फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्ध भएकी छन्। फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन्।
‘जात्रा’ शृंलामार्फत स्थापित ब्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने यस फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकिसकिएको छ।
यो फिल्म आगामी फागुन १ गते रिलिज हुनेछ। पोस्टरमा अभिनेत्री खड्का फरक अवतारमा देखिएकी छन्। उनलाई गर्भवती देखाइएको छ।

उनको शृंगारिक लुक्स र हाउभाउले उनको पात्रबारे चित्रण गर्छ।
यम थापाको लेखन तथा निर्देशनमा तयार बन्ने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दै छन्।
यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्। जसले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शकको मन जितिसकेको छ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमका कारण आफू नयाँ रूपमा देखिन तयार भएको बताइन।
‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ। सार्वजनिक पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु’, उनले भनिन्।
निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रिप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुवात गरेको हो।
उनले भने,‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ। राम्रो कथा दर्शकसम्म जानबाट वञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ। सोही क्रममा निर्देशक थापाले पठाएको स्क्रिप्टले हामीलाई आकर्षित गर्यो। उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्यौँ।’
निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ले नयाँ उचाइ दिनेमा विश्वस्त छन्।
‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो। सोही क्रममा म षट्कोण आर्ट्समा आइपुगेको हुँ’, उनले भने, ‘यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरेँ। उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ। यो मेरा लागि अवसर र चुनौती दुवै हो।’
फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिँदै जाने निर्देश शेर्पाले बताए।
सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन्।
आगामी दसैँलगत्तै फिल्मको छायांकन गरिनेछ।
Shares

प्रतिक्रिया