कला


फिल्म ‘लाज शरणम्’को प्रचार रोक्न अन्तरिम आदेश

पूर्वमन्त्री अफताव आलमले दिएका थिए रिट
फिल्म ‘लाज शरणम्’को प्रचार रोक्न अन्तरिम आदेश

सीताराम कट्टेल ‘धुर्मुस’ र अर्जुन घिमिरे ‘पाँडे’


नेपालखबर
फागुन ७, २०८१ बुधबार ७:५७, काठमाडौँ

प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

जेलमा रहेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

पूर्वमन्त्री आलमले गत माघ २४ गते दायर गरेको रिटमा चलचित्र विकास बोर्ड, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँच समिति, ओएसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालि, जेपीटी क्रियसन प्रालि, जेपीटी क्रियसन प्रालिका सञ्चालक एवं चलचित्रको कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’, चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल र चलचित्रमा मोहम्मद अफताब आलमको मुखाकृत आवरणमा अभिनय गर्ने कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्रतिवादी बनाइएको छ।

चलचित्रको लेखक तथा निर्देशक कुमार कट्टेल

अदालतको आदेशसँगै चलचित्रको बुधबार (आज) सार्वजनिक गर्ने भनिएको ट्रेलर रोकिएको छ।

साथै, महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते प्रदर्शन गर्ने भनिएको चलचित्र ‘लाज शरणम’ को प्रदर्शन पनि अन्योलमा परेको छ। चर्चित टेलिसिरियल ‘सक्किगोनि’ टिमले बनाएको यस फिल्ममा कुमार कट्टेल (जिग्री ब्रो) को लेखन र निर्देशन छ। 

यस फिल्ममा सीताराम र कुमारसहित अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुलगायत कलाकारको अभिनय छ।

२०६४ चैतमा भएको संविधानसभा निर्वाचनको अघिल्लो साँझ रौतहटको राजापुरस्थित फरहदवामा बम बनाउँदा बनाउँदै पड्किएर घाइते भएका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई जिउँदै इँटाभट्टामा जलाएको मुद्दामा १२ वर्षपछि २०७६ असोज २६ गते पक्राउ परेका पूर्वमन्त्री आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन्। 

पूर्वमन्त्री आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा जन्मकैदको फैसला सुनाएको हो।

हेर्नुहोस् अन्तरिम आदेश-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad