सांगीतिक क्षेत्रका कलाकारहरूलाई तीजको सिजन सुरू भइसकेको छ। रेकर्डिङ र छायांकनको गतिविधि एक/डेढ महिना अघिदेखि नै सुरू भएको थियो। यतिबेला त गीत तयार भएर युट्युबमा छाउन पनि थालिसकेका छन्। जसकारण गायकगायिकादेखि कलाकार, निर्देशक, रेकर्डिस्ट र प्राविधिकहरू समेतलाई तीज गीतको चटारो छ।
निर्देशक स्मृति तिमिल्सिना ‘गुरूआमा’ धमाधम तीज गीतमा काम गरिरहेकी छन्। जेठको अन्तिम साताबाटै तीज गीतको भिडिओमा लागेकी उनी यतिखेर पनि सुटिङमै व्यस्त छिन्। उनले यो वर्ष एक दर्जनभन्दा बढी भिडिओहरू निर्देशन गरिसकेकी छिन्। अझै दुई दर्जनभन्दा बढी भिडिओको जिम्मा पनि उनकै पोल्टामा छ।
‘यसपटक जेठ २६ गतेबाट तीजको म्युजिक भिडिओको सुटिङमा लागेकी हुँ। बीचमा फिल्म कोशेढुंगाको तीज गीतको सुटिङ गरेँ। त्यसपछि व्यस्त नै छु,’ सुटिङस्थलबाट उनले भनिन्, ‘समय नपुगेर रातमा एउटा दिनमा एउटा गीतको काम गरिरहेकी छु। यो वर्ष ३०/३५ वटा तीज गीतको जिम्मा पाएकी छु। धेरैजसो साउनको पहिलो सातादेखि गीत बजारमा आउने भएकाले अहिले चटारो छ।’
तीज गीत छोटो समयका लागि आउँछन्। तीज सकिएपछि ती गीत सुनिँदैनन्। मौसमी भए पनि तीज गीतमा लगानी भने करोडौँ हुने गरेको छ।
निर्देशक तिमिल्सिनाका अनुसार अडिओ छोडेर सामान्य भिडिओ निर्माण गर्न पनि डेढदेखि दुई लाखसम्म खर्च लाग्छ। त्यस्तै, धेरै कोरस डान्सर राखेर बनाउन खोज्दा पाँचछ लाखसम्म पनि लगानी लाग्ने गरेको उनको अनुभव छ।
‘मौलिक गीतहरू दिदीबहिनी बसेर गरौँ भन्ने खालको हुन्छ। त्यसलाई त्यति धेरै बजेट लाग्दैन। न्यूनतम एउटा भिडिओ बनाउँदा डेढदेखि दुई लाखसम्म लाग्ने गरेको छ। कतिपय एकदम डान्सिङ गीतहरू हुन्छन्। जुन हेभी बजेटको हुन्छ। कहिलेकाहीँ दिउँसो पानी आउँछ। त्यसले पनि काम रोकिन्छ र बजेट लम्बिन्छ। जसले खर्च गरेर बनाउँदा लगानी ६ लाखसम्म पुग्छ। यसपालि मात्रै मैले ६ लाखको ३ वटा भिडिओ निर्देशन गरिसकेँ,’ नेपालखबरसँगको कुराकानीमा उनले भनिन्।
चर्चित लोकदोहोरी गायक खुमन अधिकारी लामो समयदेखि तीजका गीत गाउँदै आइरहेका छन्। हरेक वर्ष निकै माग हुने उनले यसवर्ष मात्रै एक दर्जन बढी तीजका गीतमा स्वर दिइसकेका छन्। स्टेज सोसहित आम्दानी पनि राम्रो हुने उनको भनाइ छ।
अधिकारीसहित शान्तिश्री परियार, पशुपति शर्मा, खेम सेञ्चुरी, देवी घर्ती, सुनिता बुढाक्षेत्री, रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, सम्झना भण्डारी, सुनिता दुलाल, राधिका हमाल आदि तीजमा निकै व्यस्त हुने गायक/गायिका हुन्।
