कला


नेपाल आइन् मिस ग्लोब डायना

नेपाल आइन् मिस ग्लोब डायना

नेपालखबर
माघ २९, २०८१ मंगलबार १४:४९, काठमाडौँ

‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आएकी छिन्। उनी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएकी हुन्।

‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ अडिसनमा जज बन्न उनी नेपाल आएकी हुन्। उनको स्वागतका लागि आयोजक टिम एयरपोर्ट पुगेको थियो। 

मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायसहित मिस ग्लोब नेपाल मोनिका अधिकारी लगायत एयरपोर्ट पुगेका थिए। जहाँ डायनालाई फूल गुच्छासहित नेपालको झण्डा ओडाउँदै स्वागत गरियो।

काठमाडौं विमानस्थलमा अवतरण गरेकी उनले पहिलो नेपाल भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको बताइन्।

डायनाले फेब्रुअरी १५ अर्थात फागुन ३ गतेदेखि काठमाडौंमा सुरु हुने अडिसनमा जजको भूमिका निर्वाह गर्नेछिन्। यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ। 

अडिसनदेखि डायनाले काभ्रेमा फेब्रुअरी १५ मा हुने वर्ल्ड युथ फेस्टिभलका लागि गरिने एक अन्तर्कियात्मक कार्यक्रममा सहभागी जनाउनेछिन्।

नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरूलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ। चौथो संस्करणमा अडिसनबाटै अन्तर्राष्ट्रिय विजेताहरू जजको रुपमा राखेको सनुर्वी इन्टरनेसनलका सञ्चालक डाक्टर सन्तोष उपाध्यायले बताए।

‘यसवर्ष भने काठमाडौंको अडिसनदेखि नै अन्तर्राष्ट्रिय जजलाई समावेश गरेर यो प्रतियोगिता आयोजना हुँदैछ। काठमाडौंको अडिसनदेखि काभ्रेमा हुने वर्ल्ड युथ फेस्टिभलमा डायनाले सहभागीता जनाउनुले नेपालको ब्युटी पेजेन्ट लगायत फेसन उद्योगलाई नै थप टेवा पुग्नेमा हामी आशावादी छौं,’उनले भने।   

आयोजकका अनुसार डायनाको नेपाल बसाइ पाँचदिन हुनेछ। यस अवधीमा काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको घुम्ने गर्ने योजना तय छ। साथै उपत्यकाका विश्वसम्पदा सूचिमा परेका क्षेत्रहरूमा उनको फोटोसुट पनि हुनेछ। 

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ। उनको बसाइ काठमाडौंको पाँचतारे होटल दुसित प्रिन्सेससहित धुलिखेलस्थित दुसित थानीमा हुनेछ।

मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ। जसमा १८ देखि ३२ वर्षसम्मका महिला र पुरुषहरूले भाग लिन सक्नेछन्।

सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन्। नेपालबाट भने मिस ग्लोब नेपाल मोनिका अधिकारीले प्रतिनिधित्व जनाएकी थिइन्। ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ आयोजना गरेको प्रतियोगिताबाट नेपालबाट सहभागी उनी टप १५ भित्र पर्न सफल भएकी थिइन्।

मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड छन्। जुन मिस्टर एन्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता रहेको आयोजकको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad