कला


घट्यो कमेडी सिरियलको क्रेज, सेन्टिमेन्टलतिर सरे दर्शक

घट्यो कमेडी सिरियलको क्रेज, सेन्टिमेन्टलतिर सरे दर्शक

लक्ष्मी बलायर
असार १०, २०८२ मंगलबार ४:२५, काठमाडौँ

कलाकार बेगम नेपाली (भटभटे माइला) कमेडी विधाको सिरियलबाट दर्शकमाझ चिनिए। उनले ल्याउने ‘गाह्रो छ हो’ सिरियलको लोकप्रियताको यति उचाइमा थियो, प्रत्येक भागले युट्युबमा मिलियन भ्युज पाउँथे। अझ, कतिसम्म भने कतिपय भाग करोडभन्दा बढीपटक हेरिए।

अहिले युट्युबमा हेर्ने हो भने यसको भाग १४ लाई २ करोड १७ लाखपटक हेरिएको छ। जुन नेपाली सिरियलको इतिहासमै सर्वाधिक हो।

अहिले भने बेगमले अचानक यो सिरियल बन्द गरेर नयाँ सिरियल सुरू गरेका छन्, ‘गाह्रो छ जिन्दगी’। पुरानोजस्तै लाग्ने नाम तर पहिलेभन्दा फरक विधामा। यसमा उनले कमेडी नभई सेन्टिमेन्टल (रुवाबासी) विधा समातेका छन्।

सिरियलको गत साता सार्वजनिक भागमा पनि रुवाबसीकै दृश्य बढी देखिन्छन्।

झण्डै पाँच वर्षअघिदेखि प्रसारणमा आएको ‘गाह्रो छ हो’ मा लामो समय बेगमसहित रियाशा दाहाल मुख्य भूमिकामा देखिइन्। बेगम र रियाशाको जोडीलाई दर्शकहरूले निकै मन पराए।

तर, पछि रियाशाले सिरियल छाडिन्। यो समय अन्य आएका सेन्टिमेन्टल सिरियलले दर्शक तानिरहेका थिए।

एकातर्फ, बेगम र रियाशाको चर्चित जोडी छुट्टिनु। अर्कोतर्फ सेन्टिमेन्टल सिरियलतर्फ दर्शकहरू झुम्मिनु। अन्ततः बेगम ‘गाह्रो छ हो’ सिरियल नै बन्द गर्ने निर्णयमा पुगे।

अर्को चर्चित कमेडी सिरियल ‘सक्किगोनि’ तीन महिनादेखि प्रसारणमा छैन। यसको टिमले फिल्म ‘लाज शरणम्’ बनायो, फिल्म रिलिजपछि सिरियल नै रोकिन पुग्यो।

अब ‘सक्किगोनि’ आउँछ/आउँदैन? यसको ठ्याक्कै यकिन जवाफ निर्माण टिमसँग पनि छैन।

पछिल्लो समय कमेडी सिरियलहरूमा दर्शकहरूको क्रेज घट्दो देखिन्छ। उदाहरणका लागि सर्वाधिक भ्युज पाउने अहिले प्रसारणमा रहेका केही सिरियलहरू नियालौँ।

अहिलेको समयमा युट्युबमा धेरै हेरिने सिरियलमा पर्छन् भुन्टी र कान्छी। ६ दिनअघि सार्वजनिक भएको ‘भुन्टी’ को एपिसोड युट्युबमा ३८ लाखपटक हेरिएको छ भने दुई दिनअघि सार्वजनिक ‘कान्छी’ले २५ लाख भ्युज पाएको छ। यी दुवै सेन्टिमेन्टल सिरियल हुन्।

त्यसपछि भ्युजका आधारमा अगाडि आउँछन्– सीता, बुहारी, सकस, जुठे, नारी, टुहुरी, देउरानी आदि। सेन्टिमेन्टल सिरियलले छोटो समयमै दसबीस लाख भ्युज पाउँदा कमेडीतर्फ त्यस्तो भ्युज पाउने एकाध सिरियल मात्रै छन्। ‘हल्का रमाइलो’ लाई छाडेर हेर्ने हो भने अहिले कमेडी सिरियल त्यति चर्चामा छैनन्। एक समयको चर्चित कमेडी सिरियल ‘मेरी बास्सै’ मा अहिले भ्युज ठीकठाक मात्रै छ।

पछिल्लो ट्रेन्ड हेर्दा कमेडीभन्दा सेन्टिमेन्टल सिरियल रूचाइएको सहर्ष स्वीकार्छन् कलाकार तथा लेखक बेगम नेपाली। जसकारण आफूले पनि कमेडी सिरियल रोकेर पारिवारिक सेन्टिमेन्टल सिरियल ‘गाह्रो छ जिन्दगी’ ल्याएको बेगम बताउँछन्।

‘मैलै धेरै कमेडी सिरियल गरेँ। पछिल्लो समय दर्शकले अलिकति सेन्टिमेन्टल सिरियल रूचाउनुभएको छ,’ उनले भने, ‘समाजमा जे चलेको छ, दर्शकको रोजाइ जेमा छ, त्यसलाई उठान गरौँ, भन्ने भयो। त्यसैले सेन्टिमेन्टल सिरियल बनाएँ।’

