एक समय थियो, टेलिभिजनको पर्दामा जब ‘मुन्द्रे’ देखा पर्थे, हजारौँ नेपालीका घरमा हाँसोको फोहोरा छुट्थ्यो। अलिअलि हाउडे, अलिअलि फटाहा तर मनको सोझो यो चरित्रले जितु नेपाललाई दर्शकमाझ परिचित बनायो।
तर, सिन्धुपाल्चोकको एउटा सामान्य परिवारमा जन्मेका जितुले कहिल्यै कलाकार वा सेलेब्रिटी बन्छु भने सोचेका थिएनन्। उनलाई यो उपलब्धि कतै पुर्खाको आशीर्वाद हो कि भन्ने लाग्छ।
‘मैले कहिल्यैै कलाकार वा सेलिब्रिटी बन्ने सपना देखेको थिइनँ। यो त मेरा पुर्खाहरूको आशीर्वाद हो जस्तो लाग्छ,’ नेपालखबर सो ‘लेट्स टक’सँग उनले भने।
‘मुन्द्रे’को चरित्रले घर–घरमा चिनाएपछि पछिल्लो समय जितु फिल्ममा व्यस्त हुन थालेका छन्। ‘६ एकान ६’ फिल्ममा सहायक पात्रका रूपमा सुरु भएको उनको ठूलो पर्दाको यात्रा अहिले लिड रोेलमा आइपुगेको छ। नेपाली सिनेमाका चकलेटी हिरोइनहरूसँग हिरो बनेर स्क्रिनमा रोमान्स गरिरहेका छन्। यो परिवर्तन उनी आफ्नै लागि पनि आश्चर्यजनक बनेको छ।
साम्राज्ञी राज्यलक्ष्मी शाहसँग ‘ह्यारी कि प्यारी’मा स्क्रिन सेयर गरेका जितुले ‘ज्वाइँ साब’मा नीति शाहसँग रोमान्स गरेका छन्।
‘सुरुमा त अप्ठ्यारो भयो नि,’ हिरोइनहरूसँग रोमान्टिक सिन खिच्दाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘नीतिजी अग्ली, म होचो। हाइट मिलाउनै गाह्रो भयो। त्यसैले म नीतिजीलाई जुत्ता अग्लो नलाउनु है भन्थेँ। पछिपछि नीतिजीले मलाई धेरै सहज बनाइदिनुभयो। ‘दाइ, फिलिङ्स चाहियो नि’ भन्दै उहाँले मलाई धेरै सिकाउनुभयो।’

जितु आज जुन स्थानमा आइपुगेका छन्, त्यसपछाडि अपमान र संघर्षको लामो कथा लुकेको छ। सुरुवाती दिनहरूमा उनी आफ्नो होचो कद र हास्य कलाकारको ट्यागका कारण धेरै पटक अस्वीकृत हुनुपर्यो।
ती दिनहरू सम्झिँदै उनी भन्छन्, ‘जीवनमा अस्वीकृत कति भइयो भइयो। कति पटक त सुटिङ गरेका सिन पनि काटिए। पहिलेपहिले हास्य कलाकार भनेपछि हिरोको साथी, भिलेनको चम्चा वा हिरोनीको घरको नोकर, यस्तै त हुन्थ्यो हाम्रो भूमिका।’
यद्यपि, निरन्तरको लगन र मेहनतले आज त्यो परम्परागत मानक र रुढीवादी चरित्रचित्रणमा परिवर्तन आएकोमा उनी दंग छन्। आज हास्यकलाकार नेपाली सिनेमाको लिड रोलमा देखिइरहेका छन्, यसमा उनी खुसी छन्।
साउन २५ गते गाइजात्रा नजिकिँदै छ। सधैँझै यो वर्ष पनि हास्य कलाकारहरू नेपाली राजनीति र समाजलाई हास्यव्यंग्य गर्दै गाईजात्रा मनाउँदैछन्। गाईजात्राको अवसरमा जितुले त डिजिटल प्रहसन सुरु नै गरिसकेका छन्।
त्यसो त जितुको कलाकारिताको जरो नै गाइजात्रासँग जोडिएको छ। गाईजात्राबाटै उनको हास्य कलाकारिता यात्रा सुरु भएको उनी बताउँछन्। त्यसैले टेलिभिजन र फिल्ममा जति नै व्यस्त भए पनि स्टेजप्रतिको आफ्नोे मोह कहिल्यै नमरेको उनको भनाइ छ।
यसपटक उनले आफ्नो युट्युब च्यानलका लागि चार विशेष गाईजात्रा प्रस्तुति तयार पारेका छन्। पहिलो, बजेट भाषणमाथिको व्यंग्यात्मक प्रहार रिलिज भइसकेको छ। आइतबार नेताहरूलाई ‘सन्यासी’को रूपमा दखाएर अर्को शृंखला तयार पारेका छन्। उनी हाँस्दै सुनाउँछन्, ‘कमरेड प्रचण्ड अब स्वामी प्रचण्डाचार्य बन्नुभएको छ, शेरबहादुर देउवाजी स्वामी देउवाचार्य बन्नुभएको छ, अनि केपी ओलीजी ओलेश्वर महाराज। उहाँहरू आमसभा छोडेर महायज्ञमा प्रवचन दिन लाग्नुभएको छ।’

