अभिनेत्री मनीषा कोइरालाले हलमा प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ हेरेकी छिन्। फिल्म हेरेपछि मनिषाले एक स्टाट्स लेख्दै फिल्मबारे खुलेर तारिफ गरेकी छिन्।
‘ऊनको स्वीटर’ लाई सुन्दर र मनछुने प्रेमकथा बताउँदै उनले लेखेकी छिन्, ‘अहिलेमात्रै ऊनको स्वीटर हेरेँ, कति सुन्दर र मन छुने प्रेमकथा। नेपालका अनुपम प्राकृतिक दृश्यहरूमा आधारित यो चलचित्रले मन छोयो। जातीय सीमाहरू पार गरेर गरिने प्रेमको कथा हो यो। जुनले देखाउँछ मानवीयताको शक्ति र सामाजिक बन्धनभन्दा माथि उठेर माया गर्न सक्ने साहस।’
प्रेमकथा मात्र नभई फिल्मले नेपालको सांस्कृतिक विविधताको पक्षलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको उनको भनाइ छ।
उनी लेख्छिन्, ‘नेपालको सांस्कृतिक विविधतालाई यति सुन्दर ढंगले प्रस्तुत गर्छ, परम्परा र संस्कृति जस्ताको त्यस्तै जीवन्त छन्। संगीत निकै आत्मा छुने, गीतहरू लामो समयसम्म मनमा गुञ्जिरहन्छन्, अनि कलाकारहरूको अभिनय पनि अत्यन्त सशक्त छ।’
गीतसंगीत र कलाकारको अभिनयको प्रसंसा गर्दैं उनले निर्देशक नवीन चौहानको डेब्यु फिल्म हो भनेर विश्वास नलाग्ने बताएकी छिन्। साथै आफू र आफ्नो परिवार फिल्म हेरेर हासेको र रोएको बताउँछिन् उनी।
‘हामी हाँस्यौँ, रोयौँ, र सबैभन्दा महत्त्वपूर्ण – यो चलचित्रले नेपालको विविध आत्माको सुन्दरता अनुभूत गरायो। साँच्चिकै विविधतामा एकताको सन्देश बोकेको चलचित्र।’
Shares

प्रतिक्रिया