सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस विश्वकर्मा नेपाल-२०२५’ को उपाधि सौरभ विश्वकर्मा र चाँदनी रापालले जितेका छन्। काठमाडौँमा भएको फिनालेमा उनीहरूले उपाधि जितेका हुन्।
कार्यक्रममा विश्वकर्माको सांस्कृतिक पोशाक औपचारिक रुपमा सार्वजनिक पनि गरिएको थियो। पुरूषले लगाउने सेतो रंगको फेटा, कानमा मुन्द्रा, सेतो रंगकै भोटो, कम्मर मुनि मुजैमुजा परेको हल्का सेतो रंगकै जामा कम्मरमा सेतै पटुका, कम्मरमा भिर्ने ढाल, तरवार जस्ता पोशाक प्रदर्शन गरिएको थियो। त्यस्तै, महिलाले लगाउने शिरबन्दी, रातो गम्छा, फूलि तथा झम्के मुन्द्रि, मालवाडी, चाँदीको हँसुली, पहेँलो, रातो र हरियो पोतेमा जन्तर, पैसाको माला, रातो फुलबुटट्टे मखमलको लगायत पोशाकको प्रदर्शन गरिएको थियो। पोशाकको खोज अध्येता तथा लेखक डीबी नेपाली दमुले गरेका हुन् ।
महिलातर्फ रविना बराईली फर्स्ट रनरअप, सन्ध्या घतानी सेकेन्ड रनरअप बने भने सारु सुना थर्ड रनरअप र सविना विक फोर्थ रनरअप बने। त्यस्तै, पुरुषतर्फ विमोचन विक फस्ट रनरअप, ग्रिस विश्वकर्मा सेकेन्ड रनरअप र प्रज्वल खाती थर्ड रनरअप बनेका छन्।
मोडल अलिशा गहजराजको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको लागि ड्रेस डिजाइन ज्वालाराज पोखरेलले गरेका थिए। फिनालेमा विजेताहरूलाई ‘५० हजार नगदसहित गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो।
कार्यक्रममा पूर्वमन्त्री मिन विश्वकर्मा, पूर्वसांसद आशा विश्वकर्मा, दलित अभियान्ता खग्रेद्र सुनारलगायत दलित समुदायका कलाकार, समाजसेवी, व्यवसायी लगायतको उपस्थिति थियो।
कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरूका लागि प्लटफर्म निर्माण गर्नुपर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए।
प्रतियोगितामा काठमाडौँसँगै इटहरी, बर्दिया, नवलपरासी, पोखरा, वुटवल, भोजपुर, नेपालगन्जलगायत विभिन्न जिल्लाका २० जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए।
Shares

प्रतिक्रिया