यसै साता प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन रोकिएको छ। एक विज्ञप्ति निकाल्दै भोली सोमबार देखि नेपालभरका सबै हलहरुमा प्रदर्शन स्थगन गरिएको निर्माता गगनलाल प्रधानले जानकारी दिए।
प्रेस विज्ञप्तिमा चलचित्रलाई उचित समय नदिईकन मात्र अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको कारण फिल्मलाई दर्शकसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसकिने अवस्था आएको जनाइएको छ।
‘दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा हुँदै र हललाई बारम्बार अनुरोध गर्दा पनि उपयुक्त शोको बारेमा बेवास्ता गरिएको कारणले हामीले प्रदर्शन स्थगित गर्ने जस्तो कठोर निर्णय लिन बाध्य भयौँ,’ निर्माता प्रधानले बताए।
चलचित्र निर्माणमा गरिएको परिश्रम, मेहनत र लगानी अनुरूप प्रदर्शन समय नपाएको बाध्य भएर चलचित्र हलबाट निकाल्नु परेको विज्ञप्तिमा जनाइएको छ।रेबेल फिल्म्सले यस निर्णयबाट उत्पन्न असुविधाप्रति दर्शक वर्गसामु क्षमा याचना पनि व्यक्त गरेको छ।
रेबेल फिल्म्स प्रा.लि. द्वारा निर्माण जारी गरिएको फिल्मलाई विभोर पोखरेलले निर्देशन गरेका हुन्। यस फिल्मले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा समेटेको छ।
यस फिल्मको मुख्य भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको पनि अभिनय रहेको छ।
Shares

प्रतिक्रिया