो निर्देशनमा सक्रिय दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन्।
डेभ डी प्रोडक्सनले निर्माण गरेको उक्त भिडियोको क्रिएटिभ निर्देशन दिनेशजंग राणाले गरेका छन् भने छायाङ्कन विनोद श्रेष्ठले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा सम्पन्न भएको छ। उक्त भिडिओलाई आर्हीकै युट्युबबाट सार्वजनिक गरिएको छ ।
Shares

प्रतिक्रिया