चलचित्र विकास बोर्डले केही समयमै रियल टाइम बक्सअफिस प्रणाली लागू गर्ने भएको छ। बिहीबार बक्सअफिस प्रणालीको सफलतापूर्वक परीक्षण गरेसँगै छिट्टै लागू गरिने बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष दिनेश डिसीले लामो प्रतिक्षापछि चलचित्र क्षेत्रले चाहेको आधुनिक, न्यायसंगत रियल टाइम बक्स अफिस ल्याउन लागेको जानकारी दिए। जुन लागू भएसँगै टिकट बिक्री भएको ५ मिनेटभित्रै बक्सअफिस केन्द्रीय सर्भर प्रणालीमा तथ्याङ पुग्नेछ।
बक्सअफिस तथ्यांकमा भने सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरकले पहुँच पाउनेछन्। कुनै फिल्म र हलको ‘ट्रयाक रेकर्ड’ पनि विश्लेषण गर्न सकिने बोर्डले जनाएको छ।
जेठ १५ भित्रै सेवाप्रवाहलाई अनलाइनमाध्यममा रुपान्तरण गर्ने बोर्डको तयारी छ। सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन्। जसकोलागि सेवाग्राही कार्यालयसम्म पुग्नुपर्दैन। सेवाग्राही भएकै स्थानमा बोर्डले कागजपत्र डेलिभर गर्ने समेत योजना छ।
रियल टाइम बक्सअफिस प्रणाली २०६६ सालदेखि लागू गर्ने भनिएको थियो। तर, चर्चाको १६ वर्षपछि यो प्रणाली कार्यान्वयनमा आउन लागेको हो। जसले बक्सअफिसप्रति विश्वसनीयत बढ्ने र चलचित्रको बजार पारदर्शी हुने बोर्डको विश्वास छ।
साथै बोर्डले केही दिनमा बनेपामा इन्डोर फिल्म छायांकन स्टुडियोको शिलान्यासको गर्देछ।
Shares

प्रतिक्रिया