फिल्म ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक पन्तले केही दिनअघि अनुबन्ध गरेका हुन्।
फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षको अन्तरलामा नेपाली रजतपटमा पुनरागमन गरेकी अभिनेत्री थापासँग निर्देशक चन्द्र पन्तको यो दोस्रो सहकार्य हो। विपनाकै वरिपरी फिल्मको कथा घुम्नेछ।
निर्देशक पन्तले भने, ‘विपना थापाको नै मुख्य भूमिका हो। उहाँको यस फिल्ममा राम्रो क्यारेक्टर रहेको छ। आफू निर्देशक तथा लेखकको हिसाबमा भन्नु पर्दा नेपालमा अहिलेसम्म यस्तो इमोसनल बनेको छैन। त्यति दर्शकलाई इमोसनल बनाउने कथा छ। त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँ।’
आगामी भदौँदेखि छायाँकनमा जान लागेको यस फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको विपनाले सुनाइन्। उनले यस फिल्मको कथा सुन्दा नै आआफूलाई भावुक बनाएको र काम गर्न राजी भएको बताइन्।
उनले भनिन, ‘मलाई निर्देशकले फिल्मको स्टोरी सुनाउँदा यति भावुक भएकी म व्यक्त गर्न सक्दिनँ। स्टोरी नै यति पावरफुल छ। त्यसैले पनि यो फिल्ममा काम गर्नका लागि म राजी भए।’
यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गरेकी थिइन्। यो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको थियो।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ।
आमाको भुमिकामा विपना भएता पनि अन्य कलाकारको भने छनोट हुन बाँकी नै रहेको निर्माण पक्षले जनाएको छ। अन्य कलाकार र प्राविधिकहरुको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तले बताए।
उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।
Shares

प्रतिक्रिया