तर, गाईजात्राको यो नयाँ डिजिटल स्वरूपले उनलाई कताकता चिमोट्छ पनि। उनलाई लाग्छ, आजको हरेक दिन फेसबुक, टिकटक वा सामाजिक सञ्जालका अन्य माध्यमतिर गाईजात्रा भइरहेको छ।
‘गाईजात्राको खास आत्मा हराउँदै गएको हो कि भन्ने लाग्छ, अर्को कुरा आज हामीकहाँ हास्यव्यंग्य पनि हराउँदै छ, रोस्टिङ बढी चलिरहेको छ,’ उनले भने।
जितुका अनुसार कुनै बेला पञ्चायतकालमा समेत राजनीतिक व्यंग्यका लागि सुरक्षित मानिने यो गाईजात्रा आज सामाजिक सञ्जालमा हुने निरन्तरको आलोचना र ‘रोस्टिङ’का अगाडि फिका भइरहेको छ।
धेरैले हास्यलाई हल्का रूपमा लिन्छन्, तर जितुका लागि यो एक गम्भीर र विशिष्ट कला हो। उनलाई लाग्छ, मान्छे हँसाउनु भनेको धेरै ठूलो कुरा हो। हँसाउने बहानामा कसैमाथि व्यक्तिगत आक्रमण गर्ने, द्विअर्थी संवाद बोल्ने र कसैको शारीरिक कमजोरीमाथि व्यंग्य गर्ने प्रवृत्तिको कडा विपक्षमा छन् उनी।
‘कसैलाई होच्याएर, उसको शारीरिक बनावटमाथि व्यंग्य गरेर कमेडी गर्नु हुँदैन। त्यो हाम्रो संस्कृति होइन,’ उनी भन्छन्।
जितुको जीवनमा हाँसो मात्र छैन, आँसु पनि छ। दिनभरि अरूलाई हँसाएर साँझमा एकान्तमा रोएका अनगिन्ती पलहरू छन्।
‘म गाडी साइड लगाएर पनि रोएको छु,’ उनी भावुक हुँदै भन्छन्। विशेषगरी आफ्ना आमाबुबालाई गुमाउँदाको पीडाले उनलाई जीवनको क्षणभंगुरताको गहिरो पाठ सिकाएको छ।
आमासँगको अन्तिम पल सम्झिँदै उनी भन्छन्, ‘हातैमा हेर्दाहेर्दै आमा बित्नुभयो। त्यो बेला मलाई लाग्यो, मान्छेको जीन्दगी त के रहेछ र! मैले चाहेर पनि आमालाई बचाउन सकिनँ।’

के हो जितुको फिल्म विवाद?
पछिल्लो समय जितुमाथि निर्देशकको काममा हस्तक्षेप गर्ने र फिल्मको कथामा अनावश्यक हात हाल्ने गरेको आरोप लागिरहेको छ। यहीकारण उनी फिल्म ‘परालको आगो’बाट बाहिरिएको र ‘कार्की साइँला’मा लफडा परेर बाहिरिने अवस्था सिर्जना भएको चर्चा चलिरहेको छ।
तर, जितुले बजारको हल्ला सबै निराधार रहेको बताउँदै खास कारण खुलाएका छन्।
‘साँचो कुरा बोल्दा यस्तो हुने रहेछ,’ उनी भन्छन्, ‘‘कार्की साइँला’ को कथा २०३२ सालको छिन्ताङ घटनामा आधारित थियो, जुन बनाउन निकै गाह्रो र खर्चिलो थियो। मैले निर्मातालाई यो जोखिम नलिनुस् भन्दा विवाद भयो भनियो। वास्तवमा, बाटो र मौसमको प्राविधिक कारणले सुटिङ रोकिएको हो। यो फिल्ममा म हुन्छु र सुटिङ हुन्छ।’
‘परालको आगो’ को सन्दर्भमा भने असारबाटै सुरु हुने भनेको सुटिङ सर्दैसर्दै दसैँमा धकेलिएपछि उनले फिल्म छाड्न बाध्य भएको बताए।
‘फिल्मको सुटिङ सर्दैसर्दै दशैँमा आइपुग्यो। म दसैँमा परिवार छाडेर कहिल्यै बाहिर गएको छैन। मैले निर्देशकलाई दसैँमा काम गर्न सक्दिनँ भनेपछि आपसी सहमतिमै छाडेको हुँ, कुनै झगडाले होइन,’ उनले भने।
जितु आफूलाई हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने व्यक्तिको रूपमा स्वीकार्छन्।
भन्छन्, ‘म ढाँट्न जान्दिनँ, जे लाग्छ भनिदिन्छु तर मलाई थाहा हुँदैछ, मान्छे कहिलेकाहीँ डिप्लोमेटिक पनि हुनुपर्दो रहेछ। ’
हेर्नुहोस्, जितुसँगको गाईजात्रा विशेष एपिसोड, जहाँ उनले कतै हँसाएका छन्, कतै जीवनका संघर्ष सुनाउँदै भावुक भएका छन् :

प्रतिक्रिया