सुदूरपश्चिम


छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई नगरपालिकाद्वारा ५० हजार सहयोग

छाउगोठमा मृत्यु भएकी कमलाको परिवारलाई नगरपालिकाद्वारा ५० हजार सहयोग

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:९, कञ्चनपुर

छाउगोठमा सर्पको टोकाइबाट मृत्यु भएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीकी २८ वर्षीया कमला दमाईको परिवारलाई कृष्णपुर नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ। 

नगरप्रमुख हेमराज ओझाले पालिकाको कार्यपालिकाबाट निर्णय गरी मृतक दमाईको परिवारलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए। 

‘अहिले मृतकको परिवारलाई रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ’, उनले भने, ‘मृतकका तीन बालकको पढाइका विषयमा छलफल गरेर निर्णय गर्नेछौँ।’

समाजमा रहेको कुप्रथाबाट अकालमा ज्यान गुमाउनु परेको बताउँदै नगरप्रमुख ओझाले यस्ता कुप्रथाको अन्त्यका लागि नगरभित्रका छाउगोठ भत्काउने अभियान सुरु भइसकेको जानकारी दिए।

‘हामीले छाउगोठ भत्काउने अभियान सुरु गरिसकेका छौँ। महिनावारी भएको समयमा महिलालाई सुरक्षित तरिकाले बस्ने वातावरणका लागि अभियानसहित जनचेतनामूलक अभियान चलाउन लागिरहेका छौँ’, उनले भने, ‘छाउगोठ राख्नेलाई पालिकाले दिने सामाजिक सुरक्षाभत्ता, सिफारिसलगायत सेवा सुविधामा रोक लगाउँछौँ।’ 

उनले प्रशासनसँग छलफल गरेर छाउगोठ नभत्काउने परिवारलाई विद्युत् सेवाबाटसमेत वञ्जित गराउने तयारी भइरहेको बताए। 

गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया दमाईंको सर्पको टोकाइबाट मृत्यु भएको थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad