ad ad

कला


केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ विश्वकै पुरानो फेस्टिभलमा छानियो

केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ विश्वकै पुरानो फेस्टिभलमा छानियो

नेपालखबर
चैत ११, २०७६ मंगलबार १०:६,

विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनौटमा परेको छ।

रंगकर्मी केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनौट भएको हो।

विश्वभरीबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट १९ फिल्म छनौटमा परेको छ । जसमा यसपटक नेपालको चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको हो।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ। जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो।

फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ। यस महोत्सवको लागि हरेक वर्ष करिब सात हजार फिल्महरुको आवेदन पर्ने गरेको छ । छनौट भएको सय फिल्म, जर्मनी प्रतिष्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्महरुको प्रदर्शन गरिन्छ। महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरुको जमघट हुने गरेको छ।

निर्देशक श्रेष्ठले आफू निर्देशित फिल्म अन्तर्राष्ट्रिय महोत्सवमा छनौट हुनु खुसीको कुरा भएको बताए। ‘साना नानीहरुको सम्मानार्थ यो कथा छानेको थिएँ। अहिले यही कथा विश्वप्रशिद्ध र सम्मानित महोत्सवमा छनौट हुँदै पछिल्लो समय नेपाली फिल्मले अन्तर्राष्ट्रिय जगतमा पारिरहेको प्रभावमा आफू पनि सम्मिलित हुन पाउँदा अत्यन्तै खुशी छु’, निर्देशक श्रष्ठले भने। 

के हो ‘जुनुको जुत्ता’?
‘जुनुको जुत्ता’ जुत्ता चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ।

यस फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो भने गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ लिएको थियो।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन्। विभु पौडेल क्रियटिभ प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी छ। विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, शुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन्।
फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामालगायतको अभिनय छ।

 सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’
त्यस्तै अर्को प्रतिष्ठित महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ। ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो।

‘बिग आइज बिग माइन्डस्ः सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र चलचित्र महोत्सव हो। यस महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील चलचित्रहरुको प्रदर्शन र प्रतिष्पर्धा गरिन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .