नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा नियमित शोमा प्रदर्शन हुने भएको छ। बेलायतको वितरण कम्पनी अन्डरग्राउन्ड स्लेटले यस फिल्मलाई हलमा नियमित प्रदर्शन गर्नेछ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले जुलाई पहिलो सातादेखि बेलायतका ४० भन्दा धेरै हलमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएको छ। कम्पनीले वितरण गर्ने सूचीको पहिलो फिल्म पनि यो रहेको उल्लेख गरेको छ।
‘परम्परागत वितरण मोडेलहरूलाई पुनःपरिभाषित गर्न र मुख्यधाराका सिनेमामा प्रायः बेवास्ता गरिने विश्वव्यापी आवाजलाई समर्थन गर्न प्रतिबद्ध स्टार्टअपको रुपमा अ रोड टु अ भिलेज पहिलो हो’ विज्ञप्तिमा उल्लेख छ।
उक्त कम्पनीले २ वर्षको लागि फिल्मको बेलायत अधिकार किनेको निर्माता आमोद राईले बताए। यसअघि यो फिल्म हङकङ र बैंककमा समेत रिलिज भएको छ। चाँडै अस्ट्रेलियामा पनि रिलिज तयारी चलिरहेको छ।
यस फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ। देवराज राई कार्यकारी निर्माता रहेको फिल्मको निर्माता अमोद राई हुन्।
फिल्मलाई यसअघि क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बई, स्विडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत महोत्सवमा प्रदर्शन गरिएको थियो।यस फिल्मको छायांकन अमेरिकी छायाकार जोस हेरमले गरेका हुन्।
Shares

प्रतिक्रिया