एक समय ‘गाह्रो छ हो’ले राम्रो भ्युज पाइरहेको थियो। बीचमा रियाशाले सिरियल छाडेर हिँडिन्। उनले छोडेपछि त्यस सिरियलको क्रेज घटेको कतिपयको टिप्पणी छ। तर, कमेडी सिरियलको माहोल घटिरहेको अवस्थामा आफूले ‘गाह्रो छ हो’ बन्द गरेको बेगमको दाबी छ।

‘अहिले सबै कमेडी सिरियलहरू खासै चलेका छैनन्। सक्किगोनि आउन छाडेको तीन महिना भइसकेको छ। मान्छेले खाली उहाँ (रियाशा)ले छाडेको मात्रै देखिरहेका छन्। सिरियलमा हामीले घाटा खाइरहेका हुन्छौँ। कलाकारले पारिश्रमिक बढाउनुपर्छ भन्नुहुन्छ। टेलिभिजनले पनि अहिले पैसा दिने अवस्था छैन भन्छ। युट्युबको पैसाले धान्न नसकेपछि बन्द गरियो,’ उनले सुनाए।

बीचमा बेगम फिल्मतिर समेत लागे। सोहीबीच उनले हरिबहादुरको जुत्ता र कल्लीमा अभिनय गरे। जुन फिल्म प्रदर्शन हुन बाँकी नै छन्। तर, समयअनुसार दर्शकको रूचि बुझेर सिरियल ल्याएको सुनाउँछन् उनी।

भन्छन्, ‘बीचमा म फिल्मतिर गएँ। पछि सिरियल नगरी बस्न मनले मानेन। सिरियलमा दर्शकले हप्तैपिच्छे हेर्न पाउँछन्। केही गर्नुपर्छ भनेर मैले गाह्रो छ जिन्दगी ल्याएँ।’

एक दशकभन्दा लामो समयदेखि फिल्ममा बलियो उपस्थिति जनाइरहेका लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी पनि हास्य टेलिशृंखलाबाटै आएका हुन्। उनको अभिनय र लेखन रहेको कमेडी सिरियल ‘तितो सत्य’ त्यो बेला खुबै हिट थियो। पछि दीपक टेलिसिरियल छाडेर फिल्मतिर लागे। छ एकान छ, वडा नम्बर छ, छक्का पञ्जा फिल्मका सिरिजमा पनि उनले राजनीतिक कमेडीका विषयवस्तु समेटे। जुन फिल्महरू बक्सअफिसमा हिट छन्।

उनी समयअनुसार दर्शकहरूको स्वाद बदलिने हुँदा अहिले दर्शकहरू सेन्टिमेन्टल सिरियलमा आकर्षित भइरहेको धारणा राख्छन्।

‘सबै चिज चक्रमा चल्छ। कमेडीप्रधान जुन सिरियल छ त्यसको सुरूवात हिजो आजको कुराबाट भएको थियो। त्यसपछि तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सै आए। त्यसपछि एक दशकसम्म यस्तै चल्यो। हामीले छोडेपनि पाँचछ वर्षसम्म पनि टेलिभिजन कमेडीमय भए। धेरै कमेडी कमेडी भइसकेपछि दर्शकहरू वाक्क भए। नयाँ स्वाद खोज्न थाले।’

दीपकलाई राजनीतिक र सामाजिक कमेडीसँग वाक्क भएर दर्शक सेन्टिमेन्टलतर्फ सिफ्ट भएजस्तो लाग्छ।

उनले भने, ‘दर्शकहरू अहिले फ्यामिली ड्रामातर्फ आकर्षित भए। मानिसहरू वरपर जे भइरहेको छ, त्यो हेर्न चाहन्छन्। कमेडीमा राजनीतिक र सामाजिक कुरा हुन्थे। त्यो कुराबाट उनीहरू वाक्क भए। अहिले सेन्टिमेन्टल ड्रामामा सिफ्ट भएका हुन् जस्तो लाग्छ।’

सिरियलमा मात्रै नभई यो ट्रेन्ड फिल्ममा समेत देखिएका सुनाउँछन् उनी।

‘यो ट्रेन्ड फिल्ममा पनि देखिएको छ। एक्सन चल्दा एक्सन–एक्सनको बाढी आउँछ। लभस्टोरी आउँदा त्यही खालका फिल्म आउँछन्। कमेडी चल्दा कमेडी फिल्म आउँछन्,’ उनले भने, ‘पूर्णबहादुरको सारंगी आएपछि रूवाउने–धुवाउने फिल्म बन्न थालेका छन्। त्यसपछि यो वर्ष पूरै रोदन वर्ष भइरहेको छ। यो चाँहि फिल्ममा पनि छ। अर्को कुरा धेरै कमेडियनहरू फिल्मतिर लागेका छन्। कमेडियनहरूले पनि अर्को बाटो खोजे। दर्शकले पनि नयाँ टेस्ट खोजे जस्तो लागेको छ।’

