गत फागुन २९ गते रिलिज फिल्म ‘अन्जिला’ लगातार प्रदर्शन भइरहेको सय दिननजिक पुगेको छ।
काठमाडौँको क्यूएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो फिल्म निरन्तर प्रदर्शन भएको बुधबार ९१ दिन पुगेको छ।
आज बिहीबारका लागि उक्त हलमा ‘अन्जिला’ले ३ शो पाएको छ।
फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले क्यूएफएक्स सिनेमाजले निरन्तर प्रदर्शन गरिरहेका हलसहित अन्य केही हलमा १०० रुपैयाँमै फिल्म देखाउने तयारी गरेको बताए।
‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनुभएको छ। तर, सय दिन पुग्न लागेको समयमा क्यूएफएक्सले सहुलियतमा चलचित्र देखाउने भनेको छ। यसमा हामीले पनि समर्थन गरेका छौँ। सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली चलचित्रका लागि सुखद् कुरा भएकाले यो चलचित्र हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौँ’, उनले भने।
मिलन चाम्स निर्देशित यो फिल्म वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँचभित्र पर्छ। हालसम्म यस चलचित्रले १२ करोड रुपैयाँभन्दा माथिको व्यापार गरिसकेको निर्माण टिमले जानकारी दिएको छ।
यो फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। यसमा एन्जिला आफैँले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतले पनि अभिनय गरेका छन्।
यसैबीच पूर्वमन्त्री सुदन किराँतीले फिल्म हेरेर प्रतिक्रिया दिएका छन्।
किराँतीले यो चलचित्र दुःखलाग्दो घटनाको प्रेरणादायी कथा भएको बताए।
उनले भने, ‘पूर्वी पहाडी भेगको किराँती समाजको यो कथा हेरिरहँदा म आफैँलाई हेरिरहेँ। आँखा बन्द गरिरहेँ तर आँसु झरिरह्यो।’
Shares

प्रतिक्रिया