पछिल्ला वर्ष धेरै गीतहरू निर्देशन गरे पनि यसवर्ष छनोट गरेर काम गरेको निर्देशक स्मृतिको दाबी छ। तीज गीतमा विकृति आएकाले मौलिक गीतहरू आफ्नो प्राथमिकतामा पर्ने सुनाउँछिन् उनी।
‘पहिलेका वर्षभन्दा यो पटक एकदम छनोट गरेकी छु। अहिले तीज गीतहरूमा धेरै विकृति आएको छ। गत वर्षभन्दा संख्यात्मक हिसाबले केही थोरै हुनसक्छ। मैले चाहिँ खासगरी मौलिक र अग्रजहरूको गीतहरूलाई प्राथमिकता दिन्छु। त्यसकारण उहाँहरूले दिदीबहिनी मात्रै ताली बजाऔँ। टिपिकल गरौँ भन्दा कुनै कनै गीतहरू धेरै बजेटको हुँदैन। म दिदीबहिनीको कामलाई धेरै सपोर्ट गर्छु। त्यसलाई प्राथमिकतामा राख्छु,’ उनले सुनाइन्।
निर्देशक तथा कोरियोग्राफर मौसम हिमाली पनि यतिखेर तीजकै गीतको भिडिओको सुटिङमा व्यस्त छन्। यो वर्ष आफूले २०/२२ वटा तीजको गीतको भिडिओको जिम्मा लिएको उनको भनाइ छ।
‘दुईतीनवटा भिडिओहरू गरिसकेको छु। अरू पेन्डिङमै छन्। भिडिओको पाटोमा कति ब्याकग्राउन्ड डान्सर राख्ने र सेट कस्तो बनाउने भन्नेमा बजेट निर्भर हुन्छ। किनकि बढी डान्सर राख्नेबित्तिकै थपिँदै जान्छ। सामान्य रूपमा १ लाख ७५ हजारदेखि २ लाखसम्म लागत लाग्छ। बढीमा पाँचछ लाखसम्म लाग्छ,’ उनले भने।
तीजलाई हिन्दु महिलाहरूको मुख्य पर्वका रूपमा लिइन्छ। जसले कलाकारहरूदेखि लगानीकर्ताहरू वर्षमा एक गीत भए पनि ल्याउन खोज्छन्। सोही कारण तीज गीतहरू बढी बन्ने गरेको निर्देशक तिमिल्सिना बताउँछिन्।
भन्छिन्, ‘वर्षभरि ननिकाले पनि चाडपर्वमा एउटा गीत भए पनि ल्याउनुपर्छ भन्ने गायकगायिका र लगानीकर्ताहरू धेरै हुनुहुन्छ। उहाँहरूलाई निरन्तरता दिऔँ भन्ने हुँदोरहेछ। उहाँहरूले वर्षभरि लगानी गर्ने गीतहरू मेरो भागमा पर्दा खुसी पनि लाग्छ। बजेट यति छ भनेर भन्नुहुन्छ। कहिलेकाहीँ त्यति बजेटमै गर्नुपर्ने पनि हुन्छ। राम्रो गरौँ न भन्दा मेरो बजेटमा पनि हुन्छ।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरका अनुसार गीत ल्याउन कतै दर्ता वा अनुमति लिनु नपर्ने भएकाले कति सार्वजनिक हुन्छन् भन्ने आधिकारिक तथ्यांक छैन।
यद्यपि, अनुमानित रूपमा तीन सयको हाराहारीमा तीज गीत सार्वजनिक हुँदै आएको बताउँछिन् उनी। दुईदेखि चार लाख रूपैयाँलाई औसत लगानी मानेर हिसाब गर्दा ३ सय गीतमा ६ करोडदेखि १२ करोड रूपैयाँसम्म लगानी हुन आउँछ।
‘ठ्याक्कै डेटा त हुँदैन। अनुमानित रूपमा ३०० को हाराहारीमा तीज गीत सार्वजनिक हुँदै आएका छन्,’ उनले नेपालखबरसँगको कुराकानीमा भनिन्।