तर, दीपकले मान्छेहरूलाई हाँस्न मनपर्ने बताउँदै कमेडी सर्वकालीन विधा रहेको प्रष्ट पारे।

कलाकार राजु पौडेल (राजु मास्टर) कमेडी सिरियल ‘हल्का रमाइलो’ छोडेर सेन्टिमेन्टल ‘सकस’ को निर्माणमा रमाइरहेका छन्। डेढ वर्षदेखि प्रसारण भइरहेको यस सिरियलले दर्शकहरूको मन जितिरहेको छ। प्रत्येक एपिसोडमा दस लाखमाथि भ्युज छन्।

हुन त त्योबेला पनि सेन्टिमेन्टल सिरियल नचलेका होइनन्। सिन्दुर, परिचय, करूणा, अपराजिता, दलन लगायतका सेन्टिमेन्टल सिरियलहरू दर्शकको रोजाइमा परेका थिए। तर, पछिल्लो समय सेन्टिमेन्टल सिरियलमा बाढी आएको कलाकार पौडेल बताउँछन्।

‘त्यो बेला फिल्ममा कमेडीको एउटा माहोल थियो। पछिल्लो समय कमेडी छायामा परेको होकी जस्तो लाग्छ। सबैले छोड्दाखेरी र भ्युज पाउन पनि गाह्रो हुँदा सामाजिक सिरियलतर्फ ढल्केको हो कि जस्तो लाग्यो। सीता बनाउने आरटी इन्टरटेनमेन्ट पनि पहिले कमेडीमै केन्द्रित थियो। अहिले सबै कमेडीबाट आएकाले पारिवारिक र सेन्टिमेन्टल गरिरहेका छन्। यस्ता रोनाधोना सिरियलको माहोल चलिरहेको छ,’ उनले सुनाए।

कमेडीबाट आएको भएर यही विधाको बढी माया लागे पनि दर्शकहरूले खोजेअनुसारको कन्टेन्ट दिनुपर्ने उनको तर्क छ।

‘कमेडीबाट करिअर सुरू गरेकाले कमेडीकै माया लाग्छ। कमेडीको त्यो माहोल आउला पनि फेरि। अहिलेलाई चाहिँ सामाजिक कथाको माहोल नै छ। अब दर्शकहरूले जता जे खोज्नुहुन्छ, हामी पनि त्यसकै पछि लाग्ने त हो नि। दर्शकलाई फलो गर्ने हो। तत्काललाई सकसलाई नै टाइम दिने हो,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।

कलाकार तथा ‘सक्किगोनि’ का निर्माता अर्जुन घिमिरे (पाँडे) को भने यस विषयमा फरक मत छ। उनले कमेडीको क्रेज कहिल्यै पनि नहराउने ठोकुवा गरे।

‘कमेडीको क्रेज कहिल्यै पनि हराउँदैन। मान्छे सधैँ हास्न नै चाहन्छ। हाम्रोजस्तो मुलुकका मान्छे अझै हाँस्न चाहन्छन्। कमेडी बनाउनेको राम्रो पात्र र कन्टेन्ट नहुँदा यस्तो भएको हो। कमेडी धेरै मात्रामा बन्न थाले। जसले पनि निर्माण गर्न थाल्यो। क्वान्टिटी भएपछि क्वालिटी कम हुन थाल्यो। त्यो भएर भ्युज नआएको जस्तो लाग्छ। रोनाधोना सिरियल पनि धेरै बनेका छन्। सबै उत्तिकै चल्छन् भन्ने त छैन,’ घिमिरे भन्छन्।

‘सक्किगोनि’ मा पनि कहिल्यै भ्युजको कमी नभएको उनको भनाइ छ। तर, केही महिनादेखि भने यो सिरियलको निर्माण बन्द गरिएको छ। टेलिभिजन र एजेन्सीले विश्वास गरे मात्र अर्को सिजन ल्याउने उनले सुनाए। 

भन्छन्, ‘हामीले मात्र चाहेर हुँदैन। डिजिटल मिडियाले गर्दा टेलिभिजनमा गाह्रो छ। युट्युको आम्दानीको आधारमा चल्दा पनि घट्दा गाह्रो छ। हाम्रो टिममा धेरैजना हुनुहुन्छ। लोकेसन पनि टाढा। जसकारण मेकिङ गर्न र टिक्न गाह्रो छ। हामीलाई त्यही लेबलको एजेन्सीले सपोर्ट गर्दा बनाउँछौँ। विज्ञापन नआई चल्ने आधार हुँदैन। राम्रो एजेन्सी र विज्ञापन पाउँदा हामी फर्किन्छौँ।’

पछिल्लो समय कमेडी रियालिटी सोहरू बढेका छन्। त्यसमा दर्शकको आकर्षण राम्रो छ। यो पनि सिरियलतर्फ कमेडीभन्दा सेन्टिमेन्टलको आकर्षण बढ्नुको एउटा कारण हुनसक्ने कतिपयको विश्लेषण छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad