कला


सिक्किममा गरियो ‘जार’ वर्ल्ड प्रिमियर, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

सिक्किममा गरियो ‘जार’ वर्ल्ड प्रिमियर, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १८:२०, काठमाडौँ

वैशाख २६ बाट रिलिज हुने फिल्म ‘जार’को सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। सिक्किम गान्तोकस्थित वाज्रा वर्ल्डमा भएको  प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो।

फिल्मको प्रीमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो। ७ सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो। पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रीमियरमा सहभागी हुन सकिनन्।

चलचित्र हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन्। चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए।

कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे। गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो। नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन्।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए। नेपाली मौलिकता पस्केको ‘जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ।

‘धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो,’ साम्तेनले भने, ‘धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ।’

अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए। कलाकारको अभिनय र  निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ‘जार’ एक पटक हेर्नै पर्ने चलचित्र रहेको बताए।

चलचित्रमा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो। जस्ताको तस्तै उतार्ने प्रयत्नसहित तयार गरिएको दृश्य पर्दामा आउँदा दर्शकले सिठ्ठी र तालीले स्वागत गरे।

निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए।

अभिनेताद्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई ‘जार’ले तृप्त बनाउने बताए।

सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधान लगायत उपस्थित थिए।

सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी) मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ। बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ‘जार’ टिम सिलिगुरी पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad