फिल्म ‘परालको आगो’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। फिल्मका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्।
गुरुप्रसाद मैनालीको चर्चित कथामा आधारित यस फिल्ममा सौगात फिल्ममा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्।
यसअघि यो भूमिकामा जितु नेपाल अनुबन्धित भएका थिए। दसैंमा समय दिन नसक्ने भएपछि जितुले यो फिल्म नखेल्ने भनेपछि जितुको सट्टा सौगातलाई लिइएको हो। सौगात अनुबन्ध भएसँगै फिल्म ‘परालको आगो’को मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ।
निर्माता सुशील पोखरेलको लगानीमा बन्ने यस फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठ देखिने पक्का भइसकेका छन्।
गीत लेखनमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुत रहनेछन् भने संगीत वरिष्ठ संगीतकार शान्ति ठटाल, सत्य, स्वरूप र प्रकाश सपुत रहनेछन्। फिल्मको कथा मैनाली कथा पुरस्कार ट्रस्टको अनुमति लिएर निर्माण गर्न लागिएको हो।
लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्मको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु गरिनेछ।
निर्माता पोखरेलका अनुसार, फिल्म सामाजिक सन्देश दिने उद्देश्यसहित तयारीमा रहेको छ र हाल टिम पूर्ण उत्साहका साथ काममा जुटेको छ। यो फिल्मको छायांकन संकल्प भुजेलले गर्दैछन्।
रामजी लामिछाने नृत्य निर्देशक, सुशील देवकोटाको लेखन र सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिङ, संकल्प भुजेलको छायांकन र नगेन्द्र घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।
मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ यसअघि ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए।
Shares

प्रतिक्रिया