यस वर्ष नेपाली फिल्ममा मात्रै होइन, संगीत क्षेत्रमा पनि बहार आएको छ। वर्षको सुरुवातदेखि नै थुप्रै गीतले दर्शकको भरपूर साथ पाएका छन्।
केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ सँगै नयाँ वर्षको सुरुवात भएको थियो। गत चैत अन्तिममा सार्वजनिक गीतमा समीक्षा अधिकारीले स्वर दिएकी थिइन्।
प्रकाश सपुतको सशक्त शब्द र संगीतमा समीक्षाको मिठो स्वरलाई दर्शकहरूले निकै मन पराए। समाजले महिलालाई हेर्ने दृष्टिकोणबारे व्यङ्ग्य गर्ने यो गीत निकै चर्चामा रह्यो।
‘बुझिनँ मैले’ गीतले समीक्षालाई एकाएक पुनः चर्चाको शिखरमा मात्रै पुर्याएन, फिल्मको प्रचारमा समेत ठूलो मद्दत गरेको थियो। वैशाख १४ गतेबाट प्रदर्शन भएको फिल्म हेर्न गीतकै कारण धेरै दर्शकहरू हलसम्म पुगे। उक्त गीत हालसम्म युट्युबमा ४ करोड २७ लाख पटकभन्दा बढी हेरिएको छ।
त्यस्तै, यो वर्ष सार्वजनिक भएका अन्य गीतले पनि दर्शकको ध्यान तान्न सफल भए। रोचक त के भने यो वर्ष फरकफरक शैलीका फिल्म चलेझैँ चर्चामा आएका गीतहरूमा पनि विविधता देखियो। आधुनिक होस् वा लोक दोहोरी, पूर्वेली भाकादेखि देउडासम्मलाई दर्शकले उत्तिकै रुचाए। त्यसमा पनि फिल्मका धेरै गीत दर्शकको रोजाइमा परे।
‘पुजार सार्की’ मा समावेश कौडा भाका ‘दर्शन गरेँ हल्का निहुरिएर’देखि ‘गाउँ आएको बाटो’को गीत ‘राई माइला’ले दर्शकको राम्रो साथ पाए। त्यस्तै, ‘खुस्मा’को ‘रुकुम मैकोट’ व्यापक चल्दा ‘छक्का पञ्जा ५’ को ‘बिहे भाको छैन’ र ‘ब्रेकअप सङ’ले पनि करोडौँ भ्युज पाए।
सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’का काँधेकुरी र रैयाँ चाँदीको गीत पनि टिकटकदेखि सामाजिक सञ्जालमा छाए। त्यसैगरी, सुजन चापागाईंको स्वर रहेको ‘ऊनको स्विटर’ को गीत ‘मखमली’लाई पनि दर्शकश्रोताले खुबै मन पराए।

अहिले पनि फिल्म ‘वसन्त’ को गीत ‘साँझ पर्यो झमक्कै’ ले निकै चर्चा पाइरहेको छ। ‘फेरि रेशम फिलिली’को ‘फेरि जालमा’ पनि राम्रै चलिरहेको छ।
युवा पुस्तामाझ चर्चित गायक सुशान्त केसीको बार्दलीदेखि प्रकाश दूतराजको लोकगीत रेशम र अर्जुन सापकोटाको बस्यौ अलक्कै चर्चामा हुँदा युट्युबमा पनि करोड क्लबमा रहे। सुशान्तको बार्दलीलाई त युट्युबमा ४ करोड ४३ लाखभन्दा बढीपटक हेरिएको छ।
नेवारी संगीतमा जमिरहेका युवा गायक कुमा सागरको ‘फुरफुरी’ पनि राम्रै चल्यो। गत वर्ष हिट नेवारी गीत दिएका रोजमान मर्हजनको गीत ‘मखं त्वा: या ग्वा’ लाई दर्शकले झनै मन पराए।
लोक दोहोरीतर्फ खेम सेन्चुरीदेखि शान्तिश्री परियारसम्मका गीतहरू यस वर्ष दर्शकको रोजाइमा शीर्ष स्थानमा रहे। खेमका गीतहरू म त ढलेँ ढलेँ, सासू बजै, मायालाई पानको पात र नमस्ते ढोगदियाँले चर्चासँगै राम्रो भ्युज पाए।
त्यस्तै, शान्तिश्रीले स्वर दिएका रुकुम मैकोट, साँझ पर्यो झमक्कैदेखि लौन नि भैया, राधा पियारी, हियारैले उत्साहजनक चर्चा बटुले। बद्री पंग्रेनीको ‘कन्या राशि’ गीतले पनि दर्शकको माया पायो। सुजनको ‘एक्लै भएनि’ लाई पनि रुचाइएको गीतमा परेको छ।
एकदेव लिम्बूको ‘झिमझिमाउने आँखा’ चल्दा सज्जनराज वैद्यको ‘९८४१’ चर्चामा आयो। र्याप गीततर्फ भिटेनको ‘ज्योज्यो’देखि मिस्टर डीको ‘अक्खा छ’, ब्रिजेश श्रेष्ठको ‘कान्छीको कति हो नम्बर’ पनि बबाल चले।

टिकटक खुलेसँगै ग्लोबल ट्रेन्डिङ
नेपालमा १० महिना प्रतिबन्ध झेलेको टिकटक गत भदौबाट खुल्यो। त्यसले नेपाली गीतसंगीतलाई अझै फाइदा पुगेको देखिन्छ। टिकटककै कारण महिनौँअघि सार्वजनिक भएका गीतहरू पनि चर्चामा आउन सफल भए। लोकलयमा तयार पारिएको बाबुकृष्ण परियारको ‘कस्मिरे पछ्यौरी’ टिकटक खुलेसँगै भाइरल भएको थियो।
मौलिक शब्द र मिठो धुन रहेको यस गीतमा लाखौँ टिकटकसहित रिल्स बनेका थिए। जसकारण यस गीतले ग्लोबल ट्रेन्डिङसम्मको यात्रा तय गर्न सफल भयो। विश्वव्यापी ट्रेन्डिङमा पर्ने यो पहिलो नेपाली गीत भएको कलाकारहरू बताउँछन्। यस गीतलाई हालसम्म ७ करोड २३ लाखभन्दा बढीपटक हेरिएको छ।
त्यसैगरी, टिकटक खुलेताका नै सार्वजनिक फिल्म ‘खुस्मा’को ‘रुकुम मैकोट’ यस वर्षको सर्वाधिक चर्चित गीत हो।
खुसीको कुरा के छ भने ‘रुकुम मैकोट’ले सांगीतिक क्षेत्रमा अर्को कीर्तिमान रचेको छ। शान्तिश्री परियार र एसडी योगीको स्वर रहेको यो गीत बुधबार राति युट्युबमा सबैभन्दा छिटो १० करोड भ्युज पाउने पहिलो नेपाली गीत बन्न पुगेको छ।
साढे पाँच महिनाअघि सार्वजनिक भएको यो गीत सुरुवातदेखि नै चर्चामा थियो।
टिकटक र रिल्सतिर छाएको यो गीत असोज-कात्तिकमा २ महिना ग्लोबल ट्रेन्डिङमा पर्दै इतिहास रचेको थियो। गीतका शब्ददेखि नृत्यका स्टेपहरू टिकटक र रिल्समा निकै भाइरल भएका थिए। जसले यो गीत नेपाली युट्युबसहित ग्लोबल ट्रेन्डिङमा पर्न सफल रह्यो। जुन दुई महिनासम्म ग्लोबल ट्रेन्डिङको शीर्ष १०० भित्र अटाएको थियो।
यसअघि युट्युबमा सबैभन्दा छिटो १० करोड भ्युज पाउने नेपाली गीतको रेकर्ड फिल्म ‘घामड शेरे’ को ‘साली मन पर्यो’ सँग थियो। यस गीतले २ वर्षमा १० करोड भ्युज पाएको थियो।
त्यस्तै, हेमन्त शर्माको ‘आउँथ्यो दसैँ’ गीतले पनि गएको दसैँमा एकलौटी राज गरेको थियो। दसैँताका टिकटकदेखि रिल्समा चलेको यस गीतले युट्युबमा करोड बढी भ्युज पाइसकेको छ। यो गीत पनि केही समय ग्लोबल ट्रेन्डिङमा परेको थियो। यस वर्ष धेरै गीतहरु नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङमा समेत परे। जसमा ‘आउँथ्यो दसैँ’सहित सुजन चापागाईंका ‘मखमली’, ‘बार्दली’ र ‘साँझ पर्यो झमक्कै’लगायतका गीतहरू पर्छन्।
तीजमा सार्वजनिक शान्तिरानी परियारको गीत ‘म त ढलेँ ढलेँ’ पनि टिकटककै कारण एकाएक चर्चामा आयो। दसैँ-तिहारको बीचमा चलेको गीतमा निकै टिकटक र रिल्स बनेका थिए। जसले युट्युबमा पनि गीतको भिडिओ ५ करोड बढी संगीतप्रेमीको भ्युज पाएको छ।
यस वर्ष चलेका धेरै गीतहरू शब्द र गायकीका हिसाबले उत्कृष्ट छन्। यद्यपि, केही गीतले भने विवाद र टिकटकमै चलेकै कारण राम्रो भ्युज बटुले। जसमा ‘म त ढलेँ ढलेँ’ सहित ‘नमस्ते ढोग दियाँ’, ‘विस्तराले पोल्यो’ लगायतका पर्छन्। दुर्गेश थापाको पछिल्लो गीत ‘दुस्मन हेरेको हेर्यै’ले पनि चर्चा पाइरहेको छ।
सबै विधाका गीतहरू चलेको देख्दा निकै खुसी लागिरहेको बताउँछिन्, गायिका शान्तिश्री परियार। पछिल्लो समय नेपाली गीतसंगीतले विश्वव्यापी रूपमा फड्को मारिरहेको उनको भनाइ छ।
‘नेपाली गीतसंगीतले ग्लोबल फड्को मार्नु एकदमै राम्रो कुरा हो। विश्वभरका दर्शकले सुन्नुभएको छ। अझ ग्लोबल ट्रेन्डिङमा पर्ने गायिका म पनि हुँ भन्दा झन् खुसी लाग्छ,’ उनले भनिन्, ‘दर्शकहरूले लोकसंगीतलाई यति धेरै फराकिलो बनाइदिनुभयो। मलाई संगीतमा लागेकोमा गर्व महसुस हुन्छ।’
सेलाइसकेको गीतलाई पनि टिकटकले उचालिरहेको उनको बुझाइ छ। अहिले संगीतको प्रवर्धनका लागि टिकटक ठूलो मञ्च बन्न पुगेको उनी बताउँछिन्।
भन्छिन्, ‘प्रमोसन भनेको महत्त्वपूर्ण कुरा हो। पहिले सीडी-भीसीडीको जमाना थियो। नयाँ गीत आउँदा टेलिभिजनमा प्रोमो बजाउने चलन थियो। अहिले बजारमा के गीत आयो र कसको गीत आयो भनेर टिकटकबाट नै थाहा हुन्छ।’

राम्रा गीत रोजाइमा
गायक तथा संगीतकार आशिष अविरल पछिल्लो समय राम्रा गीतहरूले दर्शकको साथ पाउन थालेको बताउँछन्। यो संगीत क्षेत्रका लागि सुखद पक्ष भएको उनको भनाइ छ।
‘अपवादबाहेक राम्रा गीतहरू चलिरहेका छन्। म्युजिक क्षेत्रमा छुट्टै इँट थपिएको हो कि जस्तो लागिरहेको छ। रुकुम मैकोटदेखि कस्मिरे पछ्यौरी ग्लोबल ट्रेन्डिङमा समेत परे। यी गीतमा कुनै खोट छैन। म्युजिकले राम्रै मार्केट लिइरहेको अवस्था छ। दर्शकहरूले पनि फिल्टर गरेर हेरिरहेका छन्। जुन म्युजिकको लागि सुखद पक्ष नै हो,’ उनी भन्छन्।
शान्तिश्री पनि राम्रा गीत दर्शकले छानेर हेरिरहेको स्वीकार्छिन्।
उनले भनिन्, ‘दर्शकहरू मिश्रित हुनुहुन्छ। आमाबुवाहरू एकखालको सुन्नुहुन्छ। युवाले एउटा खालको सुन्छन्। टिनएजरहरू आफ्नो जनराको सुन्छन्। त्यही भएर पनि गीतसंगीत पनि मिक्स हुन्छ। र, राम्रो मार्केटिङ पाइरहेको छ।’
इन्टरनेटमा पहुँच बढेको छ। इन्टरनेटको सहजतासँगै गीतसंगीतका पनि दर्शक थपिएका छन्। जसले यो वर्ष धेरै गीतले राम्रो भ्युज पाइरहेको डिजिटल कन्टेन्ट म्यानेजर राजेन्द्र अर्याल बताउँछन्।
‘इन्टरनेटको राम्रो सुविधा भएपछि दर्शक थपिए। धेरैजसो मान्छेहरू बाहिर (विदेश) तिर बसे। त्यही हिसाबले सबै विधाका गीतहरू चलिरहेका छन्। कतिपय गीतहरू विदेशी अडियन्ससम्म पनि पुगिरहेका छन्। टिकटकबाट पनि अडियन्स थपिएका छन्। सालको पातलाई अरेली काँडैले जित्दैछ। अहिले अलिकति हिट हुँदा पनि धेरै अडियन्समा पुगिरहेका छन्,’ अर्यालले नेपालखबरसँग भने।
दर्शकसहित नेपाली गीतसंगीतको गुणस्तर पनि बढिरहेको अर्यालको भनाइ छ।
उनले भने, ‘अहिले गुणस्तर पनि बढिरहेको छ। गुणस्तर नहुँदा गीत हिट हुन गाह्रो हुन्छ। जुनसुकै डिजिटल प्लाटफर्ममा दर्शकले कति लामो समय हेरे, त्यहीँबाट रिकमेन्ड हुन्। र भ्युज जान्छ। कोही विवादमा आएर चल्छन्।’
यद्यपि, अझै केही राम्रा गीत छायामा पर्ने स्थिति कायम रहेकाले राम्रै भइसक्यो भन्ने अवस्था नरहेको अविरलले सुनाए।
Shares

प्रतिक्रिया