कतिपय महिला कलाकारले अन्य क्षेत्रबाट कमाएर जोगाएको पैसाले पनि तीज गीत ल्याउने गरेको सुनाउँछिन् उनी। धेरैले संस्कृति बचाउने र वर्षमा एकपटक भए पनि निरन्तरता दिने तरिकाले तीज गीत ल्याउने गरेको उनको भनाइ छ।

‘तीज पर्व हाम्रो संस्कृति हो। धेरैजना दिदीबहिनीहरूले वर्षभरि तीज गीत रेकर्ड गर्न भनेर सँगालेर राखेको पेवा पैसाले पनि आफ्नो रहर पूरा गरेको पाउँछु,’ मगरले भनिन्, ‘लगानी गर्ने र कमाउने भन्दा पनि आफ्नो रहर पूरा गर्ने, संस्कृति बचाउने र यसलाई निरन्तरता दिने हिसाबले गीत सार्वजनिक गर्नुहुन्छ। जसले पनि तीज गीतमा करोडौँ लगानी भएको देख्छौँ।’
उनका अनुसार धेरै मौलिक तीज गीत र भिडिओ बजारमा सार्वजनिक हुँदा पनि एकदुईवटा अपाच्य गीतकै चर्चा हुँदा राम्रा गीत र सर्जक मारमा परिरहेका छन्। त्यसैले पनि सार्वजनिक गीतमध्ये थोरै गीतले मात्रै लगानी उठाउने गरेका छन्।
निर्देशक तिमिल्सिना पनि तीजका गीतमा करौडौँ लगानी भए पनि फाइदा भने निकै कम हुने बताउँछिन्। युट्युबसहित अडिओ प्लाटफर्मबाट कमै लगानीकर्ताले मात्रै नाफा उठाउन सक्ने सुनाउँछिन् उनी।
‘तीजमा गीतको संख्या धेरै नै पुग्छ। हुन त बिउ रोपेपछि फलको आशा लाग्छ नै। तर, सबैले लगानी उठाउँछन् भन्ने पक्का चाहिँ हुन्न। अहिले सबै बस्ने भनेको युट्युबकै भरमा हो। अडिओबाट नि कति कमाइएला र भन्ने हुन्छ। लगानी फिर्ता हुने कमै चान्स हुन्छ। युट्युब र टिकटकतिर हिट हुँदा लगानी उठ्ने सम्भावना हुन्छ। राम्रो गीतहरूले उठाएका पनि छन्। तर, केही सीमित गीतले लगानी उठाए पनि धेरै घाटामा जान्छन्,’ उनले भनिन्।
यद्यपि, लगानी नै नउठे पनि सांस्कृतिक हिसाबले तीजका गीतमा लगानी भइरहेको उनलाई लाग्छ।
निर्देशक हिमाली पनि सबै गीतहरूले लगानी उठाउन नसक्ने बताउँछन्। जसकारण तीजका गीतहरू कम बजेटमा गर्न खोजेको सुनाउँछन् उनी।
‘प्रायजसो जुन गीत चलेको छ, त्यसको मात्रै उदाहरण दिन्छौँ। नचलेको गीतहरू कति धेरै हुन्छन्। सबैको आ–आफ्नै पीडा हुन्छ। एकचोटि लगानी गरिसकेपछि त्यो गीतले राम्रो आम्दानी हुन्छ भन्ने हुँदैन। युट्युबको पनि भ्युज घटेको छ। जसले अहिलेको मार्केटमा सस्तो बजेटमा राम्रो कन्टेन्ट चाहिएको छ। तीजमा त्यति धेरै लगानी नगर्ने कि भन्ने पनि हुन्छ। सिजनलाई मात्रै धेरै लगानी नगर्ने कि भन्ने मानसिकता हुन्छ। त्यसलाई मध्यनजर गर्दै सदाबहार गीतहरूमा बढी लगानी गरे पनि तीजका गीतमा खासै गरिँदैन। थोरैथोरै बजेटमा पनि काम गर्न खोज्नुहुन्छ,’ उनले भने।
Shares

प्रतिक्रिया