हरिवंश आचार्यले मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको वैशाख १२ गते रिलिज हुनेछ।
अंग्रेजीमा ‘द वर्ल्ड्स् ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन ,विमल सुवेदीको अभिनय छ। साथै हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा छन्।
हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन्।
सन् २०१९ मा ‘बुलबुल’ निर्देशन गरेका विनोद पौडेलको यो दोस्रो चलचित्र हो। बुलबुलबाटै ९२ औं अस्कर अवार्डमा नेपालको तर्फवाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए।
निर्देशक पौडेलका अनुसार यो चलचित्र संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महशुस गर्नेमा आफु विश्वस्त रहेको बताउँछन्।
निर्माता मध्यका एक अविरल थापा भन्छन् यस चलचित्रमा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अद्भूत अभिनय देख्न पाइनेछ।
नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ। विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भईरहेको छ।
यस फिल्मले भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको हो। यस फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो।
यस चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो।
Shares

प्रतिक्रिया