९० को दशकमा ‘मेरी ओकिली’, ‘झ्याबाट हेर’ जस्ता गीतमार्फत लोकप्रियता कमाएका गायक अनिस ‘ओकिली’ सापकोटाले नयाँ गीत ल्याएका छन्। आफ्नो जन्मदिनमा ओकिलीले ‘स्वर्ग मेरो’ बोलको गीत सार्वजनिक गरेका छन्।
नेपाली–अमेरिकी गायक, संगीतकार र संगीत निर्माता ओकिलीले दुई दशकभन्दा बढी समयदेखि दक्षिण एशियाली र विश्वव्यापी संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्। पछिल्लो समय अमेरिकामा बसेर नेपाली संगीतलाई निरन्तरता दिँदै आएका उनको यस गीतमा शब्द, संगीत र स्वर छ।
‘मैले अमेरिकामा पनि नेपाली दाजुभाइरदिदीबहिनीका लागि गीत गाइरहें, कहिल्यै छोडिनँ र निरन्तरता दिइरहेको छु । यसपटक गीत तयार गर्नुका साथै भिडियोमा आफैं प्रस्तुत हुनु मेरो लागि फरक अनुभव रह्यो’, उनले भने।
लगभग तीन महिनामा यो गीतलाई तयार गरेका हुन्। पप-सफ्टरक विधामा पर्ने गीतमा उनले मायाको कुरा गरेका छन्। गीतको भिडिओमा पनि ओकिलीलाई देख्न सकिन्छ। गीतमा ओकिलीसँगै एरिशा श्रेष्ठले मोडलिङ गरेकी छन्। भिडिओलाई गायक तथा संगीतकार जेम्स प्रधानले तयार पारेका हुन्। छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन उनकै रहेको छ। अमेरिकाको रमणीय स्थानमा भिडिओ खिचिएको हो।
पछिल्लो समय ‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह ल्याएका ओकिलीले यसपटक सिङ्गल ट्रयाक ल्याएका छन्। उक्त गीतलाई जेनरिक्सले एरेन्ज गरेका हुन्। उक्त गीतलाई अनिश ओकिली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
नेपाली–अमेरिकी संगीतकार ओकिलीले १९९० को दशकमा नेपालमा ‘ओकिली’ ब्यान्डको संस्थापक सदस्यका रूपमा संगीत यात्रा सुरु गरेका थिए । ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ र पछिल्लो ‘सिमला भुवा’ मार्फत उनले विश्वभरका नेपाली दर्शकमाझ पहिचान बनाएका छन् ।
हाल अमेरिकास्थित क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका उनी आधुनिक नेपाली पप र भावनात्मक कथावस्तुको मिश्रणमा परिचित छन् । संगीत र संस्कृतिको योगदानका लागि उनले नोबेल पुरस्कार विजेता डा.चार्ल्स टाउन्सद्वारा प्रदान गरिएको ‘युथ अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन्।
Shares

प्रतिक्रिया